'खेलकुद क्षेत्रमा हुने अनियमितता पूर्णरूपमा रोकेका छौँ'

|

काठमाडौं : सिंहदरबारस्थित युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार 'विश्वकर्मा'को कार्यकक्षमा पुग्दा उनलाई भेट्नेहरूको भीड थियो। युवाका क्षेत्रमा काम गर्ने र खेलकुदमा लागेका व्यक्तिका साथै प्रतिनिधिसभाका सदस्य पनि मन्त्रीलाई भेट्न प्रतीक्षामा थिए। मन्त्री भने भित्र कार्यकक्षमा सबैलाई पालैपालो गरी भेटिरहेका थिए। नेपाल कम्युनिस्ट पार्टीका नेता एवं सांसद तथा पूर्वउपप्रधानमन्त्रीसमेत रहिसकेका टोपबहादुर रायमाझी र नेकपाका नेता एवं सांसद पार्वत गुरुङलगायत खेलकुदमन्त्रीलाई भेट्न पुगेका थिए। उनीहरूले खेलकुद र खेल मैदानबारे कुरा गरेर फर्किए।

हामी कुराकानीका लागि पर्खिरहेकै बेला एक युवा भने राष्ट्रिय खेलकुद परिषदमा जागिरका लागि तोक लगाइमाग्न पुगेका थिए। करातेका खेलाडी बताउने उनलाई मन्त्री विश्वकर्माले आफू मन्त्रालयमा रहुन्जेलसम्म कसैलाई पनि तोक लगाएर जागिर नलगाउने बताइँरहदा ती युवा नेकपाका एक शीर्ष तहका नेतालाई फोन गरेर मन्त्रीसँग कुरा गर्न लगाइरहेका थिए। तैपनि मन्त्रीले ती युवाको फाइलमा तोक लगाइदिएनन्। उनले आफ्नो कार्यकक्षबाट राखेपमा रहेका उच्च अधिकृतलाई फोन गरेर कसैलाई पनि तोक लगाएर जागिरमा नलगाउन निर्देशन दिए। उनले राखेपमा नयाँ नियुक्ति गर्नुपहिले आफूलाई जानकारी दिनसमेत निर्देशन दिएका थिए। 

तत्कालीन नेकपा एमालेका नेता विश्वकर्मा वाम गठबन्धनबाट कास्की निर्वाचन क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभामा विजयी भएका हुन्। उनी पहिलोपटक सांसदमा निर्वाचित भएर मन्त्रीसमेत नियुक्त भए। देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलक्षेत्रमा देखिएको व्यापक अराजकतालाई अन्त्य गर्ने र युवाहरूलाई विदेश जानबाट रोकेर देश सेवामा लगाउने जिम्मेवारीमा रहेका विश्वकर्मासँग सिंहदरबारमा भइरहेका अनुभवसहित नेपाली खेल र युवाका लागि के काम गर्नुहुन्छ भन्ने प्रश्न गरेका थियौँ। 

प्रस्तुत छ थाहाखबरका लागि जयसिंह महरा, देविका घर्ती मगर र कृष्णसिंह लोथ्यालले युवा तथा खेलकुदमन्त्री  जगतबहादुर सुनार 'विश्वकर्मा'सँग गरेको कुराकानी :

मन्त्रालयमा  भेट्नेको भीड लागेको छ, उहाँहरू के अपेक्षा लिएर आउनुहुन्छ र तपाईंलाई कस्तो महसुस हुन्छ?

सोझै मन्त्री भएको भए असजिलो, गाह्रो अप्ठ्यारो त लाग्थ्यो होला। म सानै उमेरदेखि सामाजिक, राजनीतिक रूपान्तरणको आन्दोलनमा लागेको मान्छे। म २२ वर्षको उमेरमै गाउँ विकास समिति उपाध्यक्ष पदमा निर्वाचित भएर जनप्रतिनिधिको भूमिका निर्वाह गरिसकेको हुँ। त्यसको नाताले पनि यी कुरा असजिलो लाग्ने कुरा भएन। बरु मान्छेहरू भएनन् भने कहाँ गल्ती भयो, कहाँ कमजोरी भयो भन्नेतिर पो मन जान्छ। 

राखेपमा तोक आदेशमा करार, जागिर नियुक्ति लिने प्रचलन थियो। खासगरी संघीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक पद्धति स्थापित भइसकेपछि पनि यस्ता घटनाहरू खेल क्षेत्रमा थिए। राष्ट्रिय खेलकुद परिषदमा अहिले पनि यस्ता समस्या विद्यमान छन्। हामी आइसकेपछि हामीले त्यसलाई पूर्णरूपमा रोकेका छौँ। 

