ब्लग

खलासी अर्थात् सहचालक
SHARES

जेठ २७, २०७५

    ज्या!

    आमाको आँखा छलेर नाकमा स्यानको लहरो तान्दै भाग्न मात्र आँटेको के थिएँ, देखिहाल्नुभो।

    'स्याब्बास! नपढी गाउँ डुल्दै हिँड, पछि खलासी भएपछि चाल पाउँछस्', आमाले एक सासमा हातको कुचो लिँदै भन्नुभो।

    धन्न कुचोले लागेन! खलासी शब्दले चाहिँ कहाँकहाँ लाग्यो कुन्नि! यो घटना घाँटीमा मैलो टाटो लिएर एक हातले टाँक नभएको कट्टुको फेरो समातेर खाली खुट्टाले गाउँ चहार्ने उमेरको हो। आमाले खलासी शब्द पहिलोचोटि गालीको रूपमा प्रयोग गर्नुभएको थियो, नत्र त आमाहरूको गाली कस्तो हुन्छ, अधिकांश नेपालीलाई थाहा भएकै कुरा हो।

    मलाई खलासी भनेको के हो, थाहा थिएन। एक दिन हजुरआमालाई खलासी भनेको के हो? भनेर सोधेँ।

    मेरो चकचके र पढाइमा ध्यान नदिने व्यहोरा देखेर दिक्क हुनुभएकी हजुरआमाले भन्नुभो, 'खलासी भनेको नपढ्ने हो, आवारा हुन्, सबैको गाली खाने मान्छे हुन्, फटाहा हुन्।'

    ओहो, खलासी भनेको फटाहा, पढाइमा फेल हुने, आमाले भनेको नमानी हिँड्ने मनुख्ये पो रै'छन्। हजुरआमाको भनाइको तात्पर्यअनुसार मैले यही बुझेँ।

    त्यही वर्ष म फेल भएँ। खलासी बन्ने पक्का भयो।

    फेल भएको कुरा मनले माने पनि आवारा, फटाहा हुने भएँ भन्ने कुरा मनले मान्न तयार भएन। खलासी हुने पक्कापक्की भएको लक्षणले मन यस्सै अमिलियो। मलाई खलासीले जस्तो सबैको गाली खानु थिएन। खलासी शब्दप्रति नै मेरो मोहभंग भएको थियो।

    सँगैका साथी ३ कक्षामा गए। साथीहरूले जिस्क्याउँदै भन्थे, 'तीन कक्षा त हामीले मुतेर गएका हुँ।' उनीहरू हाम्रो कक्षामा अनुमति नलिई छिर्थे। उनीहरू सिनियर भए पढाइको हिसाबमा, म जुनियर भएँ। मलाई उनीहरूले हेपेको देख्दा रिस उठ्थ्यो। गोद्ने हिसाबले म उनीहरूलाई लखेट्ने गर्थें। उनीहरू भागेर आफ्नो कक्षामा छिर्थे। माथिल्लो कक्षा छिर्न अनुमति लिनुपर्थ्यो। अनुमति नलिए सरले भकुर्थे। सर देखे यस्सै काँडा उम्रन्थ्यो। अनुमति लिने कुरै भएन। मन यस्सै दुखी भयो। 'पख, पढेर तिमीहरूलाई देखाउँछु', भनेर ममा इख बस्यो।

    त्यसपछिको घटनापछि मलाई आमाले कहिल्यै खलासी शब्द निकाल्नुपरेन, कुचो पनि लगाएको आजसम्म याद छैन।

    घर सुदूर गाउँमा भएपछि बस देख्ने कुरै भएन। बस नदेखेपछि खलासी पनि लावण्य देशको राजकुमार जस्तो हुने भइहाल्यो।

    खलासी भनेका फटाहा हुन् भन्ने कुरा मलाई सधैँ लागिरह्यो। मलाई पढ्नु थियो, कारण- मलाई खलासी बन्नु थिएन।

    विस्तारै विस्तारै दिन फेरिए। कक्षा फेरिए। स्कुल फेरियो। स्वभाव फेरियो।

    मलाई खलासी हेपेर बोलिने शब्द हो भन्ने कुरा धेरै पछि मात्र थाहा भयो। खासमा खलासी अर्थात् सहचालक त बसमा चालकलाई सहयोग गर्नेलाई पो भन्दारहेछन्।कलेज पढ्दा होस् या उच्च शिक्षा हासिल गर्दा होस्, मैले जहिल्यै बसको सहारा लिनुपर्‍यो अनि बुझेँ यसबारे।

    सँगैका साथीहरूले बाइक घुइँक्याउँदा मलाई बाइकको अभाव खड्किन्थ्यो। घरमा मलाई बाइक चाहियो भन्न सक्दिनथेँ। उसो त दाइको कमाइले मलाई बाइक किन्ने हैसियत राख्दैनथ्यो ।

