|

काठमाडौं: जतिबेला एउटा महान तर सन्काहा खेलाडीको उदय भयो, हो त्यतिबेलादेखि नै नेपालमा फिफा विश्व कपको प्रसिद्धि चुलिन सुरु भयो। सन् १९८६ को त्यही विश्व कपको आयोजनाभन्दा केही वर्षअघि मात्र सुरु भएको नेपाल टेलिभिजन समेत नेपालमा त्यो प्रतियोगिताको लोकप्रियता बढाउन सहायक बन्यो।

त्यो समयमा कि एन्टेना घुमाउँदै बल्लतल्ल हेर्न पाउने भारतीय टेलिभिजन च्यानल दुरदर्शन कि नेपाल टेलिभिजन मात्र थिए। प्राविधिक कारणवस नेपाल टेलिभिजनले खेल तालिकाभन्दा आधा घण्टा ढिलो गरेर प्रसारण गरेको विश्व कपमा नेपाली मोहित भए। त्यही विश्व कपबाट डियगो अरमान्डो म्याराडोना महान खेलाडी बनेर मात्र चम्किएनन्, उनको मुलुकले विश्व कप समेत जित्यो। सम्भवत म्याराडोनाकै जादुको प्रभाव होला, नेपालमा धेरै समर्थक त्यही मुलुकका भेटिन्छन्। समयले पारेको प्रभाव थियो, त्यो।

त्यो विश्व कपपछि न अर्जेन्टिनाले अर्को विश्व कप जित्न सक्यो, नत म्याराडोनाले अाफूलाई सम्हाल्न नै सके। हो, त्यसको ४ वर्षपछि उनकै जादुमय खेलका कारण फेरी एक पटक अर्जेन्टिना फाइनलमा पुग्यो तर उपाधि जित्न असफल बन्यो। म्याराडोनाले जसरी अर्जेन्टिनालाई विश्व कप विजेता बनाए, त्यसरी नै सारा विश्वका समर्थकको मायालाई भने उनले पचाउन सकेनन्। घमण्डी, सन्काहा म्याराडोना लागू औषधको कुलतमा पनि फसे। प्रतिबन्धमा परे। स्टारडम खस्कँदै जाँदा म्याराडोना नशामा रमाउन थाले। एउटा लोभलाग्दो जीवन, दुखान्त कथाका पात्र बन्न पुगे। अर्को अर्थमा उनले एउटा महान खेलाडीको अवसान गराए। तरपनि, उनको जादुलाई विश्वले बिर्सन सकेन माया दिइ नै रह्यो। 

हो, म्याराडोनाको उदय कै समयमा नेपालमा पनि एउटा फुच्चे म्याराडोना उदाउँदै थिए। म्याराडोना झैं लामो र घुम्रिएको कपाल पालेका ति ठिटाको जादुमय खेलमा दशरथ रंगशाला झुम्न थालिसकेको थियो। कसैले उनलाई ‘म्याराडोना’ जस्तै भनिदिंदा गर्व पनि गर्थे। उनको खेल शैली मात्र होइन जीवन नै केही हदसम्म म्याराडोनाबाटै प्रभावित पनि थियो। यसैले पनि हुनसक्ला चाँडै नै उनले पनि नेपाली फुटबल समर्थकको मनमा राज गरे। तर, खेलाडीपछिको उनको जीवन पनि केही हदसम्म म्याराडोनापथ तिरै लाग्यो। जसरी म्याराडोनाले साथ छाडेको ‘स्टारडम’ लाई बिर्सन नशाको सहारा लिए, उनले पनि त्यही बाटो अंगाले।

हो, नत्र मात्र ५१ वर्षकै उमेरमा मणिविक्रम शाहले कालको सामु घुँडा टेक्न पर्दैन्थ्यो। जीवनमा खेल्न मात्र जानेका धेरै खेलाडीहरु यस्तै अवस्थामा पुग्ने अध्ययनहरुको समेत निश्कर्ष छ। मैदानमा पाउने तालीको भोकले खेलाडीलाई कहिल्यै पिछा छाड्दैन। म्याराडोना र मणि पनि तिभन्दा फरक वा महान पात्र बन्न सकेनन्। खेलाडीको जीवन आफ्नोभन्दा पनि समर्थकका लागि हुन्छ भन्ने हेक्का समेत राख्न सकेनन्।