हाम्रो मन्त्रालयको प्रकृतिअनुरूपकै माग, आशाहरू हुन्छन्। हाम्रो मन्त्रालय खेलकुदसँग सम्बन्धित खेलकुदका संरचनाहरू, खेलमैदान, रंगशाला, कभर्ड हल बनाउनेबारे सरोकार हुन्छन्। कतिपय सन्दर्भमा यहाँबाट हुने सम्भावित नियुक्तिका कुराहरू पनि हुन्छन्। खेलकुद क्षेत्रको कुरा गर्दा यहाँहरू सबैलाई थाहै छ विगतमा अलिअलि केही विकृत पनि भएको अवस्था थियो। जो निर्णय गर्ने ठाउँमा हुनेहरूबाट निवदेनमा तोक लगाएर तोक आदेशमा करार, जागिर नियुक्ति लिने प्रचलन थियो। खासगरी संघीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक पद्धति स्थापित भइसकेपछि पनि यस्ता घटनाहरू खेल क्षेत्रमा थिए। राष्ट्रिय खेलकुद परिषदमा अहिले पनि यस्ता समस्या विद्यमान छन्। हामी आइसकेपछि हामीले त्यसलाई पूर्णरूपमा रोकेका छौँ। 

तपाईंबाट केही न केही अपेक्षा लिएर आएका मान्छेलाई मनाउन कत्तिको गाह्रो हुन्छ?

हामीले कसैका लागि एउटा कुरा भन्ने र अरू कसैका लागि अर्को कुरा गर्ने गर्‍यौँ भने त्यो विषय स्वाभाविक रूपले जटिल बनेर आउँछ। जब हामीले सही कुरा सही मूल्यमान्यता, विधि, विधानको कुरा जे भन्छौँ त्यही गर्‍यौँ भने पहिलो भेटमा सुरुवातमै आफूले आशा गरेजस्तो परिस्थिति निर्माण नहुँदा थोरै निराश त हुन्छ। खुसीका साथ ऊ नफर्केको पनि हुन सक्छ। तर, मैले जति कुरा राखेको छु, सबै कन्भिन्स भएर फर्कनुभएको छ। 

हामीले जे भनिरहेका छौँ, त्यही गरिरहेका छौँ। भन्ने एउटा गर्ने अर्को गरेको भए प्रतिकूलता थपिन्थ्यो होला, तर जे भनेका छौँ भनिएका कुरालाई निष्ठाका साथ पालना गरेका छौँ। 

तपाईंले कुन खेललाई प्राथमिकतामा राख्नुभएको छ? कुन खेलबाट देशले राम्रो प्रतिफल पाउछ भन्ने लागेको छ?

हामी आएको केही महिना मात्रै भएको छ। खेलका सबै विधाहरूलाई मसिनोगरी अध्ययन गरेर बुझेर प्राथमिकीकरण गरिसकेका छैनौँ। स्वाभाविक रूपमा प्राथमिकीकरण गर्नुपर्ने भएको छ। अहिले हामी यसको अभ्यासमा पनि छौँ। '१८ औँ एशियन गेम' भदौ महिनादेखि इन्‍डोनेसियामा हुँदै छ। त्यो प्रतियोगिताका लागि खेल र खेलाडी संख्या छनोट गर्नका निम्ति छनोट समिति नै बनाएर हामीले काम गर्‍यौँ। यसभन्दा अघि कुन प्रतियोगितामा सहभागी हुने? त्यो प्रतियोगिताका कति खेलमा सहभागी हुने? अफिसियलमा को को जाने र कति जाने भनेर छनोट गर्ने सरकारी अधिकारीहरूको तजबिजमा हुने गरेको थियो।

त्यो कुरा बुझिसकेपछि कतिवटा खेल, कति प्रतियोगी, अफिसियल पनि कति सहभागी गराउने भन्ने कुरालाई आवश्यकता र औचित्यताका आधारमा मात्रै सहभागी हुने। त्यसका निम्ति सिफारिस गर्ने सिफारिस समिति बनायौँ। त्यसले रिपोर्ट दियो। त्यसलाई पनि यो गाइडलाइनमा काम गर्नुस् भनेर गाइडलाइन दियौँ।

विदेशमा हुने प्रतियोगिताका लागि यहाँबाट बढी मात्रामा मानिसहरू लैजाने र विदेशमा नै राखेर देशको बदनाम गर्ने स्थिति छ, यसलाई रोक्न कस्ता कदम चाल्नुभएको छ?

