अर्थ

किसान भन्छन् : नगरपालिकाले हरियो चियापत्तीको मूल्यमा सिन्डिकेट लगायो
SHARES

जेठ २३, २०७५

    इलाम : हरियो चियापत्तीको मूल्य निर्धारणमा सूर्योदय नगरपालिकाले सिन्डिकेट लागू गरेको भन्दै किसानहरू असन्तुष्ट बनेका छन्। नगरपालिकाले किसानहरूसँग समन्वय नै नगरी ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि– २०७५’ बनाएर हरियो पत्तीको मूल्य र गुणस्तर कायम गर्ने भएपछि नगर क्षेत्रका २०० बढी किसानहरू असन्तुष्ट बनेका हुन्। 

    नगरपालिकाले गुणस्तरीय हरियो पत्ती मूल्य निर्धारण समितिको सुझावको आधार गत बैशाख २३ गते नरमपात भएको पत्तीको मूल्य ४० रुपैयाँ प्रति किलो निर्धारण गरेको थियो। समितिले बैशाख २१ गते ३७ रुपैयाँ ३१ पैसामा हरियो चियापत्ती उत्पादन हुन सक्ने सिफारिस गरेको थियो तर किसानले ४० प्रतिशत गुणस्तरको चियाको मूल्य ४० रुपैयाँ तोकिँदा मर्का पर्ने बताए। 

    नगरपालिकामा भेला भएका किसानहरूले आफूहरूसँग सुझाव नै नलिई गाउँ नगरमा सिंहदरबार नारामा सीमित गरेको आरोप लगाए। किसानहरूले ४० प्रतिशत गुणस्तरको चिया उत्पादन गरेर कारखानासम्म ल्याउँदा प्रति किलो ५५ रुपैयाँ बढी मूल्य पर्ने भएकाले नगरपालिकाले चिया किसानहरूलाई निरुत्साहित गर्न खोजेको आरोप लगाए।

    किसान एवं हरियो चिया खरिद बिक्री मध्यस्थकर्ता उमेश पोखरेलले ३० देखि ४० प्रतिशत नरम पात भएको पत्तीको मूल्य ८० रुपैयाँ कायम गर्नुपर्ने बताए। उनले भने, ‘नगरपालिकाले तोकेको गुणस्तरको चिया टिपाइ नै २५ रुपैयाँ प्रति किलो पर्छ। दैनिक ३०० रुपैयाँ कामदारलाई दिएर कसरी ४० रुपैयाँमा बेच्नु?’ उनका अनुसार सामान्यतया: एक जना कामदारले आठ किलोसम्म पत्ती टिप्न सक्छ।

    किसान डिल्ली आचार्यले नगरपालिकाले निर्धारण गरेको ४० रुपैयाँ हरियो पत्तीको मूल्यले वार्षिक २० हजार किलो चियापत्ती उत्पादन गर्ने ठूला किसानसमेत विस्थापित हुने खतरा देखिएको बताए। उनले भने, ‘विषयगत समितिको सिफारिस मूल्य ३७ रुपैयाँ र नगरपालिकाको मूल्य ४० रुपैयाँबीचको ३ रुपैयाँ अन्तरले किसानलाई जीवनयापन गर्न पुग्दैन।’ 

    गुणस्तर एवं मूल्य निर्धारण विषयगत समितिका सदस्य सचिव एवं चिया विस्तार योजना फिक्कलका प्राविधिक विवेक भण्डारीले गत असोज २६ गते छलफल आयोजना गरी किसानसँग लगत संकलन गरी निश्चित सूत्रका आधारमा ३७ रुपैयाँ ३१ पैसा नगरपालिकालाई सिफारिस गरेको बताए पनि किसानहरूले भने आफूहरूलाई गुणस्तर एवं मूल्य निर्धारणसम्बन्धमा कसैले पनि नसोधेको जानकारी दिए।

    के छ नगरपालिकाको कार्यविधिमा?

    नगरपालिकाले जारी गरेको कार्यविधिको उत्पादन मापदण्डमा ४० प्रतिशतभन्दा कम गुणस्तरको पत्ती खरिद तथा बिक्रीलाई निरुत्साहित गर्नेछ। यदि अनुगमनको क्रममा कारखानामा न्यूनतम गुणस्तरभन्दा कम गुणस्तरको पत्ती फेला परेमा समितिको निर्णयले पत्ती नष्ट गर्नेछ। 

    बैशाख-जेठमा हुने बाँझो समयमा र दशैँ, तिहारको समयको हकमा ४० प्रतिशतभन्दा कम गुणस्तरको पत्ती खरिद बिक्री गर्न नगरपालिकाको विषयगत शाखाबाट स्विकृति लिई गर्न सकिनेछ। तर त्यसको मूल्य विषयगत शाखा तथा सरोकारवालाले एक संयन्त्र बनाई निर्धारण गर्नेछ। 

    किसानहरूको समस्याको जवाफ दिँदै नगर प्रमुख रणबहादुर राईले ४० रुपैयाँ न्यूनतम मूल्य भएकाले कार्यपालिकाको बैठकमा छलफल गरेर परिमार्जन गर्न सकिने बताए। उनले किसानका विरुद्धमा नभई विश्व खाद्य संगठनको नीतिअनुसार चिया क्षेत्रलाई अर्गानिकीकरणको योजना नगरपालिकाले अगाडि सारेको बताए। उनले भने, ‘सात देशका ११ चिया खरिदकर्ताले इलामको चिया आयातमा इच्छा देखाएका छन्। चिया खेतीलाई अर्गानिकीकरणतर्फ लैजाँदै किसानहरूको समृद्धिका लागि योजना अघि बढाएका हौँ।’

नमीन ढकाल

ढकाल थाहाखबरका इलाम संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]