‘वाम एकता : माओवादी एमालेमा विलय’

|

काठमाडौं : मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा कडा प्रतिपक्षीको भूमिका खेल्न नसकेको आरोप लगाएको छ। नेकपाको सरकारले आधारभूत आवश्यकता शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्दा पनि कांग्रेसले दह्रो प्रतिपक्षको भूमिका खेल्न नसकेको आरोप लगाएको हो। 

क्रान्तिकारी माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चाले आइतबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै कांग्रेसले प्रतिपक्षको दह्रो भूमिका खेल्न नसकेको आवस्थामा आफूहरू सडकबाट भए पनि प्रतिपक्षको भूमिकामा रहने स्पष्ट पारेको हो। 

क्रान्तिकारी माओवादीका नेता तथा मोर्चाका अध्यक्ष सीपी गजुरेलले सरकारका हरेको नराम्रा कामको संसदबाट विरोध गर्न कांग्रेसलाई आग्रह गरे। ‘सरकारले पनि कांग्रेसलाई प्रतिपक्षको रूपमा हेरेको छैन। बेलाबेला प्रतिपक्ष छ र भन्दै सरकारले भनिरहेको छ। यस्तो अवस्थामा सरकारका नराम्रा कामको कांग्रेसले विरोध गर्न सक्नुपर्छ। हुनत कांग्रेस आफ्नो पार्टीभित्रको कलहले पनि हो कि’, उनले भने, ‘कांग्रेस प्रतिपक्षी जस्तो पनि छैन।’ उनले आफूहरू आन्दोलन र संघर्षबाट प्रतिपक्षीको भूमिकामा भएको बताए। 

उनले सरकारले विस्तारै शिक्षा र स्वास्थ्यलाई क्रमश: निजीगरण गर्दै गएको क्रान्तिकारी माओवादीको आरोप छ। सत्तारुढ दलका कार्यकर्ता नै शैक्षिक र स्वाथ्य क्षेत्रको माफिया भएका कारण पनि सरकारले केही गर्न नसकेको उसको आरोप छ। नेता गजुरेल भन्छन्, ‘स्वास्थ्य र शिक्षा क्षेत्रलाई माफियाकरण गर्नुमा मुख्य हात सरकारको छ। उसका कार्यकर्ता नै यो क्षेत्रका लगानीकर्ता छन्। त्यसकारण सरकार पनि निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने भन्छ।’ क्रान्तिकारी माओवादीले यस्तै तरिकाबाट नेपालमा समाजवाद आउन नसक्ने ठोकुवा गरेको छ। ‘उहाँहरूले समाजवाद भन्नुभएको छ। समाजवाद भनेको निजीकरणलाई क्रमश: अन्त्य गर्दै जानु हो तर यो सरकारले निजीकरणलाई त प्रोत्साहन गर्दै छ’, उनले भने, ‘समाजवाद पनि धेरै प्रकारको हुन्छ। तीमध्ये यो सरकारले पुँजीवादी समाजवाद ल्याउन खोजेको हो।’

सरकारले क्रमश: देशमा फासीवाद ल्याउन खोजेको उनको आरोप छ। उनी भन्छन्, ‘संसदमा एउटै पार्टीको स्पष्ट बहुमत छ तर अझै मधेसकेन्द्रित दललाई सरकारमा ल्याएर दुई तिहाईमाथिको सरकार बनाएर देशमा अधिनायकवाद र फासीवाद ल्याउन अहिलेको सरकार तल्लीन छ।’ यो कुरा सरकारको पछिल्लो समयको गतिविधिबाट पनि पुष्टि हुने उनको दाबी छ। 

‘ओलीको खोक्रो राष्ट्रवाद देखियो’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा प्रदेश २ का मुख्यमन्त्री र प्रधानमन्त्री केपी शर्मा ओली निकै विवादित बने। मोदीलाई गरिएको स्वागत र जानकी मन्दिरमा जाँदा प्रधानमन्त्रीले लगाएको लुगाका कारण प्रधानमन्त्री र नेपाल सरकारको निकै आलोचना भयो।

यस्तै, जनताको विरोध गर्ने अधिकारलाई समेत सरकारले कुण्ठित गर्न खजेको भन्दै धेरै विरोधका स्वरहरू सुनिए। नेपालमा मोदीको विरोध हुनुको मुख्य कारण थियो, नाकाबन्दी। २०७२ मा जारी संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका मधेसकेन्द्रित दललाई समर्थन गर्दै नेपालमा दैनिक उपभोग्य वस्तुहरूको आयात नै बन्द गरिदियो भारतले। 

त्यसयता नेपाली जनताले मोदीको विरोध गरिरहेका थिए। त्यस समयमा ओली पनि नाकाबन्दीको विरुद्धमा डटेर लागेका कारण उनलाई नेपाली जनताले निकै समर्थन गरे। तर मोदीको पछिल्लो नेपाल भ्रमणबाट ओलीको खोक्रो राष्ट्रवाद देखिएको नेता गजुरेल बताउँछन्। भन्छन्, ‘त्यसबेला नाकाबन्दीको विरोध गर्नु, चीनसँग पारवहन संझौता गर्नुले हामीले पनि उहाँलाई राष्ट्रवादी भनेर चिन्यौँ।’ त्यही खोक्रो राष्ट्रवादले एमालेले निर्वाचनमा राम्रो नतिजा ल्याएको नेता गजुरेल बताउँछन्। भन्छन्, ‘उहाँले राष्ट्रवादी भइटोपलेको फाइदा चुनावमा लिनुभयो तर यो संसदीय राजनीतिमा सामान्य हो। जनतालाई झुक्याएर सत्ता चलाउनु त संसदीय राजनीतिको विशेषता हो।’

