साहित्य

अंग्रेजीदेखि संस्कृतसम्म आयात र चिनियाँ भाषा निर्यात गर्दै चीन
SHARES

जेठ २१, २०७५

    नि हाउ! नि हाउ! 

    नमस्ते! नमस्ते! 

    चिनियाँ भाषामा गरिने अभिवादन। नेपालमा ‘नि हाउ’ भन्ने बेला मानिसहरूले हाँसो उठ्ने तरिकाले उच्चारण गरेको सुनिन्छ। त्यसो त नेपालमा कुनै पनि भाषालाई तोडमोड गर्दैै मौलिक बनाइदिने चलन पनि छ। अतः ‘नि हाउ’लाई ‘न्याओ’ पनि भनिदिने गरेको सुनिन्छ, जसको एउटा अर्थ ‘पिसाब गर्नु’ भन्ने हुन्छ। कतिपयले ‘नि हाउ’ भन्ने बेलामा बिरालो घुरे जसरी ‘ङ्याउ’ पनि गरिदिन्छन् र सुन्दा निकै हाँसोलाग्दो हुन्छ। जे होस्, चीनमा पुगेका वा चीनबारे अलिकति मात्रै पनि जानकारी लिएका कुनै पनि विदेशीले ‘नि हाउ’ भन्ने अभिवादनसँग साक्षात्कार भएकै हुनुपर्छ। 

    ‘नि हाउ’ त सबैले भन्न सक्लान् तर धेरै विदेशीलाई चीनमा अप्ठ्यारो लाग्ने भनेको अंग्रेजी भाषामा व्यवहार गर्नु पनि हो। चीनमा कुनै बेला अंग्रेजी भाषा अलप भएजस्तै थियो, अचेल पुनरोत्थानको चरणमा छ भन्दा हुन्छ। त्यति मात्र होइन, चिनियाँ भूमिमा अचेल विश्वका धेरै भाषाहरूको विकास पनि हुँदै गएको छ। चीन खुल्दै जानुको प्रतीकको रूपमा यसलाई पनि लिन सकिन्छ।

    अंग्रेजी

    हा... लौ! ...वाइ खामु! स्याङ्ख्यू! आई लाव यू! गुद बाई...!

    अहिले चिनियाँका जिब्रोमा यसरी अंग्रेजीको लवज बटारिन थालेको छ। नेपालीमा नेपाङ्ग्रेजी, इण्डियामा हिङ्गलिसा भनेजस्तै चिनियाँहरूले बोल्ने अंग्रेजी लवजलाई ‘चिङ्गलिस’ भनेर व्यंग्य गरिन्छ। नयाँ पुस्ता अंग्रेजीमा भिज्दै गर्दा पुरानो पुस्ता भने यसमा शून्य नै छ भन्दा पनि हुन्छ। धेरै विदेशीहरूका लागि चिनियाँको बद्ख्वाइँ गर्न कुनै हतियार छ भने त्यो चिनियाँको अंग्रेजी पनि हो। चिनियाँहरू अंग्रेजीमा किन यति पछाडि परेका होलान्? के कम्युनिस्ट मुलुक हुनुको अर्थ अंग्रेजी नसिक्नु हो? या त चिनियाँहरूले चिनियाँ फुथुङ्वा अर्थात् हान् चलाई नै विश्वको माध्यम भाषा बनाउन चाहेका थिए? आर्थिक विकासमा यति छिटो फड्को मार्ने चिनियाँहरूको जिब्रोमा अंग्रेजीचाहिँ किन यसरी पिछडिएको होला त?

