|

काभ्रेपलाञ्चोक : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले घाेषणा गरेकाे समृद्धि र तीब्र आर्थिक विकासका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणमा उद्योग र पानीसँगै जोडिने बताएका छन्।आइतबार काभ्रेपलाञ्चोकको धुलिखेलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको अन्तरक्रियामा मन्त्री बाँस्कोटाले यस्ताे बताएका हुन् । 

मन्त्री बाँस्कोटाले प्रकृतिको संरक्षण निर्माण मात्रै नभई सन्तुलित विकास देशको अर्को लक्ष्य भएको बताएका हुन्। मन्त्री बाँस्कोटाले जिल्लामा खानेपानी समस्या समाधान गर्न सुनकोशी तेस्रो ड्रिलिङ सुरु भइसकेकाे पनि बताए। देशमा राजनीतिक व्यवस्थापन भइसकेकाले अब तीब्र आर्थिक व्यवस्थापनतर्फ लाग्ने बेलाभएकाे पनि उनले बताए। देशले चाहेको संस्थागत परिवर्तनका निम्ति सम्पूर्ण सरकारी संयन्त्र,नीजि, सहकारी क्षेत्र र वैदेशिक सम्बन्धका लागि सबै लाग्नुपर्ने बताए। त्यही आर्थिक क्षेत्रको तीब्र विकासको रूपमा काभ्रेकाे पाँचखालमा स्थापना हुन लागेको विशेष आर्थिक क्षेत्र (सेज) परियोजना एक उदाहरणीय भएको पनि उनको भनाई छ।

प्रविधि, गतिशीलता र सुदृढ राष्ट्र हाम्रो छिमेकी भएकाले अर्थ तन्त्रको पुलको रुपमा नेपालमा विकासकाे बाटाे खाेल्न सम्भव भएको मन्त्री बाँस्कोटाले बताए। ‘त्यसको निम्ति सानातिना पूर्वाधारहरू जरुरी छ। जसका लागि काभ्रेपलाञ्चोकको पाँचखाल उपयुक्त छ।’ बाँस्कोटाले भने, ‘जहाँबाट उत्पादित वस्तु ७५ प्रतिशत निर्यात हुनुपर्नु हुन्छ। त्यो सम्भव छ।’ उनले सेज निर्माणको सपना सपनामा मात्रै सीमित राख्न नहुने बताए। कामलाई द्रूत गतिमा अगाडि बढाउन आग्रह समेत गरे।

अहिलेसम्म देश आयातमुखी मात्रै भएकाले र निर्यातमुखी बन्नको लागि सेज स्थापनाको महत्व रहेको उल्लेख गरे। अरनिको र विपी राजमार्गले जोडिएको जिल्ला भएकाले काभ्रे अब विस्तारित राजधानी हुने पनि बताए। कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडाले तीन बर्षभित्रमा पाँचखालमा बन्न लागेको सेज निर्माण हुने बताइन्। उनले भनिन्, ' तिनै तहमा जनप्रतिनिधि आइसकेकाले अव काम गर्न  सहज हुन्छ। तर भूकम्प लगायतका कारण समयमा नै काम गर्न नसकेकाे छैन।'

विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा. चण्डिराज भट्टले कार्यक्रमको अवस्था, सेजको आवश्यकता र त्यसबाट सरकार र नीजि क्षेत्रलाई हुने सहयोगको बारेमा विवरण प्रस्तुत गरेका थिए। निर्देशक भट्टले पाँचखाल क्षेत्रका स्थानीय बासिन्दाहरूले विशेष आर्थिक क्षेत्र (सेज) लाई कुरा मात्रै गरेको दशक वितिसकेकाले कि त छिट्टै कार्यान्वयनको चरणम जानु पर्ने कि त कुरा गर्नै छोड्नुपर्ने पनि बताए।

पाँचखालमा बन्न लागेको विशेष आर्थिक क्षेत्र (सेज) एक हजार हेक्टर क्षेत्रफलमा फैलिने जनाइएकाे छ। साथै यसकाे लागत दुई अर्ब ९५ करोड २७ लाख १७ हजार लाग्ने स्टिमेट समेत गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.