|

अमेरिकी पूर्वराष्ट्रपति विल क्लिन्टनले २० वर्षअघि आफू पागल भएको खुलासा गरेका छन्। एक साक्षात्कारकाक्रममा पूर्वराष्ट्रपति विल क्लिन्टनले २० वर्षअघिको कुराले आफूलाई निक्कै पीडा दिएको बताएका छन्।

बुधबार बिहान प्रसारित एनबीसीको एक साक्षात्कार ‘द लेट शो’मा क्लिन्टन द प्रेसिडेन्ट मिसिङ उपन्यासमा जेम्स पट्नसनसँग प्रचारमा देखिएका थिए। उक्त कार्यक्रममा एनबीसीका क्रेग मेलिभनले क्लिन्टनलाई मोनिका लेविन्सकीसँगको सम्बन्धबारे सोधेको प्रश्नको उत्तरमा क्लिन्टनले भने, ‘मैले गरेको त्यो घटना अहिले पनि पीडादायी र बिर्सनलायक छ, तर त्यो घटनामा दुई तिहाइ अमेरिकीले मेरो साथ दिए, त्यही साथका कारण अहिले म राम्रो काम गर्न लागिरहेको छु।’

उनले भने, 'मैले लिवेन्सकीसँग व्यक्तिगत रुपमा कहिल्यै पनि माफी मागिन। म त्यो होइन। तर मैले सारा अमेरिकीको भावनमा चोट पुग्न सक्छ भन्दै माफी मागें। त्यो समय मेरा लागि उपयुक्त थिएन। अत्यन्त पीडादायी क्षण थियो। मेरो परिवार मेरोविरुद्ध रह्यो र मैले सारा अमेरिकीसामु क्षमा माग्नै पर्ने थियो।' साक्षात्कारमा बोल्दै क्लिन्टलने भने, 'यो कुरा मैले भावी पुस्तालाई बताउनु पर्ने नै थियो।' त्यसपछि उनले २० वर्षअघिको कुरा बताउन चाहेको खुलाए। 

सन् १९९५ देखि सन् १९९६ सम्म अमेरिकी राष्ट्रपति विल क्लिन्टनले ह्वाइट हाउसकी कर्मचारी मोनिका लेविन्स्कीसँग यौन सम्बन्ध राखेको स्वीकार गरेका थिए। २१ वर्षकी मोनिका लेविन्स्की जुन १९९५ मा इन्टर्नका रुपमा ह्वाइट हाउस छिरेकी थिइन्। सोही वर्षको नोभेम्बरमा लेविन्स्की र क्लिन्टनबीच अवैध शारीरिक सम्बन्ध बन्यो। डिसेम्बरमा लेविन्स्की कंग्रेस सदस्यका चिठीपत्र हेर्ने स्थानमा तलबी कामदारका रुपमा नियुक्त भइन्। १९९६ को अप्रिलमा उनलाई ‘अनुपयुक्त र अपरिपक्व’ व्यवहार प्रदर्शन गरेको आरोपमा पेन्टागन सरुवा गरियो।

१९९६ मा लेविन्स्कीले ह्वाइट हाउसमा क्लिन्टनसँगको सम्पूर्ण कहानी आफूसँगै काम गर्ने लिन्डा ट्रिपलाई सुनाइन्। ट्रिपले सो कुरा रेकर्ड गरिन्। यसअघि नै क्लिन्टन पाउला जोन्स केसमा मुछिइसकेका थिए। जब लेविन्स्कीले क्लिन्टनसँग कुनै शारीरिक सम्बन्ध काम नभएको बयान दिइन्, ट्रिपले सो रेकर्ड गरिएको टेपबारे स्वतन्त्र वकिल केन स्टारलाई दिइन्। त्यसपछि यो केस अदालत र एफबीआईको हातमा पुग्यो। सन् १९९८ को जनवरी महिनापछि मिडियामा क्लिन्टन–लेविन्स्की काण्डले रंगियो। र, उनलाई महाअभियोग लगाइयो। यद्यपि, सिनेटले क्लिन्टनलाई उन्मुक्ति दियो। लेविन्स्की काण्डको दुई दशक बित्न लाग्दा पनि विल क्लिन्टनलाई सो घटनाले अझै पच्छ्याइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.