|

दार्चुला : तोकिएको जिम्मेवारी पूरा नगर्ने निर्माण व्यावसायीहरूलाई नामावली गृहमन्त्रालयमा पठाएको १० दिन बित्दा समेत मन्त्रालयले कुनै निर्देशन नदिँदा जिल्ला प्रशासन कार्यालय अन्योलमा परेको छ।

गृह मन्त्रालयको निर्देशनअनुसार जिल्लाका निर्माणसम्बन्धी विवरण जेठ ११ मा पठाइए पनि हालसम्म मन्त्रालयलबाट यससम्बन्धमा कुनै निर्देशन नआएको जिल्ला प्रशासन कार्यालय, दार्चुलाले बताएको छ। 

जिल्लाका नौ कार्यालयअन्तर्गत ६२ वटा निर्माणसम्बन्धी आयोजनाको निर्माण सम्झौता छन्। तीमध्ये १५ वटाको काम नै नहुने जानकारी जिल्ला प्रशासन कार्यालयले मन्त्रालयलाई गराएको छ। दार्चुला तिंकर सडकका छ, जिल्ला समन्वय समितिका तीन र सिंचाई, जिल्ला प्राविधिक तथा विद्युत प्राधिकरणका दुई दुई गरी १५ आयोजनाको काम हुन नसक्ने विवरण मन्त्रालय पठाइएको छ।

दार्चुला तिंकर सडक निर्माणको जिम्मा लिएको निर्माण व्यावसायीहरूले तोकिएको काम गर्न नसक्दा वर्षौदेखि दार्चुला तिंकर सडक अलपत्र छ भने छ महिनादेखि विजयपुरभन्दा अगाडि ट्रयाक खोल्ने काम भएको छैन। यस्तै, विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियामार्फत आर्थिक वर्ष २०७१/७२ मा सम्झौता भएका छ वटा आयोजनामध्ये एकको काम नहुने जनाइएको छ। छ वटै आयोजनाको छ छ पटक म्याद थपिए पनि निर्माण व्यावसायीले काम सम्पन्न गर्न सकेका छैनन्। आर्थिक वर्ष २०७३/७४ मा सम्झौता भएका १० आयोजनाको पनि तीन तीन पटक म्याद थपिएको तर काम सम्पन्न हुन सकेको छैन। चालु आर्थिक वर्षमा सम्झौता भएका १२ वटा आयोजनाको पनि काम सम्पन्न हुन सकेको छैन।

आयोजनाको विवरण गृहमन्त्रालय पठाए पनि मन्त्रायलयबाट अहिलेसम्म निर्देशन नआउँदा जिल्ला प्रशासन कार्यालय अन्योलमा परेको छ। सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशी मन्त्रालयमा जानकारी पठाइएको र निर्देशन आएपछि काम नगर्ने ठेकेदारलाई के गर्ने भन्ने निर्णय हुने बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.