राजनीति

फोरमको सत्तारोहणपछि राजपामा विवाद : नेतृत्व मौन, महासचिव सुमन विरोधमा
SHARES

जेठ २४, २०७५

    काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र प्रदेश-२ को सरकारबाट फिर्ता हुने/नहुने भन्ने विषयमा विवाद सुरु भएको छ। फोरमका केही नेता प्रदेश २ सरकारबाट फिर्ता हुनुपर्ने र केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने पक्षमा छन्। तर, पार्टीका धेरै नेताहरू भने केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिन नहुने पक्षमा छन्।

    प्रदेश-२ को सरकार मधेसी जनताको चाहनाअनुसार बनेको भन्दै प्रदेश सरकारलाई निरनतरता दिनुपर्ने नेताहरूको भनाइ छ। राजपासँग गठबन्धन गरेको संघीय समाजवादी पार्टी नेपाल सरकारमा सहभागी भएपछि राजपाभित्र विवाद सुरु भएको हो। राजपाका कतिपय नेताले एउटै मुद्दा बोकेको पार्टीलाई सरकारमा लाने र अर्को पार्टीलाई वार्तामासम्म नबोलाएका कारण केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने राजपाभित्र एक समूहको दबाब छ। 

    यस्तै, सँगै गठबन्धन गरेर प्रदेश-२ सरकारमा सहभागी भएको फोरमले धोका दिएका कारण सरकारमा बस्नुको औचित्य नरहेको भन्दै सरकारबाट फिर्ता हुनुपर्ने त्यो पक्षको दाबी छ। केन्द्र‍ सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने पक्षमा छन् पार्टीका महासचिव मनीषकुमार सुमन। उनी प्रत्येक दिनजसो विभिन्न कार्यक्रममा आफूहरूले सरकारलाई दिएको सर्थन फिर्ता लिने र प्रदेश-२ सरकारबाट पनि बाहिरने बताउँदै आएका छन्। 

    उनी यो सरकारले मधेसी जनताको मागलाई सम्बोधन नगर्ने भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने धारणा राख्दै आएका छन्। तर, पार्टीले यो विषयमा कुनै औपचारिक निर्णय गरेको छैन। पार्टी नेतृत्वले भने सरकारले आफूहरूको माग पूरा गर्ने प्रतिबद्धता गरेमा सरकारमा जाने बताउँदै आएको छ। तीन दिनदेखि जारी अध्यक्ष मण्डलको बैठकमासमेत प्रदेश-२ को सरकारलाई निरन्तरता दिने सहमति भएको छ। तर, सुमन भने चाँडै प्रदेश-२ को सरकारबाट बाहिरने दाबी गर्दै आएका छन्।

    हुन त नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रमा फोरम सहभागी भएपछि प्रदेशमा पनि त्यही समीकरणको सरकार बन्ने बाटो खुलेका बताइसकेका छन्। तर, राजपाको नेतृत्व भने यो कुरा मान्न तयार छैन। ‘प्रदेश २ को सरकार मधेसी जनताको भावना र चाहनामा बनेको सरकार हो’, राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले थाहाखबरसँग भने,‘त्यसकारण यो सरकार निरन्तर चल्छ। यसमा हामी तत्काल केही सोच्दैनौँ।’ 

    त्यसो त राजपा प्रदेश-२ का संसदीय दलका नेता जितेन्द्र सोनामले केही दिनअघि मात्र संसदलाई सम्बोधन गर्ने क्रममा प्रदेश-२ को सरकारबाट आफूहरू नबाहिरिने स्पष्ट पारिरहेका छन्। तर, महासचिव तथा प्रदेश-२ का सांसद सुमन भने पार्टीले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रदेश सरकारबाट बाहिरनुपर्ने धारणा राख्दै आएका छन्। 

    उनी पार्टीको राजनीति समितिको बैठकले सरकारबाट बाहिरने र केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउँदै आएका छन्। ‘अहिले संस्थागत निर्णय भएको छैन। तर, हाम्रो राजनीतिक समितिको बैठक बस्दैछ,’ उनले भने,‘बैठकले कुनै हालतमा यो निर्णय हुन्छ।’ राजपाको राजनीतिक समितिको बैठक जेठ २५ गते बोलाइएको छ।

    सुमनलाई प्रदेशबाट सरकारबाट बाहिरने अभिव्यक्ति तपाईंको व्यक्तिगत हो कि भन्ने प्रश्नमा उनले भने,‘अहिले त जसले जे बोले पनि निर्णय नभएसम्म त व्यक्तिगत नै हो। तर, केही दिन पर्खनु के निर्णय हुन्छ अनि त्यहीअनुसार हुन्छ।’

    तर, नेतृत्वले भने व्यक्तिगत धारणाको कुनै महत्त्व नभएको बताएको छ। राजपकाको अध्यक्ष मण्डलको समूहिक निर्णय प्रदेश सरकारलाई निरन्तरता र केन्द्र सरकारको समर्थनलाई कायमै राख्ने भएकाले व्यक्तिगते निर्णयको कुनै औचित्य नरहेको बताएको हो। 

    महासचिव सुमनको धारणा व्यक्तिगत रहेको अध्यक्ष मण्डलका सदस्य अनिल झा बताउँछन्। ‘कसले कहाँ के बोल्छभन्दा पनि पार्टीको आधिकारिक धारणा के हो भन्नेतर्फ लाग्नुपर्छ’, उनले भने,‘हाम्रो बैठक दुई दिनदेखि जारी छ। बैठकले प्रदेश सरकारलाई निरन्त‍रता दिने र केन्द्र सरकारको समर्थन कायम राख्ने हो। उहाँ (सुमन) को धारण व्यक्तिगत हो।’

चिरञ्जिबी घिमिरे

पत्रकार घिमिरे थाहाखबरका लागि राजनीति, साहित्य र समाजबारे लेख्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]