|

रोल्पा : बृहत् साहित्य सम्मेलन– २०७५ अन्तर्गत भएको राष्ट्रिय कविता प्रतियोगितामा लमजुङका प्रज्वल अधिकारी प्रथम भएका छन्। उनको ‘आऊ साइँला एकैछिन् भलाकुसारी गरम्’ शीर्षकको कविता प्रथम भएको हो।

उनले ३५ हजार राशिको पुरस्कार, स्वर्ण पदक र प्रमाणपत्र हात पारे। यस्तै अछामका लक्ष्मण संगम द्वितीय र सिन्धुपाल्चोकका सुरेश अधिकारी ‘फकिर’ तृतीय भए। उनीहरूले क्रमशः २५ हजार, २० हजार रुपैयाँ पाए। सोलुखुम्बुका गणेशप्रसाद खतिवडा र काठमाडौंका अमि प्रिन्सले सान्त्वना पुरस्कार हात पारे। दुवैले १०\१० हजार रुपैयाँ प्राप्त गरे।

रोल्पा नगरपालिकाले आयोजना गरेको सम्मेलनमा प्रा. केशव सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ उत्तमकृष्ण मजगैयाँ र प्रज्ञासभा सदस्य वियोगी बुढाथोकीको निर्णायक मण्डल थियो।

१५४ कवि, प्रतिस्पर्धामा १५ कविता

प्रतियोगितामादेशभरका ५२ जिल्लाबाट १५४ कविले भाग लिएका थिए। अन्तिम प्रतिस्पर्धाका लागि १५ कविता छानिएका थिए। ‘सुरुदेखि अन्तिमसम्म तीनजनाले निर्णय गर्नुभएको थियो’, मूल आयोजक समितिका संयोजक डी.बी. टुहुरोले भने, ‘उहाँहरुले आफूबाहेक अर्को निर्णायक को छ, भन्ने समेत अन्तिममा मात्र थाहा पाउनुभयो।’  विभिन्न प्रतियोगिता विवादित बनिरहेको सन्दर्भमा त्यस्तो नहोस् भन्नलाई कोड नम्बरको आधारमा निर्णय गरिएको टुहुरोले स्पष्ट पारे। 

धुमधाम वाचन र शान्त बहस

२० जेठदेखि तीनदिनसम्म सञ्चालन भएको बृहत् साहित्य सम्मेलनमा विभिन्न श्रृंखलाबद्ध कार्यक्रम आयोजना गरिएका थिए। तीमध्ये सात प्रदेशका सात कविका कविताहरुले दर्शकको वाहवाही पाए। लिबाङको खुलामञ्चमा निकै तामझामसहित गरिएको कविता वाचनमा प्रोल्लास सिन्धुलियाले कविताकै लयमा सहजीकरण गर्दा गरे भने सात कविले उठान गरे। प्रदेश १ बाट ज्योति जङ्गल, प्रदेश २ बाट रोषण जनकपुरी, प्रदेश ३ बाट हेम प्रभास, प्रदेश ४ बाट भूपिन, प्रदेश ५ बाट नवीन अभिलाषी, ६ बाट केशव देवकोटा र प्रदेश ७ बाट केवल विनाबीले कविता सुनाएका थिए।

त्यसलगतै गरिएको गजल महफिलमा गजलकार बाबु त्रिपाठीको सहजीकरणमा संगीता थापा, कपिल अञ्जान, विपिन सलामी, हुकुम धड्कन र महेन्द्र चन्द ‘महासागर’ले पाँच\पाँचवटा गजल प्रस्तुत गरे। अनु अधिकारीले गजल गाइन्।

दसवर्षे जनयुद्धको उद्गमस्थलको रूपमा चिनिने रोल्पामा ‘युद्ध साहित्यः विकास, बहस र परिणाम’मा कथाकार नवीन विभास, कवि यज्ञबहादुर डाँगी र कथाकार क्षितिज मगरले बहस गरे। वीरेन्द्र शाहीले सहजीकरण गरे। बहसमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीसमेत सहभागी थिए।

साहित्य सम्मेलनमा मन्त्री पुन, पूर्वसभामुख घर्ती र प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्मालगायत सहभागी थिए। ‘पर्यटनका लागि साहित्य’ भन्ने नारासहित आयोजना गरिएको सम्मेलनले साहित्यको माध्यमबाट रोल्पाको पर्यटन प्रवर्धन अपेक्षा गरिएको नगरप्रमुख पूर्ण केसीले बताए। सम्मेलन रोल्पाको माडीचौर, गुरुङगाउँ, लिबाङ र सातदोबाटोमा गरिएको थियो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.