    सन् १९५५ मा इण्डोनेसियाको बाङडुङमा आयोजित एसिया–अफ्रिका सम्मेलनबाट चीनले महसुस गर्‍यो कि पूर्वी मुलुकबाहेक चीनको अन्य मुलुकसँगको अन्तर्क्रिया कमजोर रहेछ। त्यसपछि बहुभाषाहरू अंग्रेजीलगायत, जर्मनी, फ्रेन्च र अरू भाषाहरूलाई पनि चिनियाँ विश्वविद्यालयमा प्रवेश गराउन थालियो।

    चीनमा अंग्रेजीको अंकुरण

    चीनमा सांस्कृतिक क्रान्ति (सन् १९६६–१९७६) सम्पन्न भएपछि मात्रै अंग्रेजी भाषा अलिक सहज हुँदै गयो तर त्यसअघि सन् १८६२ वरिपरि छिङ्ग राजवंशकालदेखि चिनियाँ राजधानीमा भेटिएका केही प्रतिभावान् अंग्रेजी वक्ताहरूको गणना गर्ने हो भने अंग्रेजीको इतिहास करिव १५० वर्षको हुन्छ। परिवर्तित समाज र चिनियाँमा देखिएको अंग्रेजीप्रतिको रवैया, उनीहरूको विश्वतर्फ लम्किँदो पाइला र व्यक्तित्वका कारण अंग्रेजी भाषामा साँस्कृतिक क्रान्ति अगाडि धेरै उतारचढावहरू आए।

    अझै पनि धेरै पाको पुस्ताका विचारमा पहिलो भाषा अंग्रेजी नभएर रसियन हो। नयाँ चीन स्थापनाको अघिल्लो तीन दशकमा चिनियाँहरूमा विदेशी भाषा पढ्नुलाई एक अलग राजनीतिक चरित्रका रूपमा हेर्ने गरिन्थ्यो। सन् १९४९ जुन ३० तारिखका दिन नेता माओत्सेतुङले (चिनियाँ उच्चारण : माओ च तुङ्ग) देशवासीका नाममा एउटा सन्देश निकालेर रसियन भाषाका तालिम स्कुल खोल्ने र रसियन भाषामा प्रतिभाहरूलाई तालिम दिने केन्द्रीय समितिको निर्णय भएको सुनाए। सोही वर्षको अक्टोबरमा बेइजिङमा (चिनियाँ उच्चारण : पैचिङ्) रसियन भाषा विद्यालय खुलेको थियो। सन् १९५५ मा बेइजिङ रसियन भाषा इन्स्टिच्युट भनेर त्यसको पुनः नामकरण गरियो। हाल यसको नाम बेइजिङ फरेन स्टडिज युनिभर्सिटी भएको छ। 

    सन् १९५२ मा चीनमा देशव्यापी रूपमा रसियन भाषा केन्द्रहरू स्थापना भए। रसियन विशेष शाङ्हाई, हार्पिन विदेशी विशेषज्ञ र अरू सात रसियन भाषा कक्षाहरू संचालनमा आए। प्रथम राष्ट्रिय माध्यमिक विद्यालयमा पनि रसियन भाषा समावेश गरियो। पाठ्यक्रममै समावेश गरिएपछि कुल कक्षा घण्टामा १३.३ प्रतिशत समय रसियन भाषाको भयो। नयाँ चीन स्थापनापछि रसियन भाषाको अध्ययन अध्यापन जोडतोडले अघि बढ्यो। यस अवधिमा रसियन भाषाले अंग्रेजीलगायत अन्य विदेशी भाषालाई लगभग पूरै विस्थापित नै गरेको थियो। सन् १९५१–१९५३ को अवधिमा पुनर्गठन गरी अंग्रेजी भाषा विद्यालयलाई घटाएर ५९ बाट नौमा झारियो तर ‘रसियन भाषा मात्र तर अरू भाषाको निषेध’ नीतिले चीनमा नकारात्मक असर पर्न थालेको पचासको दशकमा स्पष्ट देखिँदै गयो।