विगतमा जे अभ्यास थिए, त्यसमा कमी कमजोरीहरू देखिए। ती कमी कमजोरीहरू नदोहोरिऊन् त्यसका निम्ति हामीले कुन-कुन खेल सहभागी हुने भन्ने सन्दर्भमा, पदक जित्ने सकिने केही खेलहरू छन्। यो खेलबाट त पदक नै कन्फर्म छ भनेर आशा गरिने तहमा हाम्रो खेलकुदको विकासक्रम भइसकेको छैन। तर, विगतको रिजल्ट हेर्दा केही खेलहरूमा हामी आशा राख्न सक्छौँ। त्यो कुरालाई हेरेर हामीले खेलको प्राथमिकीकरण गरेका छौँ। 

विगतमा जुन-जुन खेलले पदक ल्याएका छन् ती खेललाई पहिलो प्राथमिकतामा राखेर नै अहिले एसियन गेमका लागि छनोट गरेका छौँ। बाँकी केही खेल जो राष्ट्रका तर्फबाट सहभागिता जनाउने हिसाबले छनोट गर्दा जम्मा २८ वटा खेल मात्र एसियन गेमका लागि छनोट गरेका छौँ। 

खेलाडीहरूका सन्दर्भमा पनि छनोट गरिएका खेलका लागि खेलभित्र पनि तौल समूहका आधारमा पनि खेलाडी छनोट गरिने हुन्छ, हामीले सबै समूहबाट सहभागिता गराएका छैनौँ। सहभागिताका लागि सहभागी गराउनु र राज्यको खेलकुदमा विनियोजन भएको रकम सक्नुभन्दा त्यसलाई जोगाएर त्यो रकम खेल क्षेत्रको अरू सम्भावनाका ठाउँमा लगाउन सकियो भने सारमा खेलकुद क्षेत्रका लागि सही सदुपयोग हुन्छ। यो कुरालाई हेरेर हामीले ती छनोट भएका २८ वटा खेलभित्र पनि कति संख्यामा कुन तौल समूहका खेलाडीहरू सहभागी गराउने भनेर मापदण्ड बनाएर नियन्त्रण गर्‍यौँ। 

अफिसियल सहभागिताका सन्दर्भमा मेला भर्न गएजसरी यो नै हो विदेश घुम्ने मौका भन्ने हिसाबले विगतमा जुन हुन्थ्यो त्यो कुरालाई हामीले पूर्णरूपमा नियन्त्रण गरेका छौँ। प्रतियोगितामा जसको भूमिका छ त्यसलाई मात्रै छनोट गरेका छौँ। खेलाडीका नाममा अरू क्षेत्रका मान्छे जाने हिजोको जुन प्रवृत्ति थियो त्यसलाई पूर्णरूपमा रोकेर जसको काम हुन्छ त्यसलाई मात्रै पठाउने निर्णय गरेका छौँ। 

विगतमा एउटा सानो लोभमा, एउटा व्यक्तिको सानो आर्थिक लोभमा खेलाडीहरू, अफिसियल, खेलका पदाधिकारीहरूले मानव तस्करीमा सामेल हुने दुर्भाग्यपूर्ण घटना पनि नेपालको खेल क्षेत्रमा घटेका छन् र खेल क्षेत्रलाई बदनाम गराएको अवस्था छ। यो कुरालाई समेत हेक्का राखेर अहिले  मानव तस्करी हुने स्थितिलाई ९९.९ प्रतिशत होइन १०० प्रतिशत कन्ट्रोल गर्नका लागि हाम्रो ध्यान केन्द्रित भइसकेको छ। त्यो परिस्थति अब हामी हुन दिन्नौँ। कसैको निहित स्वार्थका लागि सिंगो देशको इज्जत, प्रतिष्ठालाई कसैको सानो लाभ र लोभसँग जोड्ने काम भएको छ। यसलाई हामी शून्य सहनशीलताका साथ यसलाई नियन्त्रणमा ल्याउछौँ। 

यी कुरा राष्ट्रिय खेलकुद परिषदका अराजकतासँग जोडिन्छन्। नेपालको खेल क्षेत्रको नियामक निकाय राखेपमा हुने अराजकता नियन्त्रण गर्न कस्ता योजना अगाडि सार्नुभएको छ?

राखेपमा विगतका के कमी कमजोरी थिए? विगतमा कसले के कति कमी कमजोरी गर्‍यो? भन्ने दिशातर्फ म धेरै केन्द्रित हुन चाहान्न। विगतमा भएका त्यस्ता नकारात्मक घटनाबाट शिक्षा लिने हो। अब नकारात्मक कुरा हुन नदिने हो। म विश्वास दिलाउन चाहन्छु राष्ट्रिय खेलकुद परिषद् र अब हिजोका विकृत जे प्रवृत्तिहरू छन् ती समूल अन्त्य भएर जान्छन्। यो २१औँ शताब्दीको विज्ञान र प्रविधिको युग हो। अहिलेको सभ्य समाजमा संघीय लोकतान्त्रिक नेपालका हामी नेपालीहरू हाम्रो आफ्नै प्रतिष्ठा छ। यो प्रतिष्ठा जोगाउने, बचाउने हाम्रो जिम्मा हो। यसलाई अझै राम्रो बनाउने हिसाबले राष्ट्रिय खेलकुद परिषद्ले भोलिका दिनमा यस हिसाबले काम गर्छ। खेलकुदमा धुमिल भएको छवि अब उजालिएर जान्छ। 

