|

उदयपुर : रुखका सुकेका हाँगाबिंगा तथा काठका मुडाहरूबाट दाउरा बनाइन्छ। जुन दाउरा इन्धनको रूपमा दैनिक जीवनयापन गर्ने मुख्य माध्यम हो। प्रभावकारी अनुगमन नहुँदा त्यही दाउराको कारण उदयपुरमा वन विनास बढिरहेको छ। ग्रामीण क्षेत्रमा दाउराको विकल्पमा अन्य इन्धन प्रयोगमा नल्याउँन वन विनाश उच्च जोखिममा देखिन्छ।

सिरहा, सप्तरी र उदयपुरका निकायबीच तालमेल नहुँदा चोरी निकासी नियन्त्रण हुन सकेको छैन। जसले गर्दा चुरे क्षेत्र संरक्षणमा चुनौती देखिएको छ। महाभारत र चुरे वन क्षेत्रमा हुने चोरी तस्करीले ठूला रूख विनाश हुँदै गएपछि तल्लो क्षेत्रमा कतै मैदान, बगर बन्दै गएका छन्। चुरेको माथिल्लो क्षेत्रमा घना जंगल र तल्लो क्षेत्रको सिरहा र सप्तरीतर्फ खासै जंगल छैन। त्यसको मुख्य कारण पनि दाउरा नै हो भन्दा फरक पर्दैन।

वन क्षेत्रको अतिक्रमणसँगै दाउराको विकल्पमा अन्य इन्धन प्रयोगमा नल्याउनु र चोरी निकासी नरोकिनु वन विनाशको मुख्य कारण भएको चौदण्डी नगरपालिका २ का वडाअध्यक्ष सन्तोष सुवेदीले बताए। ‘ग्रामीण क्षेत्रमा दाउराको प्रयोग हटाउन अन्य विकल्प खोज्नुपर्छं,’ उनले भने, ‘चुरे र महाभारत क्षेत्रमा हुने चोरी तस्करी रोकिनुपर्छ।अनि मात्र वन विनाशमा कमी हुने देखिन्छ।’

उदयपुर, सिरहा र सप्तरीको भुभागका वनावट सवैभन्दा बढी चोरी तस्करी हुने गरेको छ। ‘चुरे संरक्षण गर्न सिरहा, सप्तरी र उदयपुरका सामुदायिक वन उपभोक्ता समूहको साझा धारणा आवश्यक छ,’ कटारी नगरपालिकाको स्थानीय अभिमन्यु लामिछानेले भने, ‘उदयपुर संरक्षण गरिरहने, सिरहा र सप्तरीका उपभोक्ता चोरी गर्ने भएपछि चुरे संरक्षण सम्भव छैन।’ उदयपुरका सहायक वन अधिकृत जागेश्वर साहले भने, ‘चुरेको भौगोगिक अवस्थाले संरक्षणमा समस्या भएको हो।’ चुरेमा तल (सिरहा र सप्तरी) वन स्रोतविहीन अवस्थामा छ। त्यसै क्षेत्रमा वन स्रोतको माग बढी भएकाले सम्बोधन गर्न नसक्दा चोरी तस्करी हुने गरेको छ।’

दाउरा तथा घरयासी प्रयोजनको लागि काठ सवै भन्दा धेरै चोरी तस्करी हुने गरेको छ। जाडोमा दाउराको माग बढी हुने र त्यसका लागि सिरहा र सप्तरीका सर्वसाधारण चुरे मै निर्भर हुँदै आएका छन्। ‘चुरे क्षेत्रको वन विनाशले जैविक विविधतामा असर पुगेको छ,’ त्रियुगा नदी बचाउ अभियानका अभियान्ता भरत खडकाले भने, ‘जैविक विविधताको असरले मुख्य रूपमा चुरेमा आश्रित, चुरेसँग प्रत्यक्ष एवं परोक्ष सरोकार भएका मानव बस्तीमा असर परेको छ।’ पूर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा दाउराको बजार बढ्दो छ। दाउरा बिक्रीमा अधिकांश सुकुम्बासी परिवार अाश्रित हुनु र दाउराको बढी खपतले पनि वन क्षेत्र विनाश बढेको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए। ‘दाउराको प्रयोग नघटाई वन विनाश रोकिदैन,’ उनले भने, ‘कटारी नगरले वन तथा वातारणसम्बन्धी विशेष योजना ल्याउन जरुरी देखेको छु।’

सर्वसाधारणको इन्धनको मुख्य स्रोेत दाउरा

जिल्ला वनका कार्यालय उदयपुरका प्रमुख विष्णुप्रसाद भण्डारीले जिल्लामा दाउरको ठूलो परिमाणमा खपत हुने गरेको बताए। ‘उदयपुरको सहरी क्षेत्रदेखि ग्रामीण क्षेत्रको इन्धनको मुख्य स्रोत भनेको दाउरा नै हो,’ उनले भने, ‘दैनिक कति दाउरा खपत हुन्छ भन्ने तथ्यांक हामीसँग छैन। तर दाउराको खपत कम गर्ने वेला आएको छ।’

दाउरा काट्दा धेरै डाँडाहरू ना‌ंगा बनिसकेका छन्। बजार क्षेत्रमा दाउरको बिक्री समेत हुँदै आएको छ। जिल्ला तथ्यांक कार्यालय उदयपुरका अनुसार जिल्लाको ८ स्थानीय तहमा इन्धनको मुख्य स्रोत भनेको दाउरा नै हो। वेलका नगरपालिकामा जम्मा ८ हजार ९३० घर छन्। जसमा दाउरामा प्रयोग गर्ने ८ हजार ६३४ घर रहेका छन्। जसमा बाँकीले मात्र वायोग्याँस, विजुली, मट्टितेल  लगायतका इन्धन प्रयोग गर्दै आएका छन्। यसैगरी चौदण्डीगढी नगरपालिकामा जम्मा १० हजार ५१९ घर मध्ये ९ हजार ९६५ घरधुरीले दाउरा प्रयोग गर्दै आएका छन्। बाँकीले मात्र वायोग्याँस, विजुली,मट्टितेल लगायतका इन्धन प्रयोग गर्दै आएका छन्। यता त्रियुगा नगरपालिकामा जम्मा १९ हजार ४८४ घरधुरी छन्। जसमा १५ हजार ८२२ घर दाउरा कै भरमा छन्। तीनहजर घर मात्र वायोग्याँस, विजुली, मट्टितेल लगायतका इन्धन प्रयोग गर्दै आएको तथ्यांक कार्यालयको भनाइ छ।

कटारी नगरपालिकामा कूल ११ हजार ७१७ घर मध्ये १० हजार ७२० घर दाउराको भरमा छन्। यसैगरी चार गाउँपालिकामा दाउरा नै इन्धनको मुख्य स्रोत हो। जसमा ताप्ली गाउँपालिकमा जम्मा २ हजार ७०३ घरमा ५ हजार ९४९ घरमा दाउराले जीवनयापन गरिरहेका छन्। यसैगरी रौतामाई गाउँपालिकामा ४ हजार ६६६ घरमा ४ हजार ५६० घर दाउरा कै भरमा छन्। यसैगरी लिम्चुङबुङ गाउँपालिकामा २ हजार ३३१ घर परिवार मध्ये २ हजार ९९७ घर परिवार दाउराले इन्धनको आपूर्ति गरिरहेका छन्। वनको विकल्प अर्थात थाेरै संख्यामा स्थानीय घरधुरीले मात्र  विजुली, मट्टितेल,वायोग्याँस र गोवरग्याँसको प्रयोग गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.