    सन् १९५५ मा इण्डोनेसियाको बाङडुङमा आयोजित एसिया–अफ्रिका सम्मेलनबाट चीनले महसुस गर्‍यो कि पूर्वी मुलुकबाहेक चीनको अन्य मुलुकसँगको अन्तर्क्रिया कमजोर रहेछ। त्यसपछि बहुभाषाहरू अंग्रेजीलगायत, जर्मनी, फ्रेन्च र अरू भाषाहरूलाई पनि चिनियाँ विश्वविद्यालयमा प्रवेश गराउन थालियो। चीन र तत्कालीन सोभियत संघबीचको सम्बन्ध चिसिँदै गएपछि विस्तारै रसियन भाषालाई कम गर्दै लगियो अनि अंग्रेजीले चीनमा ठाउँ लिन खोज्यो। 

    सन् १९६४ मा चीनले पहिलो पटक पश्चिमा भाषा अध्ययनको सात वर्षे कार्ययोजना ल्यायो। प्रस्तावनामा उल्लेख थियो : ‘पहिलो विदेशी भाषाको रूपमा अंग्रेजीलाई माध्यमिक विद्यालय र विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्न सकिन्छ।’ यो नै चीनले पहिलो पटक कुनै पनि विदेशी, अंग्रेजी भाषा अध्ययनका लागि गरेको स्पष्ट निर्णय थियो। सन् १९६६ सम्म आइपुग्दा व्यावसायिक रूपमा अंग्रेजी पढाइ हुने राष्ट्रिय कलेजको संख्या ७४ पुगेको थियो। सन् १९५८ मा रन च्याओ श अर्थात् जनशिक्षा प्रकाशन एजेन्सी (पीईपी)ले त्यस बेलाको नयाँ चीनको वैदेशिक भाषा अध्ययन माध्यमिक तथा उच्च विद्यालयका लागि राष्ट्रिय अंग्रेजी भाषा शिक्षण पाठ्यक्रम तयार गर्‍यो। त्यति बेलाको अंग्रेजी अध्ययन राजनीतिक उद्देश्यका लागि मात्रै भनेर तोकिएको थियो। बेइजिङ फरेन ल्याङ्गवेज युनिभर्सिटीका प्राध्यापक चाङ्ग ल्यान चोङ्ग सम्झिन्छन्, ‘त्यतिबेला कालोपाटीमा रातो कलमले लेख्ने चलन थियो। ‘लङ्ग लिभ चेयरम्यान माओ’ भनेर लेखिसकेपछि सबै जनाले त्यसै भनेर अंग्रेजीमा चिच्याउनुपर्थ्यो। 

    हङकङका सेवा निवृत्त ग्रेड शिक्षक वेन होङ्ग पिङ्ग भन्छन्, ‘त्यति बेलाको अंग्रेजी अध्ययनको कुनै अर्थ थिएन। पाठ्यपुस्तकको सामग्री पनि राजनीतिक उद्देश्यले अभिप्रेरित हुन्थ्यो। सन् १९६० को दशकमा अंग्रेजीको पहिलो पाठमै कार्ल माक्र्सले कसरी विदेशी भाषा सिके? भन्ने विवरण राखिएको थियो, पूरै राजनीतीकरण।

    चालीस करोडले अंग्रेजी सिक्दै

    वास्तवमा विगत तीन दशकदेखि अंग्रेजीका उपकरण तथा अंग्रेजी संस्कृतिले चिनियाँ समाजमा प्रवेश पाएको मान्न सकिन्छ। विशेषगरी साँस्कृतिक क्रान्तिपछि मात्रै यसले चिनियाँ माटोमा पुनः अंकुरित हुने मौका पाएको हो। सन् १९७७ देखि नै अंग्रेजीलाई विश्वविद्यालयको प्रवेश परीक्षामा सामेल गरिएयताका हरसाल १० प्रतिशतका दरले अंग्रेजीका विद्यार्थी बढ्दै गएका छन्। सन् १९८१ मा चिनियाँ राज्यपरिषद्ले आफ्नो खर्चमा समुद्रपार अध्ययन गर्न चाहनेहरूका लागि अन्तरिम प्रावधान जारी गरेपछि विदेशमा पढ्न जानेहरूको लहर चल्न थाल्यो। त्यसका लागि चीनमा टोफेल कक्षाहरू पनि तात्तिन थाले।