    दाइको हातमा उठेको ठेलाले बाइकको आवश्यकता यस्सै विस्थापित गरिदिन्थ्यो। छिमेकी दाइको ट्रक थियो। उनी गाउँमा कुशल ड्राइभर भनेर प्रख्यात थिए। सधैँ पूर्व-पश्चिम घुमेको, नयाँनयाँ मान्छेलाई भेटेको कहानी सुनाउँथे उनी। उनका गफ यति मीठा हुन्थे कि म आफैँ घुमेको जस्तो भान हुन्थ्यो।

    कहिलेकाहीँ मनमनै गम्छु, 'हामी अरूलाई खराब देख्छौँ, यो हाम्रो मान्छे हुनुको प्रमाण हो। अरूले तपाईंलाई कस्तो व्यवहार गर्छन्, त्यो तपाईंले अरूलाई गर्ने व्यवहारले निर्धारण गर्छ।' तर सुनाउने कसलाई? खलासी पेसा त कुरै छोडौँ खलासी शब्द सुन्न नचाहने प्रशस्तै भेटिन्छन्।

    प्लस टुको जाँच सकेर फुर्सदको दिनमा ती दाइले मलाई ट्रकमा घुम्न हिँड भनेर प्रस्ताव राखे।

    मैले नाइँनास्ती गरिनँ।

    संयोग पनि कस्तो परिदियो भने त्यो बेला खलासीकी आमा स्वर्गेवास भएर खलासी घर गएको रहेछ।

    एउटा कुरामा प्रस्ट हुनु राम्रो- तपाईंले जुन कुरा वा व्यक्तिप्रति धेरै घृणा गर्नुहुन्छ, त्यो चिज वा मान्छेसँग चाहेर वा नचाहेर जिन्दगीको कुनै कालखण्डमा नजिक हुनुपर्ने बाध्यता आइलाग्छ।

    म खलासी हुने भएँ केही दिनका लागि।

    नवलपरासीको दुम्कौली भन्ने ठाउँबाट हामीले चाउचाउ विराटनगर लैजानुपर्ने थियो। दुम्कौलीमा ट्रकमा चाउचाउ हाल्ने क्रममा त्यहाँका कामदारले समेत बिना कारण खलासी भएको नाताले अनादरपूर्ण शब्दले यस्सै होच्याए मलाई।

    तिमी होइन, तँ भन्थे।

    म उनीहरूलाई 'खलासी होइन, यो ट्रकको मालिकको छोरा हुँ' भन्थेँ। त्यसपछि उनीहरूको अनुहार हेर्नलायकको हुन्थ्यो। त्यस दिन अर्को कुरा पनि बुझ्ने अवसर पाएँ मैले- खलासी भनेको गरिबहरूले गर्ने पेसा हो। एक त गरिब, त्यसमाथि खलासी पेसा, इज्जत कहाँ हुन्छ र पुँजी बजारमा!

    'ड्राइभर दाइ!

    घुम्तीघुम्तीमा बचाऊ है!'

    भन्ने गीत घन्काउँदै हामी विराटनगरको यात्रामा लाग्यौँ।

    बाटोमा एउटा सरिफ मान्छे त्यस्तो भेटिएन, जसले मलाई आदर गरेको होस्।

    एउटा गीत छ-

    'यस्सै त मन मेरो धमिलो, धमिलोमा नमिसाऊ अमिलो।'

    अमिलो मनमा धमिलो हुने काम हेटौँडामा एक प्रहरीले गरिदिए।

    खानाका लागि ट्रक रोक्दै गर्दा रक्सीले मात्तिएका ती प्रहरीले ममाथि अनेक असभ्य भाषा प्रयोग गरे।

    मलाई असह्य भयो।

    यसअघि पनि प्रहरीसँग राम्रै धुलाइ भेटेको थिएँ मैले, दश कक्षा पढ्दा।

    पहिले त्यो घटना सुनम्!

    भर्खर देशमा गणतन्त्र आएको थियो क्यार! देशको राजनीति असारको तातो घामभन्दा चर्को थियो।

    राष्ट्रपतिले कार्यकारी प्रधानमन्त्रीलाई हस्तक्षेप गरेका थिए- सेनाको घटनालाई लिएर।

    त्यसले गर्दा विधार्थी आन्दोलन बढ्दै थियो। हाम्रो स्कुलमा दाइहरू आएर राष्ट्रपतिको निर्णयविरुद्ध लाग्न हामीलाई हौस्याएका थिए।

    किशोर अवस्थामा अलिअलि तातो रगतले गर्दा मैले पुलिसको भाटा भेटेको थिएँ। पुलिसको भाटा भेटेको मेरो खुट्टामा बसेको डाम रातो, त्यसपछि नीलो र अन्त्यमा कालो भएर केही दिनमा बेपत्ता भएको थियो।

    केही दिनमा समाचार सुनियो- प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएछन्।

    आज लाग्छ- कोही कसैसँग नैतिकता भन्ने चिज पनि बाँकी रहेछ कि त्यसबेला! 

