|

चितवनका सात स्थानीय तहमध्ये एक मात्रै गाउँपालिका हो, इच्छाकामना गाउँपालिका। पर्यटकीय दृष्टिले अति नै रमणीय यस गाउँपालिकामा छ महिना अनिकाल र छ महिना सहकालमा जीवन बिताउने चेपाङ समुदायको बसोबाससमेत छ। पहाडै पहाडले घेरिएको इच्छाकामना २०७२ बैशाखको भूकम्पमा जिल्लामा सबैभन्दा बढी प्रभावित भएको क्षेत्र पनि हो।

यसको पूर्वमा कालिका नगरपालिका, दक्षिणमा भरतपुर महानगर, पश्चिम क्षेत्रमा त्रिशूली र पारि तनहुँ तथा गोरखा र उत्तरमा धादिङ जिल्ला छ।

कुल १६६.७२ वर्ग किलोमिटरमा फैलिएको यस गाउँपालिकामा सातवटा वडा छन्। २०६८ को जनगणनाअनुसार यहाँ २५ हजार दुई जनसंख्या रहेको छ। यहाँ जलवीरे झरना, चितवनको सबैभन्दा अग्लो पहाड सिंराइचुली, ऐतिहासिक क्षेत्र उपरदाङगढी, इच्छाकामना माईको मन्दिर र त्रिशूलीमा र्‍याफ्टिङ आकर्षक पर्यटकीय गन्तव्य हुन्। 

निर्वाचित जनप्रतिनिधिहरूले गएको बैशाख ३१ गते एक वर्ष पूरा गरेका छन्। गाउँपालिकाको विकासका लागि गरेको प्रतिबद्धता र बाचाअनुसारका काम केके भए त? भनेर थाहाखबरकर्मी नारायण ढुंगानाले इच्छाकामना गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङसँग गरेको कुराकानी प्रस्तुत छ।

तपाईंको गाउँपालिका अध्यक्षका रूपमा कस्तो रह्यो एक वर्षे अनुभव?

चितवनको एक मात्रै गाउँपालिका। त्यही पनि महिला अध्यक्ष। जनताले मत दिएर विजयी भएर आउँदा असाध्यै खुसी लागिरहेको छ। अब काम गर्नका लागि एउटाचाहिँ चितवन भन्न पनि नसुहाउने विकट दूरदराज ठाउँ। यो अवसर पनि हो र यसलाई कार्यान्वयन गर्नका लागि विभिन्न चुनौती पनि छन्। त्यसलाई पार गरेर लैजानुपर्छ। मैलेचाहिँ यसलाई अवसर ठानेकी छु। 

जनताले के अपेक्षा गरेका छन्, त्यो अपेक्षा पूरा गर्नुपर्छ भन्ने छ। एक वर्षको अनुभवभन्दा यो गाउँपालिकामा यस्तो बस्ती छ कि टुकीको उज्यालोको प्रकाशसँग लडिरहनुपरेको छ हामीले। यहाँका जनताले अहिले पनि टाउकोको भारी बिसाउन सकेका छैनन्। अहिले पनि पेटभर खान नपाएर तड्पिएको ठाउँ छ यो। त्यस्तो ठाउँको परिवर्तन गर्नुपर्छ भन्ने सपना बोकेर विजयी भएर आएँ। यो पहाडमा अहिले धेरै विकास निर्माणको काम भइरहेको छ। चेतनामूलक कार्यक्रम भइरहेको छ। महिलाहरूलाई शिक्षित बनाउने, अधिकार सम्पन्न गराउने कुरा लिएर आइएको छु। सीपमूलक कार्यक्रम ल्याइएको छ।

चुनावमा गरेको प्रतिबद्धता तपाईंलाई याद छ?
 
चुनावमा इच्छाकामना गाउँपालिकालाई नमुना बनाउँछु भनेर आएकी हुँ। कतिपय विकास निर्माणका काममा बाटोघाटो, बिजुली बत्ती, खानेपानीमा पूर्वाधार विकास गर्छु भनेर आएको हो। त्यसमा करिब करिब समयले भ्याएका, बजेटले भ्याएका कामहरू ९० प्रतिशत हामीले गरिसकेका छौँ। 

पर्यटनको विषयमा काम भएन भन्ने आयो त गुनासो?