खेलकुदमा नेपाललाई बढी पदक जिताउने तेक्‍वान्दोमा विवाद कायमै छ भने करातेमा केही साम्य भएको जस्तो छ। एसियन गेममा दुईवटा संघ छन्, यी विवादलाई कसरी समाधान गर्न लाग्नुभएको छ?

करातेको समस्या समाधान भएको छैन, अहिलेका लागि थाती राखेको हो। खेलकुद क्षेत्रमा देखिएका जति पनि विवाद र समस्याहरू छन् यी विवाद र समस्यालाई स्थायी रूपमा निरूपण गर्नका लागि हामीले नीति अख्तियारी गरेका छौँ। त्यो नीति विवेकपूर्ण, न्यायपूर्ण, सरोकारवाला सबैको भावनाको प्रतिनिधित्व हुनेगरी भोलिको खेल क्षेत्रको भविष्य सुनिश्चित हुनेगरी खेलकुद क्षेत्रमा देखिएका सबै विवाद, समस्या निरूपण गर्नेगरी यो नीति, मान्यता अख्तियारी गरिसकेका छौँ। यही नीति, मान्यताका आधारमा क्यानमा देखिएका समस्यालाई पनि हामीले हल गर्ने प्रयत्न गरिरहेका छौँ। क्यानको विशेष साधारणसभा सम्पन्न भएर क्यान अब सकारात्मक दिशातर्फ मोडिएको अवस्था छ। 

विगतमा कसले के कति कमी कमजोरी गर्‍यो? भन्ने दिशातर्फ म धेरै केन्द्रित हुन चाहान्न। विगतमा भएका त्यस्ता नकारात्मक घटनाबाट शिक्षा लिने हो। अब नकारात्मक कुरा हुन नदिने हो। म विश्वास दिलाउन चाहन्छु खेलकुदका क्षेत्रमा हिजोका विकृत जे प्रवृत्तिहरू छन् ती समूल अन्त्य भएर जान्छन्।

भर्खरै एन्फाको १६औँ साधारणसभा सम्पन्न भएको छ। अब एन्फा पनि फुटबलको भविष्यका निम्ति एन्फाले सही बाटो समात्ने आशा, विश्वास हामीमा जागेको छ। यो बीचमा बजेटको तयारी तथा अरू सन्दर्भले अरू खेल विधान देखिएका विवाद, समस्या हल गर्ने दिशातर्फ हामीले समय लगाउन पाइरहेका छैनौँ। अब छिट्टै नै करातेको पनि समस्या हल गरेर स्थायी समाधान खोज्ने। तेक्‍वान्दोमा भएको समस्यालाई पनि स्थायी समाधान गर्नेतर्फ लाग्‍छौँ। सँगसँगै अरू खेल विधामा भएका केही समस्या पनि समाधान गर्नतिर लाग्छौँ। कुस्तीकै केही समस्या छन्, ओलम्पिकमै समस्या छ, यी सबै समस्यालाई अब स्थायी निदान खोजेर खेलकुद क्षेत्रको गरिमालाई, मर्यादालाई, प्रतिस्ठालाई माथि उठाउने हिसाबले हामी काममा केन्द्रित भएका छौँ। 

राष्ट्रिय तेक्‍वान्दो संघ र नेपाल तेक्‍वान्दो संघ एउटै खेलका संस्था हुन्। एउटा संघको खेलाडीलाई भाग लिन पठाउँदा अर्को संघका छुट्छन्, यसलाई कसरी मिलाउनुहुन्छ?

हाम्रा अगाडि तेक्‍वान्दो विवाद अलि गम्भीर र चुनौतीपूर्ण देखिएको छ। यो समस्यालाई समाधान गर्ने दिशातर्फ पनि मन्त्रालयले हामीले अख्तियारी गरेको नीतिअनुसार विवेकपूर्ण, न्यायपूर्ण र विधिसम्मत ढंगले भोलिको तेक्‍वान्दोको उज्यालो भविष्यलाई केन्द्रविन्दुमा राखेर यो समस्याको निरूपण गर्ने दिशातर्फ क्रमिक रूपमा अगाडि बढ्छौँ।

सरकारले प्रत्येक प्रदेशमा रंगशाला बनाउने भनेको छ। हाम्रा भएका रंगशालाको पनि स्थिति राम्रो छैन। यस्तो अवस्थामा थप रंगशाला निर्माण कत्तिको सम्भव होला?