    सन् १९८४ देखि चीनमा आधिकारिक रूपमा प्रवेश परीक्षाको मुख्य विषयका रूपमा अंग्रेजीलाई सामेल गरिएको थियो। अंग्रेजीको ढोका खुल्यो र पुनर्जीवन पाउन थाल्यो। सन् १९९० पछि मानिसमा अंग्रेजी सिक्ने तरिका र विधि छनोटमा विविधता आयो। निजी इन्स्टिच्युटहरू गर्माउन थाले। अंग्रेजी सिकाइका विविधता बाहिर आए। 

    एउटा तथ्यांकअनुसार चीनमा अहिले ४० करोड चिनियाँले अंग्रेजी सिक्दै छन्। हिसाब गर्दा करिव एक तिहाई जनसंख्या अंग्रेजी सिकाइमा होमिएको छ। भाषा, एकेडेमी तथा साँस्कृतिक अनुभवसम्बन्धी अध्ययन गर्न विश्वव्यापी नामी संस्था  ‘एजुकेसन फस्ट’ले निकालेको प्रोफिसेन्सी सूचकांक २०१५ का अनुसार एसियामा सिंगापुर, मलेसिया, भारत, दक्षिण कोरिया, भियतनाम, जापान, ताइवान, इण्डोनेसिया र पाकिस्तानपछि चीन आउँछ। चीनपछि श्रीलंका, कजाखस्तान, थाइल्याण्ड, मंगोलिया र कम्बोडिया पर्छन्। प्रकाशित प्रतिवेदनअनुसार चिनियाँहरूले प्रति वर्ष ३० अर्ब युआन अंग्रेजीका लागि खर्च गर्छन् तर तत्काल हेर्दा नतिजा त फितलो!
    अहिले चिनियाँ जीवनमा जताततै अंग्रेजीको प्रभाव चढ्दै गएको छ। अझ शिशु कक्षामा समेत अंग्रेजी समावेश गर्न थालिएको छ।

    अंग्रेजी सिकाइका लागि बच्चैदेखि अतिरिक्त कक्षा राख्ने, विदेशबाट अंग्रेजी शिक्षकहरू झिकाउने, अंग्रेजीभाषी वा विदेशीहरूसँगको उठबसलाई बढाउने जस्ता नीतिबाट चीनले अंग्रेजीलाई आधारभूत तहमा प्रश्रय दिएको प्रष्ट हुन्छ। एफएम रेडियोहरूमा पनि नयाँ पुस्तालाई अंग्रेजीमा आकर्षित गर्ने खालका कार्यक्रमहरू, सिकाइमा सघाउन विशेष अंग्रेजी भाषा नामक सुस्त उच्चारण शैलीको प्रसारण सामग्रीहरू, सामाजिक संजालहरू र अंग्रेजी अनलाइनहरूमार्फत् किशोर किशोरीहरूका लागि अंग्रेजी ब्लग प्रतियोगिताहरू तीव्र पारिएको छ। त्यति मात्रै नभएर अंग्रेजी सिकाइने मोबाइल एप्सहरू पनि प्रशस्त चलेका छन्। अंग्रेजी चलचित्रहरू तथा संगीतहरूले पनि चिनियाँ बजारमा ठाउँ पाएका छन्। चिनियाँ गीतहरूमा पनि अंग्रेजी शब्दहरू घुस्न थालेका छन्। चीनका जातीय प्रदेशहरूमा मूल मातृभाषा हान् च अनिवार्य गरेर भाषिक सूत्रमा बाँध्ने अनि विश्व सम्पर्क भाषा अंग्रेजीतर्फ पनि अग्रसर हुने चिनियाँ मनसाय देखिन्छ।

