|

काठमाडौं : अहिले भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय पुस्‍तक प्रदर्शनी चलिरहेको छ। जेठ १८ देखि २६ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा हालसम्म पन्ध्र हजार बढीले उपस्थिति जनाएको आयोजकको दाबी छ। नेपाली प्रकाशन गृह र विदेशी प्रकाशन गृहको समन्वयकारी भूमिका होस् र नेपाली पुस्तकले पनि विदेशसम्म बजार पाऊन् भन्ने हेतुले विदेशी संस्थासँगसमेत समन्वय गरी प्रदर्शनी आयोजना गरिएको हो।

नेपालीमा बढेको पठन संस्कृतिलाई मध्यनजर गर्दै फिक्सन, ननफिक्सन, आत्मवृत्तान्त, धर्म, संस्कृति तथा बालमैत्री सामग्रीहरू प्रदर्शनीमा राखिएको आयोजक समितिका असिस्टेन्ट म्यानेजर राहुल शर्माले जानकारी दिए। अक्सफोर्ड युनिभर्सिटी प्रेस, पेन्गुइन तथा नेसनल बुक ट्रस्टलगायतका संस्थाले विभिन्न खाले पुस्तकहरू प्रदर्शनीमा राखेका छन्। ६० भन्दा धेरै संस्थाका १०० बढी स्टलमा कस्ताकस्ता पुस्तकहरू किन्न आउँछन् त?

एक पुस्तक पसलका संचालकले युवाहरूमा बढेको पठन संस्कृतिको विकासले आफू अचम्ममा परेको बताए। धेरै युवाहरू व्यावसायिकतामा आधारित पुस्तक किन्न आएको उनको अनुभव छ। 'पहिले पहिले राजनीतिक पुस्तक किन्नेको लर्को लाग्थ्यो, अहिले त्यसतर्फ युवाको आकर्षण घट्दो छ', उनले भने। अघिल्लो वर्षभन्दा यस वर्ष लगातारको वर्षाका कारण दर्शकहरूको उपस्थिति भने अलिक कम रहेको उनले बताए। तर उनको कुरा मान्न तयार छैनन् राहुल शर्मा। आन्तरिक तथा बाह्य देशको राजनीतिक वस्तुस्थितिबारे बुझ्न राजनीतिक पुस्तकको माग बढ्दो रहेको बताउँछन् उनी। प्रेमका पुस्तकहरूबारे भने अचेल युवाहरूमा खास चासो छैन भन्छन् शर्मा। प्रेममा आधारित फिल्मले प्रेमपरक पुस्तकको बजार विस्थापित गरेको अनुभव छ शर्माको।

यस्तै, नेसनल बुक्स ट्रस्ट भारतका म्यानेजर रवीन्द्र कुँवर नेपालमा युवाहरूमा पुस्तकप्रतिको चेतना वृद्धि भएको कुरालाई नकार्न सक्दैनन्। आफ्नो स्टलमा धेरैजसो युवाहरू उपन्यास र स्वास्थ्यका बारेमा लेखिएका पुस्तक किन्न आउने गरेको उनको भनाइ छ। 'देश सानो छ, जनसंख्या कम छ तर पनि पहिलेको भन्दा अहिले पुस्तक प्रदर्शनी र पठनको संस्कृति बढ्दै गएकाले आगामी दिन नेपाल पुस्तक बिक्रीका लागि आकर्षक थलो हुन सक्छ', उनी आशावादी देखिए।

साझा प्रकाशन गृहको स्टलमा भेटिएका ६० वर्षीय जयनारायण उप्रेतीले नेपालका पुराना लेखकका नामको लिष्ट नै लिएर आएका रहेछन्। उनी भन्दै थिए, 'जवानीमा जागिरे जिन्दगीले पढ्न भ्याइएन। अब रिटायर्ड जिन्दगीमा समय बिताउने माध्यमका रूपमा पुस्तक हुनाले केही पुराना पुस्तक किन्न आएको छु।' नयाँ लेखकका पनि पढ्दा हुन्छ नि भन्ने हाम्रो सुझावलाई उनले नकार्दै पहिलेका लेखकको जस्तो मौलिकपन अहिलेका लेखकमा नभएको गुनासो पोखे।

के साँच्चै पछिल्लो क्रममा निस्केका पुस्तकले पाठक सन्तुष्ट छन् त?