यो परिस्थिति विद्यमान छ। यसैलाई आत्मसाथ गरेर नै हामीले अहिलेको बजेटमा काठमाडौंमा उपत्यकामा अन्तराष्ट्रियस्तरको सुिविधासम्पन्न रंगशाला बनाउने निर्णय लिएका छौँ। सातवटै प्रदेशमा सुविधासम्पन्न रंगशाला बनाउने। सात सय ५३ वटै स्थानीय तहमा स्थानीय तहका खेलमैदान निर्माण गर्ने कुरालाई हामीले प्राथमिकता दिएका छौँ। यो आजको आवश्यकता हो। यी भौतिक संरचना निर्माण नभएसम्म अपेक्षाकृत खेल क्षेत्रको विकास र समृद्धि सम्भव छैन। यसलाई यसको मर्मलाई आत्मसाथ गरेर खेलका भौतिक पूर्वाधारहरू निर्माण गर्ने तयारी र कार्ययोजनाका साथ अहिले लागिरहेका छौँ। सँगसँगै अहिले भइरहेका भौतिक संरचना रंगशाला, कभर्डहलको मर्मतसम्भार, स्तरोन्नति गर्ने दिशातर्फ पनि मन्त्रालयको ध्यान गएको छ। त्यसका लागि हामीले अहिले १० करोड रुपैयाँको बजेट पनि विनियोजन गरेका छौँ। त्यो रकमबाट भइरहेका कभर्डहल, रंगशालाको मर्मतसम्भार हुनेछ।

युवा तथा खेलकुद मन्त्रालयलाई यो आर्थिक वर्षमा करिब २ अर्ब ४० करोड रकम विनियोजन भएको छ, यो कत्तिको पर्याप्त हुन्छ? के कस्ता योजना प्राथमिकतामा छन्?

अहिले जुन बजेट आएको छ यसले खेलकुद क्षेत्रका तमाम समस्या समाधान सम्बोधन गर्न सक्ने परिस्थति छैन। तर, विगतको बजेटको तुलनामा अहिले दोब्बर बजेट आएको छ। यो निकै खुसीको कुरा हो। खेल सबद्ध सबैका लागि, खेलाडी र हाम्रा लागि खुसीको कुरा हो। तथापि, यसले पर्याप्त हुन्छ, सबै समस्या समाधान हुन्छन् भन्ने होइन। तर, यो बजेटलाई सहि सदुपयोग गरेर अधिकतम रूपमा अहिले देखापरेका ठूला-ठूला चुनौतीहरू, अलिक जो तत्काल नगरी नहुने खड्किएका समस्याहरूलाई पहिलो प्राथमिकतामा राखेर काममा हामी केन्द्रित हुन्छौँ। गर्नुपर्ने तर बजेट अभाव भयो भने त्यो अभावको परिपूर्ति पनि कसरी गर्ने भन्ने दिशातर्फ पनि हामी फेरि अर्को जेठ १५ को मुख ताकेर बस्दैनौँ। यही बीचमा पनि अरू विकल्पहरू हेरेर वैकल्पिक स्रोतसाधनहरू कसरी परिचालन गर्न सकिन्छ। निजी क्षेत्रमा रहेका स्रोतसाधनलाई खेल क्षेत्रमा कसरी ल्याउन सकिन्छ? खेल क्षेत्रको विकास र समृद्धिका लागि वैदेशिक लगानी कसरी भित्राउन सक्छौँ? यो दिशातर्फ पनि हामी केन्द्रlत भएर लाग्छौँ। 

नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने खेल क्रिकेटमा विवाद साम्य भएको छैन। हामीसँग अन्तर्राष्ट्रियस्तरका रंगशाला छैनन् र खेलाडीहरूलाई खेल्ने मौका र सुविधा छैन। यसरी आशा र निराशाको अवस्थामा रहेको क्रिकेटको विकासका लागि के योजना छन्?

अहिले क्रिकेटले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेसँगै नेपालको खेल क्षेत्रको स्तर माथि उठेको छ। क्रिकेटमा उत्साह जागेको छ यो धेरै सकारात्मक कुरा छ। यसबाट हामी पनि उत्साहित भएका छौँ। व्यक्तिगत रूपमा मैले भन्दै पनि आएको छुँ, मेरो निजी जीवनका लागि पनि सुखद् संयोग के पर्‍यो भने जुन दिन म युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी लिएर शपथग्रहण गरेर पदबहाली गर्दै गर्दाको दिन क्रिकेटबाट अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता प्राप्त गरेका थियौँ।स्वाभाविक यो घटनाले हामी सबैलाई उत्साह भयो। म आफूले पनि आफ्नो पहिलो पाइला उपलब्धिको जगमा टेक्न पाएँ। सम्बद्ध सबै खेलाडीहरूलाई म सम्मान व्यक्त गर्न चाहन्छु। मेरालागि पनि त्यो ऐतिहासिक क्षण भयो।  