खेलाडीपछिको जीवनमा म्याराडोनाले प्रशिक्षक बन्ने प्रयास गरे, सधैं असफल भए। मणिलाई पनि राखेपले सहायक प्रशिक्षकको जागिर दिएको थियो। तर, त्यो नोकरीमा उनी रमाउन सकेनन्। कुनैबेला राष्ट्रको शानलाई काँधमा बोकेका खेलाडीका लागि दिइएको त्यो तुच्छ उपहार मणिका लागि निल्नु न ओकल्नु बराबर नै थियो। राज्यले उनीप्रति गरेको दुव्र्यवहारको त्यो पराकाष्ठा थियो।

त्यसले पनि उनलाई निरास बनायो। अनि उनी मैदानमा रमाउन छाडे। अनि मणिले होटल व्यवसायमा पनि हात हाले, असफल बने। त्यही असफलता र गुमेको स्टारडमले मणिलाई सधैं पिरल्यो। उनी त्यो विगतको संसारबाट बाहिर निस्कन सकेनन्। विकल्पमा केही नभेटेपछि उनले नशालाई रोजे। त्यही उनको कमजोरी बन्यो। अल्पायु मै कालगतिको शिकार बन्ने कारण बन्यो। हुनत म्याराडोना पनि कुनैबेला कुलतकै कारण भेन्टिलेटरमा समेत राख्नुपर्ने अवस्थामा पुगे।

सम्भवतः उनी भाग्यमानी रहेछन्, मणिको तुलनामा। मृत्युलाई जित्न सके। तरपनि, उनको ट्रेडमार्क, त्यो घमण्डि स्वभाव अहिले पनि यथावत् नै छ। जसरी स्वाभिमानका खातिर मणि पनि घमण्डि बन्थ्ये। कसैसँग झुक्नु उनको मानको खिलाफ थियो। कसैका सामु हात फैलाउनु स्वाभिमान विपरित। तर, मान्नैपर्छ। उनी जति बाँचे स्वाभिमानका साथ बाँचे। जसरी अहिले पनि म्याराडोना बाँचिरेहका छन्।

म्याराडोनाको प्रशिक्षकत्वमा अर्जेन्टिनाले सन् २०१० मा विश्व कप जित्न सक्थ्यो। तर, त्यहाँ पनि उनकै घमण्ड अनि सन्काहा निर्णयले अर्जेन्टिनालाई फेरी एक पटक डुबायो, विश्व कपमा। तरपनि, उनले आपूmलाई कहिल्यै कमजोर मानेनन्। आपूmलाई महान भन्न पनि कहिल्यै छुटाएनन्। न पत्रकार पिट्न छाडे, नत समर्थक। त्यही पनि मायाका मामिलामा धनी नै रहे। सबैले उनलाई माया गरिरहे। त्यही म्याराडोनाकै कारण नेपालमा अर्जेन्टिनी टोली लोकप्रिय बनिरह्यो। 

अर्जेन्टिनाले सन् १९८६ को विश्व कप जित्नुभन्दा ७ वर्षअघि सम्पन्न फकल्यान्ड युद्धमा उसको हारको कारण बनेका गोर्खालीहरु त्यो मुलुकमा कति चिनिएलान्, वा कति घृणाको पात्र होलान्। त्यो भोगाइको अर्को पाटो होला। तर, अब विश्व कप अवधिमा सेतो र आकासे नीलो धर्के जर्सीमा सजिने नेपालीहरुले भने अवश्य यो विश्व कपलाई फेरी एक पटक रंगीन बनाउने छन्। अर्जेन्टिनाबाट फकल्यान्ड खोस्ने गोर्खालीले उसलाई खुशी बनाउने यो नै उचित माध्यम बन्यो पनि।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.