त्यसो त साहित्य निरन्तर परिवर्तन भइरहने कुरा हो। समाजको अनुहार साहित्यमा कतै न कतै परावर्तन हुन्छ नै, त्यसैले होला अहिले प्राय: लेखन अधिकार र स्वतन्त्रताको मूल मुद्दामा केन्द्रित छन् लेखक।

देशको राजनीतिमा अल्पसंख्यक र सीमान्तकृत समुदायको समान हक र अधिकारको जुन मुद्दा उठेको छ, त्यही कुरा साहित्यमा पनि प्रकट भइरहेको आभास हुन्छ। आंचलिकता यसैको एउटा प्रमाण हो। साहित्यमा हिजो जुन आलंकारिकता र क्लिष्टता थियो, त्यो क्रमश: संकुचन हुन् थालेको हो कि जस्तो पनि अनुभूत हुन्छ।

साहित्य आम मानिसले पढ्न र बुझ्न सक्ने हुनुपर्छ भन्ने मान्यताबाट अहिलेका लेखक अभिप्रेरित छन् जस्तो लाग्छ। यो साहित्यको वृहत र विराट स्वरूपसँग गाँसिएको कुरा थियो, जसले सहित्य मगजभन्दा हृदयको नजिक हुनुपर्छ भन्ने नजिर स्थापना गरेको छ। यो सुन्दर पक्ष सँगसँगै यसले निम्त्याएका अन्य कुरूप पाटोको पनि उत्तिकै चर्चा हुन आवश्यक छ।

अहिलेका बहुसंख्यक लेखक देवकोटा, भूपि र शंकरलाई सम्मान गर्छन् र उनीहरू पढेर नै हुर्के पनि  यिनीहरूको विश्व साहित्यबाट जति प्रभावित थियो, उत्तिकै सुन्दर पनि थियो। तात्कालिक समयका विश्वका मुलभूत मुद्दा पनि उनीहरू आफ्नो लेखनमा समेट्थे। उनीहरूको लेखन आजसम्म पनि उत्तिकै हाम्रो समाजमा फिट हुन्छ। यसको अर्थ यो हो कि उनीहरू दूरदर्शी र समयदर्शी थिए। के अहिले बजारमा चलिरहेको साहित्यको जीवन उनीहरूको जत्तिकै दीर्घआयुको छ त? के उनीहरूको जत्तिकै स्वप्नदर्शी छ त? यो महत्त्वपूर्ण प्रश्न हो। हामी सरल हुने नाममा कति सपाट र कति सस्तो हुँदै छौँ भन्ने प्रश्न अझ महत्त्वपूर्ण छ।

ललितपुरमा इन्जिनियरिङ पेसा गर्दै आएका पर्वतका प्रमिल पौडेलले पछिल्लो समयका आख्यान जाति वा सम्प्रदायका दु:खका कारुण चित्कारले भरिएको अनुभव गर्छन्। उनी भन्छन, 'यसबीचमा विज्ञान र दर्शनमा ठूलो फड्को मारिसकेको छ, के त्यो कुरा लेखिएको छ त? केही लेखक यो कुराबाट प्रभावित छन् पनि तर लेखनवृत्तमा यसको कमी नै छ। साहित्यले कथालाई मात्र लिपिबद्ध नगरी, नयाँ मान्यता निर्माण गर्न सक्नुपर्थ्यो।'

उनी थप्छन्, 'यही कमीले साहित्यले आफ्नो इज्जत र प्रतिष्ठा गुमाउँदै गएको छ। आख्यान विचारभन्दा संवेगमा बढी केन्द्रित छन्। कविता कुनै कविलाका गुनासो जस्ता मात्र प्रतीत हुन्छन्। लेखकको ठूलो हिस्सा बजार र अर्थतन्त्रले प्रभावित जस्तो देखिन्छ। 