त्योबेला पनि मलाई क्रिकेटले यत्रो सफलता हासिल गर्‍यो। 'क्यानमा देखिएको समस्या कसरी हल गर्नुहुन्छ?' भन्नुभएको थियो। जो आइसिसीले निलम्बन गरेको कुरामा केन्द्रित थियो। मूलपानीको खेलमैदान अहिलेसम्म सम्पन्न हुनसकेको छैन? भनेर पनि प्रश्न आएका थिए। त्यो कुरालाई हामीले कसरी लियौंँ भने खेलाडीहरूले प्राप्त गरेको सफलताले जुन हाम्रो देशको प्रतिष्ठान माथि उठ्यो। हामी नेपालीहरूमा खुसी छायो। ती खेलाडीहरूलाई सम्मान गर्नुको सार त्यतिबेला हुनेछ जतिबेला क्यानको समस्या समाधान भएर आइसिसीको निलम्बन फुकुवा हुनेछ। जुन बन्दै गरेको मूलपानीको क्रिकेट मैदान सम्पन्न हुनेछ त्यतिबेला ती राष्ट्रका लागि योगदान पुर्‍याउने खेलाडीहरूको सम्मान हुनेछ। त्यो बुझाइ, मान्यताका साथ हामीले काम प्रारम्भ गर्‍यौँ।

क्यानको विशेष साधारणसभा सम्पन्न गरेका छौँ। यो एकाएक भएको छैन हामीले मिहिनेत गरेका छौँ। सरोकारवाला सबै भेटघाट गर्ने, छलफल गर्ने, वातावरण बनाउने काम गरेका छौँ। क्रिकेटका अग्रज महानुभावहरूको पनि सबैको सकारात्मक साथ र सहयोग प्राप्त भयो। सबै संवेदनशील बन्नुभयो र विशेष साधारणसभा सम्पन्न भयो। जो आइसिसिकै रोडम्यापअनुसार विशेष साधारणसभाले विधान संशोधन गरेको छ। आशा गरौँ आइसिसीले छिट्टै नै नेपालको क्यानमाथि लगाएको निलम्बन फुकुवा गर्नेछ। 

मूलपानीको निर्माणाधीन खेल मैदानका लागि यही अवधिमा ३/४ पटक खेल मैदानको निरीक्षण नै गर्‍यौँ। मन्त्रालयको तर्फबाट मन्त्रिस्तरीय जग्गा समस्या समाधानका लागि आवश्यक निर्णय लिएर त्यो समस्या समाधान गर्न त्यो फाइल अहिले मन्त्रिपरिषद्‍मा पठाइएको छ। मन्त्रिपरिषद्ले त्यो विषयमा छिटोभन्दा छिटो निर्णय लिनेछ। र मूलपानीको समस्या छिटो समाधान भएर निर्माणाधीन क्रिकेट खेल मैदानको कार्य सुचारु भएर अबको दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी हामी लागि रहेका छौँ। 

अन्य क्षेत्रका क्रिकेटको खेल मैदानको जुन सन्दर्भ छ। भैरहवामा क्रिकेट खेल मैदान निर्माण कार्य सम्पन्न हुँदै छ। दाङमा सम्पन्न हुँदै छ। पोखरामा नयाँ रंगशाला बनाउने हिसाबले पनि हामीले काम गर्दै छौँ। क्रिकेटकै खेलमैदानलाई लक्षित गरेर पनि अहिलेको बजेटबाट धेरै ठाउँमा क्रिकेटका जस्तै कञ्चनपुरमा, धनगढीमा, फाप्लुलगायत धेरै ठाउँमा क्रिकेटका खेलमैदान बनाउनका लागि बजेट छुट्टिएको छ। 

नेपाली खेलाडीहरूले मिहिनेत गरेर राष्ट्रका लागि मेडल ल्याउँछन्, अन्तिममा उसको आर्थिक हैसियत कमजोर र दयनीय हुन्छ। देशका लागि खेल्ने खेलाडीहरूको भविष्य सुनिश्चित छ भन्ने सन्देश दिन तपाईंका के के योजना रहेका छन्?

