|

सौराहा : चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमा(खोर)मा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ। चारैतर्फ काठको फलेकले बारेर माथि पट्टी खुला गरी बनाइएको पिट बोमा छ।

सुरुमा आउँदा बोमा नै भत्काउँला झैं आक्रामक गैंडा अहिले मानिससँग नजिक  हुन थालेको हो।  खानेकुरा ल्याइदिन्छ कि भनेर मानिस देख्ने वित्तिकै नजिक आउन थालेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका निमित्त कार्यालय प्रमुख रामकुमार अर्यालले बताए। उनका अनुसार अहिले गैंडालाई बोमाभित्रै पुगेर कर्मचारीहरुले खानेकुरा दिन थालेका छन्।

‘अझै अर्काे ठूलो बोमामा राख्ने बेला भएको छैन,' अर्यालले भने, 'अर्काे महिनाबाट सार्न मिल्छ कि भन्ने अनुमान छ।’ यहाँ त्यस गैंडालाई दुध, घाँस, फलफूल, बन्दाको मात्रा मिलाएर खुवाउने गरिएको छ। तिनीहरुको अवस्था, आनीबानी, स्वास्थ्य तथा गतिविधिबारे पशु चिकित्सक, कर्मचारी र वन्यजन्तु प्राविधिज्ञले निगरानी गरिरहेका छन्। 

खुला खोरमा लगेर छाड्ने बेला नभएको अर्याल बताउँछन्। बानी परेपछि गैंडालाई ठूलो खुला खोरमा लगेर राखिने छ। त्यसपछि चीन पठाइने छ। भारतबाट उद्धारपछि सौराहामा ल्याएर पालनपोषण गरी राखिएको गैंडाको बच्चा (केटो)लाई पनि ‘पिट बोमा’ (सानो खोर)मा राखिएको छ। अघिल्लो वर्षको साउन २८ मा आएको बाढीले निकुञ्जबाट बगाएर उक्त केटोलाई भारत पुर्‍याएको थियो। चैत १० गते भारतबाट उद्धार गरी केटोलाई सौराहा ल्याइएको थियो।

अन्य तीन वटा गैंडालाई भने गत बैशाखमा नियन्त्रणमा लिएर बोमामा राखिएको थियो। चिकित्सकका अनुसार अहिले चार वटै गैैंडा तन्दुरुस्त छन्। सरकारी निर्णयअनुसार चीनलाई दुई जोडी गैंडा नेपालले उपहार दिंदैछ। एकजोडी गैंडा भने आगामी असारसम्ममा पठाइने चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताए। यसअघि विभिन्न देशमा गरेर नेपालले अहिलेसम्म दुई दर्जनभन्दा बढी गैंडा उपहार दिइसकेको छ। तर, ती उपहार दिइएका गैंडाहरुको हालको अवस्था के छ भनेर सरकारसँग आधिकारिक विवरण भने छैन। 

चितवन निकुञ्जबाट आन्तरिक रुपमा भने विभिन्न राष्ट्रिय निकुञ्जमा गरेर झण्डै १०० गैँडा स्थानान्तरण भएको तथ्यांक छ। बर्दिया पठाइएका अधिकांश गैंडा भने चोरी शिकारबाट मारिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.