|

इलाम : ४७ प्रतिशत वन क्षेत्र ओगटेको इलाममा १ हजार ८ सय हेक्टर भन्दा बढी वन अतिक्रमणमा परेको छ। जिल्ला वन कार्यालयको वन अतिक्रमण नियन्त्रण कार्ययोजना, २०६९ को तथ्याङ्कमा इलामका २०३६ सालपछि हालसम्म जिल्लाका २८ भन्दा बढी स्थानहरूमा १ हजार ८२४.१७ हेक्टर वन क्षेत्र विनास गरेर बस्ती बिस्तार भएको उल्लेख गरिएको छ।

जिल्ला वन कार्यालयले अतिक्रमित क्षेत्रहरू पहिचान गरेपनि ती क्षेत्रबाट अतिक्रमण हटाउन सकेको छैन। चुरे क्षेत्र अन्तर्गतका चुलाचुली, दानावारी, महमाई, बाँझो, चिसापानी, लक्ष्मीपुर, जिर्मले, साक्फारा, कोल्बुङ, शान्तिपुर क्षेत्रमा वन क्षेत्रमा नै बस्ती छन। जसमा दानावारीका २३ सामुदायिक वनमा मात्र ७०० हेक्टर अतिक्रमणमा परेको देखिन्छ।

इलामको ३८ हजार ९२८.३० हेक्टर वन चुरे क्षेत्रमा पर्दछ। सरकारले देशभर ४० प्रतिशत वन क्षेत्र कायम राख्न वन अतिक्रमण नियन्त्रण रणनीति, २०६८ मन्त्रिपरिषदबाट स्विकृत गरी जिल्ला जिल्लालाई परिपत्र गरेको ६ वर्ष बितेपनि अतिक्रण हटाउन नसकिएको जिल्ला वन कार्यालय इलामले जनाएको छ। जिल्ला वन अधिकृत भरतबाबु श्रेष्ठले भने, ‘इलामले २०६९ सालमा नै वन अतिक्रमण नियन्त्रण कार्ययोजना बनाएपनि लागु हुन सकेको छैन।’

कतिपय अतिक्रमित क्षेत्रबाट मानव बस्ती हटाइएपनि बजार स्थापना भएको र सरकारी संरचना समेत निर्माण भइसकेकाले हटाउनका लागी समस्या भएको श्रेष्ठले बताए। उनले भने, ‘२०३५ सालअघि देखी अतिक्रमण गरी मानव बस्ती बसाइएकोले हटाउनलाई समस्या छ।’

जिल्लामा अहिले ९३ हजार ८४५ हेक्टर वन क्षेत्र रहेको कार्यालयले जानकारी दिएको छ। जसमध्ये ५२ प्रतिशत अर्थात ४९ हजार ४९.५४ हेक्टर क्षेत्र सामुदायिक वनमा दर्ता भएको बताइएको छ। ५ वर्षभित्रमा वन अतिक्रमण हटाउने वन मन्त्रालयले जिल्ला जिल्लामा परिपत्र गरेपछि इलामले २०६९ सालमा नै कार्ययोजना बनाएर मन्त्रालयमा पेश गरेको श्रेष्ठले बताए। जिल्लाको वन अतिक्रमण रोक्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वको समिति गठन गरेपनि उक्त समितिले प्रभावकारी रुपमा काम गर्न सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.