जबसम्म खेल क्षेत्रमा नयाँ पुस्तालाई आकर्षित गर्न सक्दैनौँ। अहिले राष्ट्रका लागि योगदान दिइरहेका खेलाडीहरूको सही कदर गर्न सकिँदैन। तबसम्म हामीले खेल क्षेत्रको विकास र समृद्धिको कुरा गर्नु बेकार हुन्छ। यो कुरालाई हामीले गहिरो गरी बुझेका छौँ। यो हामीले नजिकबाट देखेका छौँ, बुझेका छौँ। हाम्रा खेलाडीहरू राष्ट्रका लागि खेल्नुहुन्छ र पदक, ट्रफीहरू हासिल गर्नुभएको छ। तर, एउटा दुर्भाग्यपूर्ण उहाँहरूको निजी जीवन दयनीय भएको देखिन्छ। खेलाडीका सुत्ने कोठाभरी मेडल र ट्रफी हुन्छन्। सामान्य बिरामी हुँदा पनि उपचार गर्ने गोजीमा दुई पैसा हुँदैन।

खेलाडीका सुत्ने कोठाभरी मेडल र ट्रफी हुन्छन्। सामान्य बिरामी हुँदा पनि उपचार गर्ने गोजीमा दुई पैसा हुँदैन। यो परिस्थितिलाई आत्मसाथ गरेर हामीले स्वर्ण पदक विजेता खेलाडीलाई मासिक ५ हजार रुपैयाँ भत्ता र जति पनि ओलम्पिक गेममा सहभागी भएका ओलम्पियनहरू छन् ती सबै ओलम्पियनहरूलाई आजीवन मासिक ३ हजार रुपैयाँका दरले सम्मान भत्ता दिने गरी यसैपालिको बजेटबाट व्यवस्था गरिएको छ।

यो परिस्थितिलाई आत्मसाथ गरेर हामीले खेलाडीहरूलाई स्वर्ण पदक विजेता खेलाडीलाई मासिक ५ हजार रुपैयाँ भत्ता र जति पनि ओलम्पिक गेममा सहभागी भएका ओलम्पियनहरू छन् ती सबै ओलम्पियनहरूलाई आजीवन मासिक ३ हजार रुपैयाँका दरले सम्मान भत्ता दिने गरी यसैपालिको बजेटबाट व्यवस्था गरिएको छ। यो सुरुवात हो। आउने वर्षदेखि भत्तालाई वृद्धि गर्दै लैजान्छौँ। जसले गर्दा खेलाडीहरूको योगदानको कदर हुन्छ। खेलक्षेत्रबाट नै आफ्नो भविष्यको सुनिश्चितताको प्रत्याभूति पनि खेलाडी साथीहरूलाई विश्वास पैदा हुन्छ। यो विश्वास पैदा गर्न सकेमा मात्र हामीले खेल क्षेत्रको विकास र समृद्धि हासिल गर्न सक्छौँ। 

एउटा यो पाटोबाट खेलाडीहरूलाई सेवा, सुविधा दिने हिसाबले हामीले सोचिरहेका छौँ। अर्को सन्दर्भ भनेको खेलाडीहरूको स्वास्थ्यलाई हेरेर स्वास्थ्य बिमा। सम्भावित खेल्दा हुने दुर्घटनालाई समेत हेरेर दुर्घटना बिमा। उहाँहरूको परिवार सबै कुरालाई हेरेर जीवन बिमा गर्ने गरी यसैपालिको बजेटमा हामीले बजेटको व्यवस्था गरेका छौँ। यो ढंगबाट खेलाडीहरूमा खेल क्षेत्रमा नयाँ उत्साह जगाउन सक्यौँ भने भोलिका दिनमा आउने पुस्ता पनि खेलक्षेत्रतर्फ आकर्षित हुनेछ र नेपालको खेलक्षेत्रले गुणात्मक फड्को मारेर अगाडि बढ्नेछ। यो आशा, विश्वास हामीले लिएका छौँ। खेलेरै जीवननिर्वाह गर्न सक्छु भन्ने वातावरण खेल क्षेत्रमा निर्माण गर्ने लक्ष्यका साथ हामी अगाडि बढिरहेका छौँ। 

अब प्रसंग बदलौँ, नेपालका ४० लाख युवाहरू विदेशी भूमिमा छन् भन्ने सरकारकै तथ्यांक छ। तिनलाई नेपाल फर्काउने भन्ने सरकारको योजना रहेको छ, त्यसका लागि युवा तथा खेलकुद मन्त्रालयले के कस्ता योजना बनाइरहेको छ?