काम भएको छैन होइन, काम त अब जति सकेको छ, जति भ्याएको छ, त्यति गरिराखिएको छ। अहिलेसम्म त मैले भनिसकेँ कि लामो झरनाको एउटा परिकल्पना भयो नि त। विगतमा परिकल्पना थिएन। साविक गाविसले बजेट लगानी गर्‍यो होला तर त्यसलाई देखाउनका लागि जलवीरे रोडदेखि स्वागत गेट सिँढी बनाएर, फूल रोपेर त्यो खालको बनाइरहेका छौँ। मुखले मान्त्रै होइन, हामीले कामले पनि गरिरहेका छौँ।

पर्यटनको कुरा पछि गरौँला, तपाईंले चुनावमा गरेको प्रतिबद्धताअनुसार केके पूरा भए? 

इच्छाकामनामा बाटोघाटो निर्माण गर्ने भनेका थियौँ, त्यो गरिसकेका छौँ। जति बजेट ल्याएका छौँ, त्यसको ९० प्रतिशत काम करिब करिब सकिसकेका छौँ। जलवीरेदेखि ढुंग्रेसम्मको योजना छ अब। 

त्यो त पहिल्यै बनेको सडक हो नि!

पहिले बनिसकेको भए पनि अहिले हाम्रो लक्ष्यमा त हामीले त्यहाँबाट जोडेर माथि पुर्‍याइसकेका छौँ नि त। ४० लाख रुपैयाँको बजेट हालेको हो त्यसमा। करिव करिव त्यो काम सकिइसकेको छ। दशैँसम्ममा चाहिँ त्यो माथि ढुंग्रे जोड्ने योजना छ। त्यस्तै, हात्तीवाङबाट चौकीभञ्ज्याङसम्मको काउलेको बाटो। दाहखानीको गर्दासदेखिको उपरदाङ्गढीसम्म जोड्ने सडक कार्यान्वयनका लागि अगाडि बढाइरहेका छौँ। माथिल्लो काउलेदेखि उपरदाङगढी जोड्ने बाटो अहिले पाँच किलोमिटर अघि बढिसकेको छ। 

अब खानेपानीको विषयमा पहाडको जस्तै ढुंग्रे, ज्यानदाला, त्यसपछि गएर इच्छाकामना, यी ठाउँहरूचाहिँ बस्ती माथि र पानीको तह तल भएकाले लिफ्टिङ सिस्टमबाट पानी माथि ल्याउनका लागि प्राविधिक लगाएर मुहान संरक्षण गर्ने र काम गर्ने भनेर प्रक्रिया अगाडि बढाएका छौँ। 

समग्रमा भन्दा तपाईंको प्रतिबद्धताअनुसारको काम चित्तबुझ्दो नभएको हो भन्दा हुन्छ?

प्रतिबद्धताअनुसार एकै वर्षमा चित्तबुझ्दो काम हुने होइन। एक वर्षमा जति मैले सोचेकी थिएँ, त्यती कामहरू, कतिपय मैले भनिरहेकी छु कार्यालयको व्यवस्थापन, कर्मचारीको अभावले भनेजस्तो गर्न सकेको त छैन। तर पनि जति काम अहिले गरिएको छ, शतप्रतिशत सन्तुष्टि नभए पनि चितवनको महानगरपालिका, नगरपालिकाभन्दा इच्छाकामना यस्तो दूरदराज ठाउँमा, यस्तो बस्तीमा, जहाँ चेतना पाउन सकेको छैन, भोका पेटहरू अघाउन सकिएको छैन, यस्तो ठाउँमा मैले गरेकै छु भनेरचाहिँ गर्वका साथ भन्न सक्छु।

आर्थिक क्रान्ति गर्न एकैचोटि नसकिएला। जुन ठाउँमा जस्तो खालको सामग्री छ, त्यही लगाउनुपर्छ। जस्तै : काउलेमा के उत्पादन हुन्छ? बाँसका बिरुवा, बोट छन् भने चेपाङले बाँसबाटै डोको बुनेर सीप प्रयोग गरेर पैसामा परिवर्तन गर्न सक्छन्।

त्यसो भए यसलाई महानगर, नगरभन्दा नमुना बनाउने योजना छ तपाईंको?

