|

ओखलढुंगा : पुनर्निर्माणले गती लिएसँगै ओखलढुंगामा कामदारको ज्याला ह्वात्तै बढेको छ। कामदार अभाव तथा पुनर्निर्माणको काम धेरै भएका कारण कामदारको ज्याला दोब्बर बढेको हो।

गत वर्षसम्म एक दिन काम गर्ने दक्ष कामदारलाइे ७०० रुपैयाँ दिएर काम लगाएका लिखु गाउँपालिका–६ गाम्नांटारका निलकमल भट्टराईले भूकम्पले भत्काएको घर निर्माण गर्न उनले यो साल कामदार नै पाएनन्। उनले बल्लबल्ल पाएका कामदार पनि पश्चिम नेपालको कैलाली र कञ्चनपुरबाट ओखलढुंगा आएका थिए।  

सुदूरपश्चिमबाट पुनर्निर्माण कामदारको रूपमा ओखलढुंंगा आएका दक्ष कामदारलाई एकहजार २०० रुपैयाँदेखि एकहजार ५०० सम्म दिएर काम लगाउनु परेको उनले बताए। 

त्यस्तैगरी, चिसंखुगढी गाउँपालिका–३ दियालेका पुष्पलाल ढुंगानाले पनि घर पुनर्निर्माण गर्न खाना र खाजासमेत दिएर कामदारलाई प्रतिदिन एक हजारका दरले काम लगाएको बताए। उनले दुई वर्ष यता काम नै लगाउन नसकिने गरि कामदारको ज्याला बढेको बताए।  ‘गाउँमा प्रशस्त कामदार पाइने छाडेको छ। अझ दक्ष कामदारको भाउ त दोब्बर बढेको छ’, उनले भने, ‘कामदार लगाउनै नसक्ने अवस्था आयो, गाउँका युवाहरू विदेशिएपछि गाउँमा कामदार नै पाइन छाडेका छन्।

भूकम्पपछिको पुनर्निर्माणका लागि तालिम प्राप्त कामदार प्रशस्त नभएपछि मजदुरहरूले माग अनुसारको ज्याला नदिए घर निर्माण गर्नै नसकिने अवस्था रहेको चिसंखुगढी–२ का बलबहादुर परियारको भनाइ छ। ‘निम्न आय भएका गरिबले कामदार लगाउनै नसक्ने अवस्था आयो’ परियारले भने। 

ओखलढुंगामा जिल्ला दररेट समितिले तय गरेको ज्याला दक्ष कामदारको ७०० मात्रै छ तर पुनर्निर्माणको कामले कामदारको ज्याला दोब्बर पुगेको सुनकोसी गाउँपालिका–५ का वडा अध्यक्ष गोविन्द तामाङको भनाइ छ। अनुदानको किस्ता लिन हतारमा काम गर्नुपर्ने भएकाले मागेअनुसार नै दाम दिएर काम लगाउने प्रचलनले कामदारलाई फाइदा भएको उनको भनाइ छ।  

भूकम्पको पुनर्निर्माणमा राम्रो आम्दानी भएको कैलालीबाट मिस्त्रीको काममा ओखलढुंगा आएका गोपाल जोशीले बताए। ‘अहिले राम्रै फाइदा छ, हाम्रो गाउँभन्दा ज्याला निक्कै बढी छ’, उनले भने। 

पुनर्निर्माणका कामदार प्रयाप्त नहुँदा ज्यालादर मनपरी रूपमा बढेको स्थानीयको गुनासो गरेका छन्। ओखलढुंगामा पुनर्निर्माणको तालिम लिएका दक्ष कामदारको संख्या ७०० हाराहारी मात्रै रहेको छ। कामदारको ज्याला निर्धारण गर्न स्थानीय सरकारसँग स्थानीयले मागसमेत गरेका छन्। ओखलढुंगामा भूकम्पले क्षति पुगेका १७ हजार घर निर्माण भइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.