|

धनकुटा : संखुवासभाको खादँबारीमा रहेको सशस्त्र प्रहरीको अरुण गुल्मले ट्रकमा गैरकानुनी तरिकाले सखुवाको काठ तस्करी गरेको पाइएको छ। गुल्मको बा १ झ १६६९ नम्बरको ट्रकमा राखेर गैरकानुनी तरिकाले लाँदै गर्दा गत सोमबार राति धनकुटाको मूलघाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि यो तथ्य बाहिर आएको हो। 

संखुवासभाबाट सुनसरीको धरानतर्फ काठ लाने क्रममा ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी मूलघाटका इन्चार्ज प्रहरी निरीक्षक दुर्गा भट्टले जानकारी दिए। राति करिब ८ बजे मूलघाटस्थित तमोर नदीको पुल नजिक रहेको सशस्त्र प्रहरी छिन्ताङ गुल्मको चेक पोस्टमा ट्रक जाँच्ने क्रममा अवैध रूपमा करिब सय क्युबिक फिट सखुवाको काठ फेला परेको थियो। 

सशस्त्र चेक पोस्टको करिब ५०० मिटर दूरीमा रहेको नेपाल प्रहरीको चेक पोस्टमा ट्रक रोक्न खोज्दा जबरजस्ती उक्त ट्रकअघि बढाएपछि नियन्त्रणमा लिइएको थियो। ‘काठ कहाँ लगिएको भन्नेबारे स्पष्ट भएको छैन,’ उनले भने, ‘माथिल्लो ठाउँमा जानकारी गराएको छु जे अनुसन्धान गर्छ, उत्तैबाट हुनेछ।’ 

यसैबीच मूलघाट सशस्त्रले नियन्त्रण लिएको घटनाबारे मध्यराति नै पकलीस्थित सशस्त्रको बाहिनीबाट प्रहरी नायव निरीक्षक डम्बर विष्टको नेतृत्वको टोली छानबिनका लागि आएको थियो। घटनाबारे छानबिन समिति गठन गरेर घटनामा संलग्न रहेका अरुण गुल्मका प्रहरी नायब उपरीक्षक रामप्रसाद भण्डारीलाई सशस्त्र प्रहरी बल पूर्व बाहिनी पकली सुनसरीले नियन्त्रणमा लिएको छ।

कुन उद्देश्यले काठ लगिएको हो र दोषी को हो भन्ने विषयमा सवारी र घटनामा संलग्न प्रहरी नायब उपरीक्षक भण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको सशस्त्र प्रहरी बल पूर्व बाहिनी पकलीका प्रहरी उपरीक्षक गुणखर खनालले बताए। उनले छानबिनबाट दोषी देखिनेलाई कारबाही  गर्ने दाबी गरे। 

यता बरामद गरिएका काठ हाल मूलघाटस्थित सशस्त्र प्रहरीको कार्यालयमा राखिएको छ भने ट्रकलाई पकलीस्थित वाहिनीमा लगिएको छ। संखुवासभाको आहाले सिस्ने सामुदायिक वनको अनुमतीमा उक्त काठ निकासी भएको भनिए पनि उपभोक्ता महासंघले सशस्त्रको भवन बनाउन ५० क्युविक फिट चिलाउने जातको काठ मात्र दिने सहमती भएको जनाएकोे छ। ट्रकमा भेटिएको उक्त सखुवाको काठको बजार मुल्य करिब सात लाख रुपैयाँ रहेको सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ संखुवासभाका अध्यक्ष बद्री साप्कोटाले जानकारी दिए। 

सशस्त्र प्रहरीले अवैध काठ नियन्त्रणमा लिएको भनिए पनि बरामद गरिएको काठबारे जिल्ला वन कार्यालयलाई हालसम्म जानकारी गराइएको छैन। घटनाबारे आफूलाई कुनै जानकारी नभएको जिल्ला वन अधिकृत कृष्णप्रसाद वस्तीले बताए।

कुनै पनि काठ तथा वन्यजन्तु वा वनस्पति नियन्त्रण तथा बरामद हुँदा वन कार्यालयलाई जानकारी दिनुपर्ने उनको भनाइ छ। यस्तै सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष राजेन्द्र खडकाले संखुवासभाबाट काठ अवैध रूपमा ल्याइएकाले जिल्ला वन कार्यालयमार्फत छानबिन हुनुपर्ने बताए। 

संखुवासभादेखि धनकुटासम्म पुग्दा सयौं स्थानमा रहेका प्रहरी चेक पोस्ट पार गराएर काठ ल्याइएको मुलघाट आइपुगेको हो भने संखुवासभा, तेह्रथुम, भोजपुर लगाएतका स्थानबाट आएको काठ धनकुटाको कागते रेञ्जपोष्टमा जाँच भएर मात्र जाने गर्दछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.