तर पछिल्लो समय ओलीले गरेका प्रत्येक काम राष्ट्रहितविपरीत रहेको गजुरेलको तर्क छ। भन्छन्, ‘मोदीलाई जनकपुरमा स्वागत गर्दा प्रदेश २ सरकारले हाम्रो मधेसमा स्वागत छ भनेर व्यानर राख्यो। त्यहाँ केन्द्र सरकारका मन्त्री थिए। उनीहरूले विरोध गर्न सकेनन्।’ यस्तै, ओली नेतृत्वको सरकारले नेपालमा भारतीय सेना ल्याउन दिनु नै प्रमुख राष्ट्रघात रहेको उनको तर्क छ।

ओली प्रधानमन्त्री हुनेबित्तिकै भारत भ्रमण गर्नु नै ओलीको भारतप्रतिको लम्पसारवादको पहिलो संकेत भएको उनी बताउँछन्। भन्छन्, ‘प्रधानमन्त्री भएपछि उहाँले पहिला भारतको भ्रमण गर्नुहुन्न भन्ने थियो तर उहाँले पनि त्यहीँबाट सुरु गर्नुभयो। फेरि भारत जाँदा कुनै संझौता गर्दिनँ त भन्नुभयो, पहिला भएका असमान संझौतालाई पनि कार्यान्वय गर्ने प्रतिवद्धता जनाएर आउनुभयो।’

‘अहिलेको बजेटबाट समृद्ध नेपालको परिकल्पना गर्न सकिँदैन’

वाम गठबन्धनले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनताका ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा दियो। यो नारा निकै लोकप्रिय पनि बन्यो। वाम गठबन्धनले बहुमत पनि ल्यायो। 

सरकारले अहिले पनि यो नारालाई अघि बढाएको छ तर नारा र सरकारले ल्याएको बजेटबीच तादात्म्य नमिलेको क्रान्तिकारी माओवादीको ठम्याइ छ। सरकारले ल्याएको बजेटले समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थकता दिन नसक्ने नेता गजुरेलको तर्क छ। भन्छन्, ‘चुनावताका त यो नारा त निकै आहा गर्नलायक थियो। एमाले–माओवादीले यो नारा दिँदै गर्दा कांग्रेसले केही नारा दिन सकेन बरु अझै कम्युनिस्टले अधिनायकवाद ल्याउँछन् भन्यो। यो कारण कांग्रेसभन्दा वाम गठबन्धनलाई रोजे जनताले।’ 

तर अहिलेको सरकारले चुनावका बेला गरेको कुनै प्रतिवद्धता पूरा गर्न नसकेको उनी बताउँछन्। भन्छन्, ‘अहिलेको बजेटअनुसार विकासमा २३ प्रतिशत मात्र खर्च हुन्छ। चुनावमा त विकासका ठूलै कुरा गरेका थिए तर यो बजेटमा देखिएन।’ चुनावका बेला वृद्ध भत्ता बढाउने नारा लगाए पनि पूरा गर्न नसकेको आरोप उनले लगाए। उनले भने, ‘वृद्ध भत्ता पाँच हजार पुर्‍याउने भनेर भोट मागे तर अहिले वृद्धवृद्धाका लागि केही गर्न सकेनन्।’

‘वाम एकता : माओवादी एमालेमा विलय’

क्रान्तिकारी माओवादीले एमाले र माओवादीको एकता नभई एमालेमा माओवादी विलय भएको आरोप लगाएको छ। क्रान्तिकारी माओवादीका नेता गजुरेलले नाम नेकपा राखे पनि एमालेमा माओवादीको विलय भएको दाबी गरे। 

उनले भने, ‘जुनबेला एमाले–माओवादीको जुँगाको लडाइँ चलिरहेको थियो, त्यसबेला नै प्रचण्ड समूह एमालेमा विलय हुन लाग्यो भनेर हामीले भनेका थियौँ। एमाले र माओवादीमा एकअर्काबीच द्वन्द्व भएका कारण पनि कसैले पत्याएनन्, अहिले सत्य सावित भयो।’ 

‘क्रान्तिकारी पीपल बाँकी छन्’

नेपालमा अहिले साना मसिना गरी एक दर्जन बढी कम्युनिस्ट पार्टी छन्। नेकपाबाहेकका कम्युनिस्ट पार्टीमा अहिले अत्यन्तै नगण्य कार्यकर्ता छन्। कतिपय साना कम्युनिस्ट पार्टीले कार्यकर्ता नभएका कारण आफ्ना गतिविधि गर्नै सकेका छैनन्। 

यस्तै हालत छ क्रान्तिकारी माओवादीको पनि। क्रान्तिकारी माओवादीमा पनि कार्यकर्ता छैनन्। कार्यकर्ता नभएका कारण नै सोचेजस्तो गतिविधि गर्न नसकिएको गजुरेल स्वीकार गर्छन्। भन्छन्, ‘हामी अहिले सांगठनिक रूपले कमजोर भएका हौँ तर वैचारिक रूपले बिदा भएका छैनौँ।’

पार्टीभित्र अब क्रान्तिकारी ‘पीपल’ मात्र बाँकी रहेको उनी बताउँछन्। भन्छन्, ‘साना रूखलाई त हावाले लडाइसक्यो। अब पार्टीभित्र बिउ र पिपलको ठूलो रूख बाँकी छ। त्यो बीउले कतिसम्म फैलाउँछ भन्ने हेर्दै जानुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.