हेटौँडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चार वर्षभित्र प्रदेशलाई समृद्ध बनाउने योजनाका साथ नीति तथा कार्यक्रम आएको बताएका छन्।
प्रदेशसभा बैठकमा आर्थिक वर्ष ०७५÷७६ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिंदै मूख्यमन्त्री पौडेलले नीति तथा कार्यक्रम काल्पनिक नभई यर्थाथमा आधारित भएको बताए।
उनले विशेष सुविधा दिएर उद्योग स्थापना गरी रोजगारीको अवसर सिर्जना गर्ने बताए। सार्वजनिक–निजी साझेदारी र सार्वजनिक–सहकारी साझेदारीका आधारमा प्रदेश विकासको अवधारणा ल्याइएको भन्दै यसका लागि प्रदेश निर्माण कम्पनीले महत्वपूर्ण भूमिका खेल्ने भएकाले आशंका नगर्न आग्रह गरे।
उनले प्रदेश सरकारले ४ बर्षभित्रमा कम्तिमा एक सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाईनमा योगदान दिने ढंगले काम गर्ने बताउँदै नीजि क्षेत्रलाई समेत उर्जा क्षेत्रमा लगानीका लागि प्रोत्साहन गरिने बताए। विदेशबाट प्राप्त हुने रेमिट्यान्स अहिले अनुत्पादक क्षेत्रमा खर्चिने प्रवृत्ति रहेकोमा यसको न्यूनिकरणका लागि उद्योग स्थापना गरी शेयरको व्यवस्था गर्ने बताए। सहकारीमा रहेको रकम पनि अनुत्पादक क्षेत्रमा खर्च भईरहेको भन्दै मूख्यमन्त्री पौडेलले यसलाई उद्योगमा लगाउन प्रोत्साहन गरिने बताए।
मुख्यमन्त्री पौडेलले प्रदेशका विभिन्न शहरमा वि.स.२०८५ सम्ममा पेट्रोलबाट संचालन हुने साना सवारीलाई निरुत्साहित गर्नका लागि अब नयाँ गाडि भित्र्याउँदा ध्यान दिने बताए। नीति तथा कार्यक्रममा महिला, दलित, उपेक्षित सबै वर्ग र समुदायको भावना समेटिएको भन्दै राम्रोसँग अध्ययन गरे विपक्षिलाई पनि चित्त बुझ्ने उनको दाबी थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।