|

काठमाडौं : साहित्यकार तथा पत्रकार सुविद गुरागाईंको गजलकृति 'जूनको आगो'माथि बुधबार काठमाडौंमा अन्तर्क्रिया सम्पन्न भएको छ। थापागाउँस्थित लेखनकुञ्जमा आयोजित कार्यक्रममा सुविदका केही गजल गाइएको पनि थियो।

लामो समयदेखि पत्रकारिता र साहित्य लेखनमा सक्रिय गुरागाईंको गजलकारिताबारे बोल्दै अफ्रिका नेपाल साहित्य समाजका हिक्मत थापाले सुविद पहिल्यैदेखि सिर्जनशील व्यक्ति भए पनि कृति प्रकाशनमा त्यति रुचि नराखेको बताए। १० वर्षअघि नै प्रकाशन गर्ने सोच भए पनि यो कृति विविध कारणले अहिले प्रकाशन भएको उनको भनाइ थियो।

समालोचक डम्बर खतिवडाले सुविदका सिर्जना र स्वभावबारे बोलेका थिए। खतिवडाले सुविद निडर र हक्को पत्रकार पनि भएको भन्दै उनका रचनामा पनि त्यो गुण देख्न सकिने बताए। कवि, समालोचक घनेन्द्र अोझाले वर्तमानमा लेखिइरहेका र विगतमा लेखिएका गजल भनिएका रचना खास गजल बन्न नसकेकाले अग्रज, समकालीन र नवगजलकारले समेत अब गजल परिस्कारमा ध्यान दिनुपर्ने बताए। भाव र शिल्प पक्ष सशक्त भए पनि सुविदका रचनामा पनि गजलीय गुणको अन्य गजलकारका गजलमा जस्तै कमी भएकाे अोझाको भनाइ थियो।

गैरआवासीय नेपाली स‌ंघका पूर्वअध्यक्ष साहित्यकार जीवा लामिछानेले नेपाली गजलप्रति आफू मोहित भएको बताए। नेपाली साहित्यमा धेरै गजल लेखिइरहेको भन्दै लामिछानेले सुविदका गजल पनि सुन्दर र सशक्त रहेका धारणा राखे।

गजलकार ज्ञानुवाकर पौडेलले साहित्यका विधाहरूमा केही परिवर्तन गर्ने साहस पनि सर्जकले गर्नुपर्ने बताउँदै सुविदको लेखनीलाई शुभकामना दिए। समालोचक तथा गजलकार डा. घनश्याम परिश्रमीले अढाई दशकदेखि सुविदका गजल पढ्दै आए पनि कृतिगत रूपमा भने सुविदले नेपाली गजल साहित्यमा ढिलो उपस्थिति जनाएको धारणा राखे।

पत्रकार, कवि तथा गजलकार स्वागत नेपालले सहजीकरण गरेको कार्यक्रममा सन्तोष खरेल र गोपाल अधिकारीले सुविदका गजल गाएका थिए भने गजलकार जय गौडेलले जूनको आगो कृतिबाट एउटा गजल वाचन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.