|

धादिङ : स्थानीय गल्छी गाउँपालिकाको वडा - ६ मा पर्ने महेशदोभान नजिकै पञ्चकन्या मन्दिरको खोल्साबाट लेदो माटोसहितको पहिरो खसेपछि पृथ्वीराजमार्गमा आज बिहान अवरोध भएकामा अहिले एकतर्फी रुपमा सडक खुलाइएको छ। 

६७ जिल्लाका यात्रु आवतजावत गर्ने उक्तराजमार्गको धादिङखण्डको सो सडकमाथि अव्यवस्थित ग्रामीण सडक र बालुवा उत्खनन हुने गर्दा रातिदेखि परेको वर्षाका कारण पहिरो खसेर पृथ्वीराजमार्गमा आवागमन ठप्प हुन पुगेको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले जानकारी दिइन्। 

राजमार्गमा खसेको पहिरो स्काभेटरको सहयोगले हटाएपछि बिहानदेखि एकातर्फी रुपमा सडक खुलाइएको छ। राजमार्गमा पटक पटक पहिरो खस्दा राजमार्ग अवरुद्ध हुने गरेपछि स्थायी समाधानका लागि पहल नभएको महेशदोभान निवासी इन्दिरा भण्डारीले बताए। 

सडक अवरुद्ध हुँदा सवारी साधनमात्रै होइन सर्वसाधारणलाई समेत निकै सकस हुने गरेको छ। सडक किनारबाट पैदलयात्रा गर्न समेत नसकिने गरी लेदो माटो जम्ने भएका कारण स्थानीयवासीलाई बजारसम्म आवतजावत गर्नसमेत समस्या हुने गरेको छ। त्यसैगरी विद्यार्थी सडक छेउबाट हिँडेर विद्यालय जान र घर फर्कनसमेत नसक्ने गरी सडकमा लेदो जमेको छ। 

आवागमन ठप्प भएपछि राजधानीबाट बाहिर निस्किएका र बाहिरी जिल्लाबाट राजधानीतर्फ जाँदै गरेका सयौँ सवारी साधनबीच सडकमा रोकिँदा यात्रुको विचल्ली भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.