|

सुर्खेत : साइकलको पछिल्लो सिटमा नेपालको झण्डा, साइकल चलाउने व्यक्तिलाई झट्ट हेर्दा विदेशी नागरिकजस्तो देखिने। उनीसँग न कुनै डर न कुनै चिन्ता नै छ। बस् छ त आँट छ अनि साहस छ। मनमा उत्साह, उमंगले भरिएका त्यही व्यक्ति हुने यामलाल रसाइली।

४० वर्षीय यामलालको चार वर्षको हुँदा दायाँ खुट्टा भाँच्चियो। समयमै अस्पताल नलगी घरेलु उपचार गर्दा उनको खुट्टा काम नलाग्ने भयो। त्यसैले डाक्टरको सल्लाहमा काटिएको थियो। उनै यामलाल एक खुट्टाले मात्र साइकल चलाएर मुगुको रारा ताल पुगेका छन्।

‘मृत्युमार्ग’ भनेर चिनिने कर्णाली राजमार्गमा साइकल यात्रा गर्नु आफैंमा अपत्यारिलो झै लाग्छ। त्यसमा झन् एक खुट्टा मात्र भएकाले व्यक्तिले साइकल पुग्नु असम्भव नै लाग्छ। तर, तर इच्छा शक्ति र साहसका खानी यामलाल विभिन्न चुनौतीलाई छिचोल्दै अन्तत कैलालीबाट रारा पुगेका छन्।

नेपालमा कसैले विकट शब्दको उच्चारण मात्र गर्‍यो भने पनि प्रायःको मस्तिष्कमा कर्णालीको तस्वीर खेल्न थाल्छ, जो कहिल्यै कर्णालीमा पुगेको किन नहोस्। कर्णाली नपुगेको मान्छेले पनि रोग, भोक, अभाव र अशिक्षाले ग्रस्त मान्छेको चित्र दिमागमा सजिलै बनाउँछन्। किनकि, लामो समयदेखि कर्णालीलाई त्यसरी नै चित्रित गरिँदै आइएको छ।

तर, कर्णालीको खास परिचय त्यो होइन। कर्णाली त प्रकृतिले सिँगारेको सुन्दर स्थान हो। नेपालको सबैभन्दा ठूलो रारा ताल यहीं छ। स्वर्गकी अप्सराका रुपमा परिचित रारा ताल घुम्ने रहर प्रायः सबैको मनमा छ। तर सबैको चिन्ताको विषय हो रारासम्म कसरी पुग्ने? इच्छा गर्नुहोस् रारा पुग्न सकिन्छ। यसलाई प्रमाणित गरिदिएका छन् कैलाली लम्कीचुहा नगरपालिका–१ का यमलालले। 

यामलला लम्कीबाट १३ दिनमा रारा पुगेका छन्। उनले जेठ ४ गते लम्कीबाट साइकल सुरु गरेका थिए। गत शुक्रबार साँझ नौ बजे साइकल चलाएरै रारा पुगेपछि रसाइलीले टेलिफोनमा कुरा गर्दै आफू निकै हर्षित भएको बताए। ‘एउटै खुट्टाले साइकल चलाएर रारा पुग्न कम चुनौती थिएन,’ उनले भने, ‘रारा पुग्दा निकै खुशी भएको छु, अपांगता भएका व्यक्तिले पनि केही गर्न सक्छौँ भन्ने साहस बढेको छ।’ 

अपांगता भएका व्यक्तिले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिन आफूले एकल साइकल यात्रा गरेको रसाइलीले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले राराबाट विद्यालय भर्ना अभियान सुरु गर्ने क्रममा अपांगता भएका पुन्नबहादुर कुलाललाई विद्यालय भर्ना नगरेको समाचार पढेछि रारा जाने सुर कसेका यामलालले कुलाललाई रारा पुगेर नै भेटेका छन्। कुलाललाई विद्यालय भर्नाका लागि आफूले पहल गर्ने साइकल यात्री रसाइलीले बताए। यसका लागि सहयोग गर्न आग्रह उनले सबैमा गरेका छन्। 

यामलालले २१ वर्षदेखि साइकल यात्रा गरिरहेका छन्। अहिलेसम्म नेपालको ३८ जिल्ला साइकलबाटै भ्रमण गरिसकेका उनले एक दिनमा २०० किलोमिटरसम्म यात्रा गरेका छन्। उनले २०५९ मा महाकालीदेखि मेचीसम्मको साइकल यात्रा समेत गरेका छन्।

रारा पर्यटन वर्ष मनाइरहेको कर्णाली प्रदेश सरकारले रसाइलीको साइकल यात्राले रारा जाने बाटोबारे आम नागरिकमा रहेको गलत धारण हट्ने विश्वास लिएको छ। मृत्युमार्ग भनेर चिनिएको कर्णाली राजमार्गमा त्यस्तो छैन भन्ने सन्देश यामलालको साइकल यात्राले दिएको छ।

रारा यात्राका क्रममा यामलालले रोमाञ्चक अनुभव सँगालेका छन्। यात्राका क्रममा बाटोमा आफुजस्तै अपांगता भएका साथीहरु भेट्दा उत्साह जागेको र अवसर पाए आपांगता भएका व्यक्तिले पनि सबै काम गर्न सक्छन भन्ने विश्वास जागेको उनले बताए। 

रारा भ्रमणमा जानेका लागि बाटो कस्तो छ, कहाँ कुन ठाउँ पर्छ, कति दूरीमा छ, कति उचाइमा जस्ता जानकारी नभएको यामलाल बताउँछन्। ‘रारा रूपमा जाने वातावरणको छैन,’ उनले भने, ‘प्रदेश सरकारले सहज यात्रा गर्नका लागि पूर्वाधारको विकासमा जोड दिनुपर्छ।’ तर, प्रचार गरिएजस्तो सडक नराम्रो भएको उनले बताउ। उनले भने, ‘नत्र एक खुट्टाले साइकल चलाएर म कसरी पुग्थें र।’ 

प्राकृतिक रुपमा स्वर्गको उपमा पाएको रारामा फोहोर जम्मा थालेको भन्दै यामलालले चिन्ता पनि व्यक्त गरे। उनले भने ‘रारा ताल वरिपरि बोत्तल र प्लाष्टिकका बोत्तल र अन्य फोहर जम्मा भइसकेका छन्। यसलाई बेलैमा व्यवस्थापन गर्न जरुरी छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.