यस्तै गुनासो पोख्छन् कीर्तिपुरमा बस्ने बर्दियाका डम्बर बिसी। पछिल्लो क्रममा हरेक लेखकले साहित्य साधनाका रूपमा उपन्यासलाई नै लिँदै आएका छन्। त्यो त्यति उपयुक्त लाग्दैन। कला विषय र शैलीको दृष्टिमा हरेक लेखकहरू कोही न कोही अग्रज लेखकको अनुहार देखिने उनको बुझाइ छ।

पछिल्लो क्रममा नेपाली साहित्यमा पाठकमा लोकप्रिय बन्नका निम्ति आँसु साहित्य लेखेकोमा उनको चित्त दुखाइ रहेको छ। हाम्रोमा धेरै युद्धका बारेमा सतही रूपमा लेखिए पनि युद्धलाई केन्द्रमा राखेर मिहिन ढंगले लेख्न हाम्रा लेखकहरू चुकेका छन्। कविता लेखनको शैली पनि आफ्नै गुटमा लेखकहरू रमाउन थालेकाले कवितामा अतिवाद देखिन थालेको छ। साहित्य लेखनको विधामा विविधता ल्याउन खोजे पनि हरेक लेखकको आफ्नो अनुहार देखाउन नसक्नु नेपाली साहित्यको दुखद पक्ष रहेको उनको बुझाइ छ।

हरेक युवाले आफ्नोपन, आफ्नो मौलिक कुरा पढ्न चाहे पनि नेपालको इतिहासका बारेमा पनि लेखनमा खास महत्त्व नदिनुले पाठकहरू निराश हुनुपरेको छ। बिसी भन्छन्, 'नेपालका जातजातिको, संस्कृतिको बारेमा खोज अनुसन्धान गरेर बजारमा ल्याउन पाए पाठकहरू खुसी हुने अवस्था आउन सक्छ। खासमा युद्धको, इतिहासको सही व्याख्या गरिएका किताब र दमित तथा सीमान्तकृत वर्गलाई महत्त्व दिएर नलेखिनु आफैँमा दुखद पक्ष हो।'

त्रिभुवन विश्वविद्यालयको तथ्याकंअनुसार हाल वर्षमा देशमा चार हजार आइएसबिएन बिक्री हुने गरेको छ। त्यसमा शिक्षालगायतका सिडीहरूमा आइएसबिएनको ट्याग   समावेश हुन्छ। यसरी हेर्दा देशमा लगभग वर्षमा दुई हजार पुस्तक प्रकाशन हुने अनुमान विश्वविद्यालयको रहेको छ। देशमा पठन संस्कृतिको विकास भए पनि किन पुस्तक बिक्री सोचेअनुरूप नभएका होलान् त? यस विषयमा आफ्नै तर्क राख्छन् भृकुटीमण्डपमा भेटिएका शब्दहार क्रिएसनका अध्यक्ष रमेश कँडेल।

कतिपयहरू पाठकले साथीभाइहरूबाट पुस्तक मागेरै पढ्ने र विशेषत: पुस्तकको समीक्षापछि मात्र पुस्तक पढ्ने नपढ्ने निर्क्योल गर्ने गरेका कारण पुस्तक बिक्रीमा कमी हुँदै आएको उनले बताए। 'अझ अचेल प्रविधिको विकासका कारण पुस्तक पढ्नभन्दा सुन्दा खर्च नहुने भएकाले पुस्तक बिक्रीमा कमी आएको बताउँदै उनले थपे, 'नेपाली पाठक बाठा भइसकेका हुनाले अब जस्तोसुकै पुस्तक प्रकाशन गरे पनि पाठकले पढिहाल्छन् भन्ने जमाना गएको छ।'

 उनले अचेल जति नै चर्चित लेखकले लेखे पनि लेखमा गुदी नभए पाठकलाई झुक्याउन नसकिने उनको भनाइ छ। 'अब लेखको 'ब्राण्ड भ्याल्यु'लाई पाठकले आँखा चिम्लेर विश्वास गर्ने अवस्था छैन', उनले भने, 'पुस्तक प्रकाशनमा प्रतिस्पर्धाको होड चलेसँगै पाठकहरूमा पनि पुस्तक छान्ने प्रवृत्ति बढेको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.