    पुलिसको भाटाको कारण म आफैँ थिएँ किनकि पढ्ने समयमा ढुंगा हान्न हुँदैनथ्यो। राजनीतिक कुरा नबुझी पार्टीको कार्यकर्ता बन्नु गलत थियो।

    अर्को घटना पनि सुनिहालौँ।

    शिवरात्रिको दिन। रातमा हामी बाटोमा हिँड्दै थियौँ। पुलिसको भ्यानले हामीलाई रोक्यो। एउटा जवानले हामीमाथि लात्ती प्रहार गरे। म झाडीमा पुगेँ। अर्को साथीलाई भ्यानमा हाल्यो।

    हामीले अनुनय विनय गर्‍यौँ। उनीहरूले हामीलाई सोधपुछ गरे। अन्त्यमा अबदेखि राती नहिँड्ने बाचा खुवाएर आफ्नो बाटो लागे। हामी रुझेको बिरालोझैँ घर हान्नियौँ।

    त्यस दिनको पुलिसको पिटाइको कारण पनि हामी नै थियौँ। हामीले सजाय पाउनुपर्थ्यो। रातको समयमा हल्ला गर्दै हिँड्नु उचित थिएन।

    तर आजचाहिँ  पुलिसकै गल्ती थियो।

    'म यो गाडीको सहचालक हुँ। हामीले पार्किंङ भएको ठाउँमा गाडी रोकेका छौँ। तपाईं रक्सी खाएर जथाभावी बोल्न पाउनुहुन्न। हरेक पेसाको मर्यादा राख्नुहोला। मैले अहिले भर्खर फोन गरेर तपाईंको हाकिमलाई बोलाएर तपाईंलाई माफी माग्नुपर्ने बनाइदिन सक्छु', मनमनै यस्तै केही भन्दै थिएँ। बोल्ने आँट त कहाँबाट हुनु?

    आफ्नो गल्ती भएको कुरा उसले कतै बुझ्यो कि वा उसको रिस शान्त भएर हो, नबोली हिँड्यो। उसले सोच्यो होला, सबै खलासी मसँग डराउँछन्, यो मूला पनि त्यही सूचीमा दाखिल भयो।

    पुलिसको यस्तो व्यवहारले मन सङ्लिन पाएन। यसको कारण पनि म आफैँ हुँ। मैले उसलाई सम्झाउन सक्नुपर्थ्यो। बोल्नुपर्ने ठाउँमा पनि आफूले काम गर्न नपाएकोमा मेरो जिब्रोले आफूलाई कति बेकामे सम्झ्यो होला?

    मेरो चार दिने खलासी यात्रा यस्तै तीता अनुभव लिएर सकियो। मलाई थाहा भयो- यो देशमा तुच्छ व्यवहार गरिने पेसा सहचालक रै'छ।

    दुनियाँमा सबैभन्दा शोषित गरिव छन्, यो ध्रुवसत्य कुरा हो। अर्को ध्रुवसत्य नेपालमा तुच्छ मानिने पेसामध्ये सहचालक पनि एक हो।

    अचेल कीर्तिपुर-रत्नपार्क यात्रा गर्दा म अनेक सहचालकहरूलाई देख्छु। यी सहचालाकहरूको समस्या के छ भने उनीहरू जथाभावी चुरोट पिउँछन्। धुम्रपान नेपालको बढ्दै गएको ठूलो समस्या हो।

    हरेक पेसामा लागेका पेसाकर्मीले चुरोट पिउँछन्- चाहे त्यो लेखक होस् या डाक्टर वा इन्जिनियर होस् या प्राध्यापक। यिनीहरूको परिधि साँघुरो छ। आममानिससँग सहाचालकसँगको जस्तो नजिकको सम्बन्ध हुँदैन यिनीहरूको।

    तर हरेक दिन हजारौँ मान्छेसँग दोहोरो संवाद गर्ने र नजिक हुने पेसा पनि सहचालककै हो। कहिलेकाहीँ सहचालकहरूलाई भन्न मन लाग्छ- व्यवस्थित तरिकाले चुरोट पिउनुहोस्। चुरोट पिउनाले तपाईंको स्वास्थ्यमा जति असर गर्छ, त्यति नै असर जथाभावी चुरोट पिउनाले तपाईंको व्यक्तित्वमा पनि पर्छ। गाडीमा हिँड्दा होस् वा अन्य कुनै चिया अड्डा होस्, खलासीहरूको विषय आयो भने उनीहरूलाई नंग्याउने खुलाउने काम हुन्छ। यो आमप्रवृत्ति हो। कहिलेकाहीँ मनमनै गम्छु, 'हामी अरूलाई खराब देख्छौँ, यो हाम्रो मान्छे हुनुको प्रमाण हो। अरूले तपाईंलाई कस्तो व्यवहार गर्छन्, त्यो तपाईंले अरूलाई गर्ने व्यवहारले निर्धारण गर्छ।' तर सुनाउने कसलाई? खलासी पेसा त कुरै छोडौँ खलासी शब्द सुन्न नचाहने प्रशस्तै भेटिन्छन्।

    म मान्छु- सबै सहचालकहरू असल छैनन्, उसो त हाम्रा हातका सबै औँलाहरू पनि समान कहाँ छन् र? यो कुरा बुझ्ने कसले?

राजु पौडेल

पत्रकार पौडेल २०७४ माघदेखि थाहा खबरमा कार्यरत छन्। उनी साहित्य तथा फिचर लेखनमा रुची राख्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]