सुशासन, विकास र समृद्धि हासिल गर्ने अहिले हाम्रो देशको राष्ट्रिय लक्ष्य हो। यही राष्ट्रिय लक्ष्य प्राप्ति गरेर समृद्ध नेपाल सुखी नेपाली जनताको घर-आँगनमा सुख र खुसी ल्याउने संकल्पका साथ वर्तमान सरकार अगाडि बढिरहेको छ। यसका लागि चाहिने हाम्रो देशमा भएका जति पनि प्राकृतिक स्रोतसाधनहरू छन् 'समृद्ध राष्ट्र नेपाल सुखी नेपाली' त्यो उपलब्धि हासिल गर्ने गरी हामीसँग भएका स्रोतसाधनहरू परिचालित गर्ने। कुनै पनि देश, समाज विकास र समृद्धिका आधार भनेको युवा शक्ति नै हो।

हाम्रो युवा जनशक्ति जे छ त्यो युवा शक्तिलाई विकास र समृद्धि हासिल गर्ने राष्ट्र निर्माणको अभियानमा परिचालन नगरेसम्म हामीले यो उपलब्धि हासिल गर्न सक्दैनौँ। सुखी नेपाली समृद्ध नेपालको हाम्रो नारा नारामै सीमित हुन्छ। यो कुरालाई आत्मसाथ गरेर अबको आवश्यकता अबको चुनौती भनेको हाम्रा युवाहरूलाई कसरी दक्ष बनाउने? प्राविधिक रूपमा उनीहरूलाई कसरी योग्य, चरित्रवान, अनुसाशित बनाउने, देशक्तिपूर्ण भाव उनीहरूको जागृत गराउने? यो कुरा गर्दा मात्रै राष्ट्र निर्माणको अभियानमा युवाहरूलाई परिचालित गर्न सक्छौँ।

कुनै पनि देश, समाज विकास र समृद्धिका आधार भनेको युवा शक्ति नै हो। हाम्रो युवा जनशक्ति जे छ त्यो युवा शक्तिलाई विकास र समृद्धि हासिल गर्ने राष्ट्र निर्माणको अभियानमा परिचालन नगरेसम्म हामीले यो उपलब्धि हासिल गर्न सक्दैनौँ।

त्यस हिसाबले युवाहरूमा यो भावनाको विकास गरेर युवाहरूलाई श्रम र उत्पादनसँग जोड्ने। उद्यमी बनाउने। स्वयं स्वरोजगार बनाउने। स्थानीय तहमा भएका हाम्रा जति पनि स्रोत र साधनहरू छन् यी स्रोतसाधनलाई नै परिचालन गरेर स्वयं युवाहरूलाई स्वरोजगार बनाउने। त्यो तहको ज्ञान, सीप, क्षमता, तालिम, प्रशिक्षण युवाहरूलाई दिने। र, समग्र राष्ट्र निर्माणको मेरुदण्डको रूपमा रहेका युवाहरूलाई विकास र समृद्धि हासिल गर्ने अभियानमा लगाउने गरी हामीले काम गर्न खोजिरहेका छौँ। 

युवाहरूलाई स्वरोजगार बनाउन के कस्ता योजना अगाडि बढाउनुभएको  छ?

स्वरोजगारका कुरा गर्दाखेरि हाम्रा अगाडि रहेका सम्भावनाहरूलाई हेरेर नै हामी अगाडि बढ्ने हो। सँगसँगै आजको राष्ट्रिय आवश्यकता के हो? हामीले आज समृद्धिको कुरा गरिरहँदा हाम्रो देशको समृद्धिको आधार भनेको कृषि, पर्यटन र ऊर्जा भनिरहेका छौँ। हाम्रा समृद्धिका आधारका यही क्षेत्रमा नै हाम्रा युवाहरूलाई दक्ष बनाउने, प्राविधिक ज्ञान, सीपले क्षमतावान बनाउने र त्यस हिसाबले तिनै क्षेत्रमा रोजगारीका वातावरण सिर्जना गरेर युवाहरूलाई हामीले केन्द्रित गर्नुपर्नेछ। हाम्रो फोकस त्यता हुँदै छ। सँगसँगै यसको मतलब अरू क्षेत्रका लागि दक्ष जनशक्ति चाहिँदैन भनेको होइन। स्वास्थ्यका लागि चाहिन्छ। अरू शिक्षाका लागि चाहिन्छ। यसबाहेक अन्य क्षेत्रमा पनि राष्ट्रका लागि चाहिने युवा जनशक्ति निर्माण गर्नका लागि पनि भइरहेका युवाहरूलाई नै हामीले त्यता परिचालित गर्नुपर्ने कुरालाई पनि सँगसँगै हेक्का राखेर काम गर्दै छौँ।

युवा मुद्दा भनेको क्रस कटिङ विषय हो। यो युवा तथा खेलकुद मन्त्रालयको मात्रै मुद्दा नभएर युवाको मुद्दा सबै मन्त्रालयसँग सम्बन्धित राष्ट्रिय मुद्दा भएका कारणले पनि यसलाई संयोजन गर्दै युवा जनशक्तिलाई राष्ट्र निर्माणमा परिचालन गर्ने सोचका साथ हामी अगाडि बढिरहेका छौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.