    बेइजिङमा विश्वकै सबैभन्दा बढी भाषामा प्रसारण गरिने चिनियाँ अन्तर्राष्ट्रिय रेडियो छ, जहाँ विश्वका ६५ भन्दा बढी भाषाबाट प्रसारण गरिन्छ। त्यसमध्ये एउटा नेपाली भाषा पनि हो। चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा काम गर्ने हरेक विभागमा चिनियाँहरूले नै काम गर्छन्। भाषिक शुद्धताका लागि विदेशी विशेषज्ञहरू राखिएका हुन्छन्। ती चिनियाँहरू सबैले सम्बन्धित भाषा पढेका हुन्छन्। त्यस्तै, नेपाली विभागमा काम गर्ने चिनियाँहरू सबैले नेपाली भाषा अध्ययन गरेका छन्।

    नयाँ चीनका संस्थापक माओत्सेतुङले बालबालिकालाई पढ्न प्रेरित गर्न बोलेको एउटा वाक्य छ (好好学习天天向上) जसको अर्थ हुन्छ, ‘राम्रोसँग पढ्ने, दिनदिनै अघि बढ्ने।’ अंग्रेजी सिक्दै गरेका हरेकका मुखमा अचेल यस्तो वाक्य ‘गुद् गुद् स्तदी, दे दे अप्’ भनेर झुण्डिन थालेको छ। 

    चीनमा संस्कृत

    चीनमा अंग्रेजी मात्रै होइन, संस्कृत भाषाले पनि जरो गाड्न थालेको छ भन्दा जोकोहीलाई सजिलै पत्याउन गाह्रो लाग्छ। सन् २००५ मा शाङ्हाईको फुतान युनिभर्सिटीमा संस्कृत भाषा सिकाउन निस्किँदा नेपाल संस्कृत विश्वविद्यालय, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डा. काशीनाथ न्यौपानेलाई देवनागरी लिपिसँग अलिकति पनि अपरिचित चिनियाँलाई कसरी संस्कृत सिकाउने भन्ने चिन्ता लाग्थ्यो।

    ‘दोस्रो दिन संस्कृतका लागि चाहिने वर्णहरू सबै सिकिसकियो भनिदिएको त विद्यार्थीहरू खुसीले कक्षाकोठामै उफ्रिन थाले’, न्यौपानेले सम्झिए, ‘पहिला त उनीहरूले चिनियाँ जस्तै हजारौँ अक्षर सिक्नुपर्छ भन्ने सोचेका रहेछन्।’

    बोधिचर्यावतार, वृहत् अरण्योपनिषद्, मेघदूत, संस्कृत छन्दोमञ्जरी, भागवत् गीता र संस्कृत भाषाका पुस्तकहरू बोकेर चिनियाँ कक्षा छिर्ने गरेका न्यौपानेले सयौँ विद्यार्थीका अगाडि कालोपाटीमा लेख्थे : क, ख, ग, घ, ङ अनि अ, आ, इ, ई, उ, ऊ, ए, ऐ ... त्यसपछि रोमन। उनका अनुवादकले चिनियाँमा उल्था गरिदिएपछि चिनियाँ विद्यार्थीले ग्रहण गर्ने। 

    पहिले कुनै देवनागरी नसिकेका, चिनियाँ भाषासँग अलिकति पनि मेल नखाने, नेपाली भाषाभन्दा पनि जटिल संस्कृत सिकाउन पक्कै सजिलो होइन। सन् २०१७ मा संस्कृत कक्षामा सामेल ग्वान्झाओ (चिनियाँ उच्चारण : क्वाङ्चौ)की मेडिकल अनुवादक ४८ वर्षीया क्वान् चिन् ली भन्छिन्, ‘संस्कृत पढ्न संयम, समय र मिहिनेत अनि सिक्ने तरिका पनि चाहिने रहेछ।’