हो, एकदमै इच्छाकामना गापालाई नमुना बनाउँछु।

यो अठोट पूरा गर्न त ठूला कार्यक्रम हुनुपर्ने, वृहत योजनाहरू देखिँदैनन् त?

दीर्घकालीन कामहरू हामीले किन नसोच्ने हो र? दीर्घकालीन योजना बनाएर प्लानिङ गरेर दिगो विकासका लागि लाने भनेर मैले अघि नै भनिसकेकी छु। 

केके छन् त दीर्घकालीन योजना?

पर्यटनका लागि धार्मिक स्थलहरू, बाटोघाटो, खानेपानी, बिजुली, यी सबैलाई योजना बनाएर आज बनायो भोलि भत्किने खालको नभएर दीर्घकालीन सोचका साथ बनाउने हो। म महिला प्रमुख भएकाले महिलाहरूलाई सीपमूलक कार्यक्रम ल्याउने, उनीहरूलाई सक्षम बनाउने आर्थिक क्रान्ति गर्न लगाउने भनेर विभिन्न किसिमका कार्यक्रम छन्। महिलाहरू र युवालाई रोजगारी दिएर यहीँ राख्नका लागि विभिन्न क्षेत्रमा होमस्टे बनाउने। विभिन्न सीपमूलक कार्यक्रम र तालिमहरू भइरहेका छन्। छोरी जन्माउनेलाई नाबालिका खाता खोल्न भनेर काम अगाडि बढाएका छौँ। 

इच्छाकामना गाउँपालिकाको पाइलापाइलामा पर्यटन क्षेत्र छ, चाहे चेपाङ रहनसहन होस्, चाहे दृश्यावलोकन होस्, चाहे ऐतिहासिक क्षेत्र या धार्मिक क्षेत्र होस्, भरिपूर्ण छ। तर पनि गाउँपालिका किन पछि परिरहेको छ?

पैैसैपैसा छ। पर्यटक नै पर्यटक आउने ठाउँ छ। पर्यटनले भरिपूर्ण नै हो। पर्यटक आउन जानका लागि प्रचार प्रसार पनि हुनुपर्‍यो। यस्तो खालको ठाउँ छ, यीयी स्थान हेर्नलायक छन् भनेर प्रचार हुनुपर्‍यो। बाटोघाटो नपुग्नु, भनेजस्तो बस्ने ठाउँ नहुनु समस्या हो यहाँको। 

इच्छाकामनामा नेपालभित्रका र बाहिरका पर्यटक आउँदा बस्ने ठाउँ छैन। खानेपानीको अभाव छ। जहाँ पिउने पानी छ, सुविधा छ, बस्ने ठाउँ छ, जाने सुविधा छ, त्यही ठाउँमा त हो नि पर्यटक बस्ने। अब बल्ल हामी आइसकेपछि लिफ्टिङ प्रणालीबाट पानीको धारा घरघरमा झारिसकेपछि बल्ल हामीले व्यवस्थापन गर्दै छौँ। त्यो पूरा भइसकेपछि पर्यटक प्रशस्तै आउँछन् भन्ने आशा राखेकी छु। 

अर्काे समस्या, ऐलानी जग्गाका भूकम्पपीडितले राहत पाउन सकेका छैनन्, किन नि?

