विद्यार्थीले गरे क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी

|

रौतहट : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को लापरवाहीको कारण रौतहटका सयौँ विद्यार्थीको भविष्य अन्यौलमा परेको छ। पढाउने समयमा एउटा विषय र प्रश्नपत्र अर्को विषय पठाएपछि रौतहटको जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरका स्नातक तहको तेश्रो वर्षमा अध्ययनरत विद्यार्थीको भविष्य अन्यौलमा परेको हो।

गत जेठ २ गते संचालित शिक्षा शास्त्र संकाय pop. edu.433 basic public health को सट्टा त्रिविले pop. edu.433 fundamentails of sexual and reproductive health को प्रश्नपत्र आएपछि विद्यार्थीले परीक्षा नदिइ बाहिरिएका थिए। उक्त विषय लिएर अध्ययन गर्ने २१ जना विद्यार्थीको भविष्य अन्यौल भएको छ। 

त्रिविका कर्मचारीको लापरवाही र सम्बन्धित क्याम्पस तथा विषयगत शिक्षक जानकार नहुँदा यस्तो समस्या आएको त्रिविका सहायक डिन रवीकिरण अधिकारीले बताए। पाठयक्रम फेरिनेबारे सम्बन्धित शिक्षक तथा संकाय प्रमुख चनाखो नभएको कारण पनि विद्यार्थीले यस्तो अवस्था बेहोर्नु परेको सहायक डिन अधिकारीको भनाइ छ। त्रिवि कर्मचारीले पनि देशैभरीका क्याम्पसलाई पाठयक्रम परिर्वतनबारे सर्कुलर नगराएका कारण पनि यस्तो समस्या भएको उनी स्वीकार छन्।

जनज्योति क्याम्पस प्रमुख दुर्गा दाहालले यस सन्र्दभमा क्याम्पसको कुनै दोष नभएको दाबी गरे। जुन विषय अध्यायपन गराइएको हो सो विषयको परीक्षा फारमसमेत बुझाउदा त्रिविले कुनै प्रतिक्रिया नदिनु र बीच समयमा आएर पाठयक्रम परिर्वन गर्नुले आफनो क्याम्पसका विद्यार्थीको भविष्य अन्यौलमा परेको क्याम्पस प्रमुख दाहालले जिकिर गरे।

‘स्तातक तह तेश्रो वर्षको शैक्षिक सत्र हरेक साउनबाट शुरु हुने भएकोले साउन अगाडि नै त्रिविले पाठयक्रम परिर्वतन गर्नु पर्ने हो’, उनले भने, ‘तर विद्यार्थीको आधा कोर्स पढाइ सकिएपछि पाठयक्रम परिर्वतन गरेको पत्तोसमेत दिएन।’

pop. edu.433 basic public health की शिक्षक शारदा भण्डारीले पाठयक्रम परिर्वतन भएको आफूलाई थाहा नभएको बताएकी छिन्। आफूले गत माघ महिनाबाट मात्र पढाउन सुरु गरेको र बाँकी रहेको कोर्ष मात्र आफूले पढाएको उनीले बताइन्। 

त्यस्तै, विद्यार्थीहरूले आफनो भविष्यमाथि नै खेलवाड भएको गुनासो गरेका छन्। त्रिवि तथा क्याम्पसको कारण आफ्नो भविष्य नै अनिश्चित भएको सो विषयको परीक्षा दिन नपाएका विद्यार्थी प्रहलाद मैनालीले बताए। विद्यार्थीको भविष्यमाथि चरम लापरवाही तथा खेलवाड भएको उनको भनाइ छ। 

विद्यार्थीको जीवनमाथि पटकपटक खेलवाड भइरहेको विद्यार्थी नेता सुमन गौतमले बताए। यस्तो खेल क्याम्पस तथा त्रिविले बन्द गर्नुपर्ने उनको माग छ। 

सो परीक्षको विरोधमा क्याम्पस प्रमुख र प्रशासनमा स्ववियुले तालाबन्दी गरेको छ। विद्यार्थीको माग सम्बोधन नभएसम्म ताला नखुल्ने र समस्याको समाधान चाँडै गर्न जनज्योति स्ववियु सभापति संगम श्रेष्ठले आग्रह गरेका छन्। शान्तिपूर्ण आन्दोलनले समस्याको समाधान नभएर कडाभन्दा कडा आन्दोलनमा उत्रनेसमेत उनले चेतावनी दिए। 

यस्तै समस्या रौतहटका अन्य क्याम्पसका साथै सन्धुली, सर्लाही जिल्लाका क्याम्पसमा पनि देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.