    चीनमा नेपाली भाषा

    चीनले विश्वसम्पर्क मजबुत बनाउनका लागि विभिन्न देशका भाषाहरू धमाधम सिकाइरहेको छ। भाषा प्रशिक्षणका लागि भनेर वर्सेनि हजारौँ विदेशीहरू चिनियाँ भूमिमा भित्रिन्छन्। चीनले अभिमान नदेखाईकन विदेशी संस्कृतिबाट सिक्नुपर्छ भन्ने भावना पालेको देखिन्छ। त्यसैले जति पनि विदेशी आउँछन्, भाषा मात्रै सिकाउँदैनन्, उनीहरूको मौलिकता, संस्कार पनि छताछुल्ल पारेर जान्छन्। त्यसबाट चिनियाँको यो पुस्तालाई विश्वको उत्कृष्ट मुलुकको नागरिक बन्नका लागि बल पनि पुगेको छ। अनेकन् भाषाका भीडमा चीनमा नेपाली भाषा पनि पढाइ हुन्छ। 

    बेइजिङमा विश्वकै सबैभन्दा बढी भाषामा प्रसारण गरिने चिनियाँ अन्तर्राष्ट्रिय रेडियो छ, जहाँ विश्वका ६५ भन्दा बढी भाषाबाट प्रसारण गरिन्छ। त्यसमध्ये एउटा नेपाली भाषा पनि हो। चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा काम गर्ने हरेक विभागमा चिनियाँहरूले नै काम गर्छन्। भाषिक शुद्धताका लागि विदेशी विशेषज्ञहरू राखिएका हुन्छन्। ती चिनियाँहरू सबैले सम्बन्धित भाषा पढेका हुन्छन्। त्यस्तै, नेपाली विभागमा काम गर्ने चिनियाँहरू सबैले नेपाली भाषा अध्ययन गरेका छन्। उनीहरूले बेइजिङ र नेपालका विश्वविद्यालयमा नेपाली भाषा अध्ययन गरेका हुन्। 

    चिनियाँ परराष्ट्र मन्त्रालयमा काम गर्ने केही कर्मचारीहरू पनि नेपाली भाषा बोल्छन्। नेपालबाट गएका राजनीतिज्ञ तथा अन्य अधिकारीहरूको दोभाषेको रूपमा पनि उनीहरूले सघाइरहेका हुन्छन्। नेपालस्थित विभिन्न चिनियाँ कम्पनीमा नेपाली भाषा जानेका चिनियाँहरू क्रियाशील छन् अर्थात् नेपाली भाषा चिनियाँ भूमिमा एउटा सिक्नै पर्ने भाषाका रूपमा स्थापित हुँदै गएको छ। हरेक वर्ष नेपालको सीमा क्षेत्र तिब्बती इलाकामा काम गर्नुपर्ने सुरक्षाकर्मीहरूले पनि नेपाली भाषा सिकिरहेका हुन्छन्। उनीहरू तिब्बतमा आधारभूत अध्ययनपछि बेइजिङ आएर कक्षा लिने गर्छन्।

    बेइजिङ विदेशी भाषा विश्वविद्यालय, चिनियाँ कम्युनिकेसन युनिभर्सिटीलगायत केही विश्वविद्यालयहरूमा नेपाली भाषाको पाठ्यक्रम राखिएको छ। यसबाट पुष्टि हुन्छ, नेपाली भाषाको माग चिनियाँ भूमिमा छ तर जति अरू देशको भाषा सिक्दा चिनियाँ विद्यार्थीका लागि प्रचुर अवसरहरू हुन्छन्, त्यति नेपालीमा छैन। अतः कालान्तरमा नेपाली भाषाको आकर्षणमा कमी नआउला भन्न सकिन्न।

