खड्काका तीन शब्द

|

काठमाडौं : १४ माघ २०७१ मा तत्कालीन आपूर्तिमन्त्री सुनिलबहादुर थापाले आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेका गोपालबहादुर खड्काले छ महिना पदावधि बाँकी रहदै पदबाट राजीनामा दिए। आगामी माघमा स्वत: अवकाश पाउने खड्काले छ महिनाअगावै राजीनामा दिएपछि सरकारलाई सोही पदमा नियुक्तिको बाटो खुलेको छ।

आयल निगममा खड्काको आगमनसँगै सधैँजसो चर्चाको पात्र बनेका खड्काको राजीनामा घोषणा कार्यक्रमको निम्ता भने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले गरिदिए। 'बिहीबार बिहान १०:३० बजे माननीय उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवज्यूले विशेष पत्रकार सम्मेलन आयोजना गर्नुभएको छ,' भन्ने जानकारीसहित स्थान र मिति तोकेर मन्त्रालयबाट पत्रकारलाई निमन्त्रणा गरिएको हो। तर, पत्रकार सम्मेलनमा भने मन्त्रालयको तर्फबाट एकजना प्रतिनिधिको मात्रै उपस्थित रह्यो। ती  प्रतिनिधि थिए, नौ महिनादेखि जिम्मेवारीविहीन जस्तै बनेका र सरकारले बर्खास्थ गरेपछि अदालतबाट मुद्दा जितेर सरकारी सेवामा फर्किएका गोपालबहादुर खड्का।

उनी पत्रकारसम्मेलन कक्षमा उपस्थित भएपछि आफ्नो विषयमा कुरा राखे र निगममा आएपछि भएका केही कामको विषयमा विस्तार गरे। आफ्ना विषयमा केही कुरा राखे र राजीनामा दिने निर्णय गरेको जानकारी गराए। पत्रकारसम्मेलनमार्फत राजीनामाको घोषणापछि खड्काले विभागीय मन्त्रीसमक्ष राजीनामा पेस गरे।

पत्रकार सम्मेलनमा चाहिँ उपस्थित नभएका मन्त्री यादवले खड्काको राजीनामा पत्र बुझ्दै 'समचारलाई सकारात्मक रूपमा लेख्‍न पत्रकारहरूलाई आग्रह गरे।

खड्काका तीन शब्द

बिहीबार राजीनामा दिँदै गर्दा खड्काले तीनवटा चाखलाग्दा शब्दको प्रयोग गरे। भ्रुणमा नौ महिनापछि बच्चाबाहिर निस्कने प्रसंग, रत्नपार्कको ज्योतिषजस्तै बनेको आफ्नो भूमिका र इतिहासको एउटा कालखण्ड पूरा भएको तर्क।

उनले आफूले कानुनसंवत काम गर्दा गर्दै पनि सरकारबाट अन्याय भएको दाबी गरे। ३६ अर्ब घाटामा गएको आयल निगमलाई नाफामा लैजाने, पेट्रोलियम पाइपलाई विस्तारको काम, भण्डारण क्षमता वृद्धिलगायतका आधा दर्जन काम आफूले तीव्र रूपमा अघि बढाएता पनि केही व्यक्तिको स्वार्थको कारण आफू फेल भएको आरोप खड्काको थियो।

पछिल्लो नौ महिनादेखि आफू रत्नपार्कको ज्योतिषिजस्तै भएको गुनासो पोखे। 'नाम गोपाल खड्का, पद: कार्यकारी निर्देशक नेपाल आयल निगम' खड्काले भने 'आयल निगममा बोर्ड झुण्डिएकै छ, तर म मन्त्रालयमा भूमिका विहीन छु यसको अर्थ रत्नपार्कका ज्योतिषिजस्तै देखियो।

उनले आफूले राजीनामा दिनुका पछाडि पेटमा हुर्कने बच्चाजस्तै लुकेर केही समय मात्रै बस्न सकिने संज्ञा दिए। 'नौ महिनामा त पेटको बच्चा पनि बाहिर आउँछ,म पनि नौ महिनाभन्दा बढी कति भूमिकाविहीन बनेर बस्ने?' खड्काले प्रश्न गरे। आफूले राजीनामा दिएपछि उनले इतिहासको एउटा कालखण्डको अन्त्य भएको प्रतिक्रिया दिएका छन्।

अनियमितताको आरोप, बर्खास्थी र अदालतको फैसलाको खण्ड

आयल निगमले पेट्रोलियम पदार्थ भण्डारणका लागि झापा, सर्लाही, चितवन र रुपन्देहीमा खरिद गरेको जग्गामा अनियमितता भएको पुष्टि भएपछि तत्‍कालीन आपूर्तिमन्त्री शिवकुमार मण्डलको ठाडो प्रस्तावमा मन्त्रिपरिषद्ले  २ असोज २०७४ मा खड्कालाई बर्खास्त गर्ने निर्णय गरेको थियो।

जग्गा खरिदमा भ्रष्टाचार भएको भन्दै उनीमाथि कारबाही गर्न संसद्को तत्‍कालीन उपभोक्ता हित समिति, आपूर्ति मन्त्रालयको छानबिन समिति तथा संसदका लेखा र सुशासन समितिले सिफारिस गरेका थिए। संसद्को तीनवटा समितिको विस्तृत अध्ययन र छलफलपछि खड्काले जग्गा खरिदमा साढे एक अर्बभन्दा बढी घोटाला गरेको तथ्य भेटिएको थियो।

सुशासन समितिले आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै खड्काले प्रमाण नष्ट गर्न सक्ने भन्दै निलम्बन गर्न निर्देशन दिएको थियो। खड्काको नेतृत्वमा जग्गा प्राप्ति ऐनअनुसार पेट्रोलियम भण्डारणका लागि आवश्यक जग्गा खरिद नगरी टेन्डरबाट अनियमितता गरेको संसद्को उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समितिले ठहर गरेको थियो। निगम सञ्चालक समितिका तत्कालीन अध्यक्ष तथा आपूर्तिसचिव कृष्णप्रसाद देवकोटाले समेत जग्गा खरिदमा खड्कालाई दोषी ठहर्‍याई कारबाही गर्न निर्देशन दिएका थिए।

०७२ को नाकाबन्दीमा विराट पेट्रोलियमलाई इन्धन किन्न २० करोड रुपैयाँ पेस्की दिएको भन्दै उनी चर्चामा रहे।  मोटो रकम लिएर नयाँ ग्यास उद्योग, पेट्रोलपम्प खोल्न अनुमति दिएका आरोपमा पनि उनले खेपे।

 खड्कालाई निगम जान नदिइने निर्णय अदालतले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि खड्कालाई सेवामा फर्कने बाटो खुल्यो। तर, उनी निगममा जान भने सकेनन्। त्यसपछि मन्त्रालयमा भूमिकाविहीन बनाएर राखिएको थियो। आयल निगमको कार्यकारी निर्देशक पद तर नौ महिनामा मन्त्रालयमा कामविहीन बनेपछि बिहीबार उनले राजीनामा दिएका हुन्। स्रोतका अनुसार आय निगममा कार्यकारी निर्देशक नियुक्ति गर्नको लागि विभागीय मन्त्रीले नै राजीनामा दिन आग्रह गर्दै आएका  थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.