|

अर्घाखाँची : सरकारले तत्कालीन नेकपा माओवादी आक्रमणको क्रममा जलेका किसानका लालपुर्जा वितरणको काम सुरु गरेको छ। द्वन्द्वको क्रममा लालपुर्जा जलेपछि पुनः नापी गरेर लालपूर्जा वितरण गर्न लागिएको हो। त्यसको सुरुवात अर्घाखाँचीबाट सुरु भएको छ। 

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल बलदेवले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका २ बाट लालपूर्जा वितरण सुरु गरेका हुन्। त्यहाँ आर्थिक वर्ष २०७२/०७३ मा नाप नक्साको काम सुरु भएको थियो। सन्धिखर्क  २ मा मात्र ४ हजार ७४७ कित्ता क्षेत्रफलको ८४१ जना जग्गाधनीका लालपूर्जा जलेको पाइएको थियो। द्वन्द्वकाक्रममा पाल्पा, अर्घाखाँची, सिरहा, संखुवासभा र अछाममा भएका आक्रमणमा लालपूर्जा जलेका थिए।

नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टका अनुसार अछाममा नापजाँचको काम सकिइसकेको छ। अछाममा आर्थिक वर्ष २०६४/०६५ मा पाल्पामा २०७१/०७२ मा र सिरहामा २०७२/०७३ मा काम नापीको काम सुरु भएको थियो। अहिलेसम्म पाल्पामा २५ प्रतिशत नापीको काम सकिएको महानिर्देशक भट्टले बताए।

सिरहा सहदरमुकाम क्षेत्रमा नापीको काम चलिरहेको छ भने संखुवासभाको चैनपुरमा काम नै सुरु हुन सकेको छैन। यो वर्ष पनि संखुवासभामा नाप नक्साको कार्यक्रम पर्न सकेको छैन। सरकारले आगामी ३ वर्ष भित्रमा सबैको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गरिसक्ने दावी गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.