    निर्यातमुखी चिनियाँ भाषा 

    चीनले आफूले विदेशी भाषा सिकिरहेको मात्रै छैन, उसले विदेशतिर चिनियाँ भाषा पनि निर्यात गरिरहेको छ। कन्फ्युसियस कक्षा (ईशापूर्व ५५१–४७९ का एक जना चिनियाँ दार्शनिक)को नामबाट स्थापित सांस्कृतिक संस्थामार्फत् उसले संसारभरि नै माण्डारिन अर्थात् आधिकारिक चिनियाँ भाषाको जालो फिँजाएको छ। कन्फ्युसियस इन्स्टिच्युटमार्फत् चिनियाँ भाषा फैलिन थालेको १४ वर्ष भइसकेकोे छ। सन् २०१७ को अन्त्यसम्ममा विश्वका १४२ वटा मुलुक तथा क्षेत्रमा ५०० भन्दा बढी कन्फ्युसियस इन्स्टिच्युट तथा हजारौँ माध्यमिक तथा प्राथमिक स्कुलमा कन्फ्युसियस् कक्षा पनि खोलिएको तथ्यांक छ। ती संस्थाबाट तालिम दिइएका विद्यार्थीहरूको संख्या ७० लाख पुगिसकेको छ। बेल्ट एण्ड रोड इनिसियटिभ्समा संलग्न ५१ वटा मुलुकमा १३५ वटा कन्फ्युसियस इन्स्टिच्युट, १२९ वटा कन्फ्युसियस कक्षा स्थापित भइसकेका छन्।

    चीनको आर्थिक विकास तथा अन्तर्राष्ट्रिय आदानप्रदान दिन प्रतिदिन बढ्दै गएको सिलसिलामा विश्वका विभिन्न मुलुकहरूमा चिनियाँ भाषा प्रशिक्षणको माग पनि तीव्र गतिले बढिरहेको छ। ६७ वटा मुलुकमा चिनियाँ भाषा प्रशिक्षणलाई राष्ट्रिय शैक्षिक प्रणालीमा समावेश गराइएको छ भने विश्वका १७० वटा मुलुकमा चिनियाँ भाषा प्रशिक्षण वा पठनपाठन चलिरहेको छ। कन्फ्युसियस इन्स्टिच्युट नै विश्वले चीनबारे जानकारी लिने महत्त्वपूर्ण मंच बनेको छ। पश्चिमा भाषा सिक्दा धेरै अवसर भएको सोच्नेहरू अहिले चिनियाँ भाषामा पनि सम्भावना देख्न थालेका छन्। चीनसँग प्रचुर साँस्कृतिक सम्पदा र इतिहास छ। यहाँको भाषा धनी र प्रकटयोग्य छ। मन्त्रमुग्ध पार्ने भाषिक शैली भलै धेरैका लागि टाउको दुख्ने खालको छ तर जतिजति यसलाई बुझ्दै गइन्छ, त्यतित्यति रोचक लाग्दै जान्छ।

    कुनै पनि मानिसले यसमा अल्मलिने मौका पायो भने कैयौँ समय त्यत्तिकै कटाइदिन सक्छ। चीनका बारेमा पहिला जे जति अवधारणा थियो र छ, अधिकांशले पश्चिमा मिडिया, विरोधी देशका निर्देशित संचार माध्यमबाट पाइएका सामग्रीका आधारमा बनाएका हुन्थे। जसले चीनमा वास्तविक रूपमा पाइला राख्छ अनि मात्रै उसको ब्रह्मज्ञान खुल्छ। अझ चिनियाँ भाषालाई आत्मसात् गरेपछि त कैयौँ फाइदा उपभोग गर्न पाइनेछ।

    (चाइना रेडियो इन्टरनेशनलमा कार्यरत पत्रकार लम्सालद्वारा लिखित भर्खरै प्रकाशित ‘नि हाउ नमस्ते’ पुस्तकको अंश।) 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]