उनीहरूका बाजेदेखि नै पुर्जा नपाएको समस्या छँदै छ। कसरी व्यवस्थापन गर्न सकिन्छ त भनेर हामीले जग्गा किनेर पनि व्यवस्थापनको प्रयास गरिरहेका छौँ। जोखिम बस्तीका लागि पनि काम गरिरहेका छौँ। देशभर नै यो समस्या छ। महानगरले समेत काम गर्न नसकेको बेला हामीले पहल गरिरहेका छौँ। पुर्जै भएकालाई त वितरणमा समस्या भए पनि इच्छाकामना चितवन मात्रै होइन, देशमै अगाडि होला। उनीहरूलाई राहत दिने कोसिसमा छौँ।

गाउँपालिकामा भोकमरीमा पिल्सिने समुदाय पनि छ, उनीहरूलाई बाहै्र महिना खान पुग्ने गरी कार्यक्रम के ल्याउनुभयो?

त्यस्ता कार्यक्रमहरू हामी ल्याउँछौँ। आर्थिक क्रान्ति गर्न एकैचोटि नसकिएला। जुन ठाउँमा जस्तो खालको सामग्री छ, त्यही लगाउनुपर्छ। जस्तै : काउलेमा के उत्पादन हुन्छ? बाँसका बिरुवा, बोट छन् भने चेपाङले बाँसबाटै डोको बुनेर सीप प्रयोग गरेर पैसामा परिवर्तन गर्न सक्छन्। त्यही उनीहरूलाई जीविकोपार्जन कसरी गर्न सकिन्छ भनेर तालिम दिएर सक्षम बनाएर उनीहरूको छ महिना खाली र छ महिना भरी हुने पेटलाई यो वर्ष १० महिना पुर्‍याउन सके पनि ठूलै राहत हुन्छ भनेर त्यो काममा लागेका छौँ।

आयआर्जनका लागि अरू केके काम गर्नुभयो? 

तालिम सुरु भएको छ। यही कार्यालयमा ल्याएर तालिम गरायौँ। महिलाहरूका लागि अचार बनाउने तालिम सम्पन्न भएको छ। सुरुमै आएर मैले अचार तालिम गराएँ। किनभने घरमा एउटा गोलभेँडा बोटमा कुहिएर जान्छ भने अचार बनाए कमसेकम ५० रुपैयाँ त आयो नि! घरमै बसीबसी कुरा गर्दै, खाना बसाउँदै, बच्चालाई कपडा लगाउँदै गर्न सक्ने पोते बुन्ने तालिम पनि दिएका छौँ। 

बिजुली जाँदै छ गाउँमा। त्यही गाउँका युवाहरूले गरी खाऊन् भनेर बिजुली वायरिंङ तालिम दिएका छौँ। घर बनाउन डकर्मी तामिल ४०० जनाले पाइसकेका छन्। उनीहरूले काम पनि गरिरहेका छन्। इच्छाकामनामा भूकम्पपीडितका घर निर्माण छिटो हुनुमा पनि त्यही हो। कृषि क्षेत्रमा पनि विभिन्न अनुदानका कार्यक्रमहरू भइरहेका छन्। 

तपाईंलाई मनैदेखि योचाहिँ राम्रो गरेँ भन्ने काम के जस्तो लाग्छ?

दिलैदेखि बेस्सरी खुसी हुने भनेको चाहिँ अहिले फोहोर व्यवस्थापनको घर निर्माण गरिरहेका छौँ। अचम्मै मैले गरेको हो भन्नेचाहिँ त्यही हो। अरूचाहिँ सबै दिलैदेखि त गरेकी हुँ नि! फोहोरको वर्गीकरण गरेर कुन जल्ने, कुन मल बनाउने, कुन पुनः प्रयोग गर्ने भनेर ती फोहोरलाई छुट्याएर राख्न घर निर्माण भइरहेको छ।

त्यसो भए अब मुग्लिनबाट त्रिशूलीमा फोहोर फ्याँकिने क्रम रोकिन्छ त?

मैलेचाहिँ सकेसम्म असारभन्दा अगाडि नै फोहोर व्यवस्थापन गर्न प्रयास गरिरहेकी छु। त्यही योजनाअनुसार काम भइरहेको छ। त्योभन्दा पछि जाँदैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.