सुकिलुम्बा विमानस्थलमा तारा एयरको सफलतापूर्वक उडान परीक्षण

|

इलाम : १६ वर्षअघि निर्माण प्रक्रिया थालिएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको सपना अन्ततः साकार हुने भएको छ। विमानस्थलको धावनमार्गमा सबग्रेड कार्य र लेभल परीक्षण काम सम्पन्न भएपछि सोमबार बिहान ११ बजेर ५५ मिनेटमा तारा एयरको टुइनेटर नायन एन एट विमानले सफल परीक्षण उडान सम्पन्न गरेसँगै इलामवासीहरुको गृह जिल्लाबाट हवाईजहाज चढने सपना सकार हुन लागेको हो।

३ सय २८ रोपनीमा निर्माणाधीन विमानस्थलको तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले इलाम नगरपालिका–९ मा विस २०६७ चैत १३ मा शिलान्यास गरेका थिए। २०५८ सालमा विमानस्थल निर्माण प्रक्रिया शुरु भए पनि त्यसको ९ वर्षपछि मात्र शिलान्यास गरिएको थियो। मुख्य क्याप्टेन प्रभाकर घिमिरे, सहचालक सञ्जीव श्रेष्ठ र एअरहोस्टेज सहित काठमाडौंबाट १०:५५ मा उडेको विमान बिहान ११:५५ बजे इलाम सदरमुकामको सुकिलुम्बा विमानस्थलमा अवतरण गरेको हो।

जिल्लाकै निर्माणाधीन विमानस्थलमा पहिलोपल्ट जहाज ओर्लिएपछि इलाममा सर्वसाधारण सुकिलुम्बा विमानस्थलमा जहाज हेर्न ओइरिएका थिए। ७ वर्षअघि विमानस्थल शिलान्यासपछि घर नजिकैबाट हवाइजहाइ चढने इलामेहरुको सपना देखेका थिए।

वर्षौंदेखिको सपना पूरा भयो : नगर प्रमुख बस्‍नेत

तर, चुस्त रुपमा निर्माण कार्य अगाडि बढ्न नसक्दा निरास बनिरहेका इलामे सोमबार तारा एयरको जहाजले परीक्षण उडान गरेपछि हर्षित छन् विमानस्थलको परीक्षण उडान सफल भएपछि स्थानीयले एक-अर्कामा खुशी साटासाट गरेका थिए। इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत इलामले वर्षौदेखि देख्दै आएको विमानस्थलको सपना अब पूरा भएको बताउँछन्। उनी भन्छन, ‘विमानस्थल पूर्ण रूपमा सञ्‍चालनमा आएपछि इलामको पर्यटन क्षेत्रले थप फड्को मार्ने आस हाम्रो छ।’

अहिले कच्ची अवस्थामा रहेको विमानस्थल आउँदो वर्ष ग्राभेल गर्ने योजना नागरिक उड्डयन प्राधिकरणको छ। चालू आर्थिक वर्ष विमानस्थलको रनवेका लागि १० करोड र तल्लो भागमा सडक बनाउन ७ करोड रुपैयाँको काम भइरहेको इन्जिनियर पुष्प न्यौपानेले बताए। विमानस्थलका लागि अहिलेसम्म १८ करोड रुपैयाँभन्दा बढी रकम खर्च भइरहेको प्राधिकरणले जनाएको छ।

‘रनवेलाई नालीसहित कालोपत्रेसम्मको अवस्थामा पुर्‍याउन अब १५ करोड रुपैयाँ लाग्नसक्छ,’  नेउपानेले भने, ‘टर्मिनल भवन बनाउन र सुरक्षा तारबार लगाउन पनि बाँकी नै छ।’ विमानस्थल पूर्ण रुपमा तयार हुन ४३ करोड रुपैंयाँ लागत खर्च हुने जनाइएको छ।

बर्सेनि ज्यादै कम बजेट मात्र विनियोजन हुने गरेकाले निर्माणमा ढिलाइ भइरहेको छ। विमानस्थल बनाउन स्थानीयस्तरबाट जग्गा उपलब्ध गराइएको हो। तत्कालीन जिल्ला विकास समिति, इलाम नगरपालिका र सबै गाविसबाट रकम उठाएर जग्गा खरिद गरिएको थियो।  जग्गा खरिद गर्न इलाममा घरलौरी चन्दासमेत उठाइएको थियो।

जिल्लाबासीबाट पनि प्रतिव्यक्ति एक हजारदेखि २० हजार रुपैयाँसम्म चन्दा संकलन गरिएको थियो। विमानस्थल निर्माण गर्दा विस्थापित हुने ३१ घर–परिवारलाई जग्गाको मुआब्जाका लागि २ करोड २६ लाख रुपैया खर्च भएको थियो। बिमानस्थल संचालन बनेपछि इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.