|

सुर्खेत : नागरिक उड्डयन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीले काठमाडौं बाहिरबाटै छिमेकी देशमा हवाई सेवा सुरु गर्न लागेको बताए। कर्णाली प्रदेशका विमानस्थलहरूको अवस्था, सम्भावना तथा चुनौतीहरूको अध्ययन गर्न सुर्खेत पुग्नुभएका मन्त्री अधिकारीले काठमाडौं बाहिर नेपालगंज, विराटनगर, धनगढी जस्ता ठाउँबाट यो अंग्रेजी जुन महिनाभित्र छिमेकी देशहरूमा सिधा हवाइसेवा सुरु गर्ने सरकारको तयारी भइरहेको बताएका हुन्।

कर्णाली प्रदेश अन्तर्गत विमानथल विकास विस्तारका सम्भावना तथा चुनौती विषयक अन्तरर्कियामा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन्। कर्णाली प्रदेशका लागि सुर्खेत उपत्यकाभित्र अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थलको सम्भावना नभएको निष्कर्षमा नागरिक उड्डयन तथा पर्यटन मन्त्रालय पुगेको भन्दै अधिकारीले उपत्यका बाहिर नै सम्भावनाको खोजी भइरहेको र रिम्यापिङ गर्न लागिएको पनि जानकारी दिए।

सुर्खेत उपत्यका भन्दा बाहिर कुन ठाउँका विमानस्थल बनाउने भन्ने कुराको टुंगो २/४ दिनमा नै लाग्ने अधिकारीले बताए। ‘कर्णालीमा कम्तिमा ७० देखि १०० सिट क्षमता भएका जहाज बस्ने र नाइट पार्कि‌ंग गर्ने तरिकाले विमानस्थल बनाउनका लागि सरकारले योजना बनाइरहेको छ,’ उनले भने, ‘सिजनमा हाेइन। १२ महिना नै ठूला विमान संचालन गर्ने गरी तयारी अघि बढाइएको छ।’

कर्णाली कै हिमाली क्षेत्रमा कुन ठाउँमा हुन्छ एउटा ठूलो विमान बस्ने गरी विमानस्थल बनाउनका लागि सम्भाव्यता अध्ययन पनि छिट्टै गरिन लागेको जानकारी अधिकारीले जानकरी दिए। उनले भने ‘कर्णालीको पर्यटनको विकासका लगि केन्द्र हरेक तरिकाले सहयोग गर्न तयार छ। जसका लागि कर्णालीका अन्य विमानस्थलको स्तरउन्नति गर्न पनि सरकारले योजना ल्याइरहेको छ।’ 

एयरपोर्ट बनाउदा भविष्य, प्रभाव र पहुँचलाई आधार बनाएर मात्र बनाउनुपर्ने उनको तर्क छ। कर्णालीमा बजेट पर्यटनमा नछुट्टाएको गुनासोप्रति संकेत गर्दै मन्त्री अधिकारीले बजेटको चिन्ता नगर्न आग्रह गरे। कतिपय बजेट भाषणमा नआएको बजेटमा हुन्छ। कति भाषणमा आएका कुरा  बजेटमा नपरेको पनि हुन सक्छ। उनले भने, ‘नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयको पहिलो प्राथमिकता कर्णाली प्रदेश नै हो।’ उनले अघि थपे, ‘त्यसमा पनि कर्णालीको पर्यटन नै हो। बजेटमा चिन्ता नलिन आग्रह छ।’ अहिले नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले बजेट बनाइरहेको भन्दै कर्णालीले बजेटको चिन्ता मान्नुपर्ने अवस्था नहुने मन्त्री अधिकारीको भनाई छ।

संघीय सरकारको योजना भएकाले नामै किटेर बजेट नआए पनि अब प्रदेश सरकारको बजेटमा किटानी भएर नै बजेट आउने उनको तर्क छ। अहिलेको सरकार कुरा भन्दा पनि रिजल्ट आउने गरी काम गर्न लागिरहेको अधिकारीको दावी छ। कार्यक्रममा पूर्व नागरिक उड्डयन तथा पर्यटनमन्त्री तथा प्रदेश सभाका सांसद  यामलाल कँडेलले प्राविधिक रुपमा जुन ठाउँमा विमानस्थल बनाउँदा राम्रो हुन्छ त्यही ठाउँमा बनाउनु पर्ने बताए। उनले कर्णालीलाई पर्यटन तथा हवाई सेवाका लागि पहिलो प्राथमिकतामा पार्नुपर्ने भएकाले पनि त्यसमा ढिला भएकोप्रति गुनासो गरे। त्यस्तै अर्का पूर्व पर्यटन मन्त्री तथा प्रदेशसभा सांसद जीवनबहादुर शाहीले कर्णालीमा अन्तर्राष्ट्रिय विमानस्थल नभएर अन्तर्राष्ट्रिय मापपदण्ड भएको विमानस्थल बनाउनतर्फ ध्यान जानुपर्ने बताए। पूर्व पाइलट समेत रहेका शाहीले सुर्खेत उपत्यकाभित्र भन्दा पनि उपत्यका बाहिर नै त्यस्तो विमानस्थल बनाउनु पर्नेमा जोड दिए।

कार्यक्रममा अन्य सहभागीले बजेटको लागत नहेरी दिर्घकालीन महत्वलाई हेरेर मात्र विमानस्थल बनाउन माग गरेका छन्। साथै राजनीतिक स्वार्थ भन्दामाथि उठेर प्रदेशको विकास र समृद्धिलाई ध्यान दिएर मात्र काम गर्न आग्रह गरेका छन्। उनीहरूले आयोजनाको डिपीआर गर्दा कोठामा बसेर नबनाउन पनि आग्रह गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.