|

बैतडी : संघीयताको कार्यान्वयनसँगै पछिल्लो समय बैतडी सदरमुकाम क्षेत्रका बजारमा मानिसको चहलपहल घट्दै जान थालेकोे छ। राज्यको पुनर्संरचनासँगै संघीयताको कार्यान्वयन भएपछि स्थानीय तह बलियो हुँदा सदरमुकाम सुनसान भएको छ भने विकट गाउँहरूसमेत भरिन थालेका छन्। 

सानासाना काममा पनि सदरमुकाम र केन्द्रको मुख ताक्नुपर्ने परम्परा स्थानीय तहले अन्त्य गरेपछि सदरमुकाममको चहलपहल घट्दै जान थालेको हो। 

सदरमुकामको घट्दो चहलपहलका कारण चिया पसलदेखि होटल, किराना पसल, स्टेसनरीजस्ता व्यवसाय भने संकटमा परेका छन्। पहिलेपहिले निकै भीडभाड र चहलपहल हुने सदमुकाम अहिले सुनसानजस्तै भएपछि चिन्ता बढेको सदरमुकामको शाहीलेकस्थित दोगडाकेदार होटेलका संचालक चन्द्रदेव कपाडीले बताए। 

सदरमुकाममा मानिसको आवतजावत् र बसोवास कम हुन थालेपछि व्यापारिक कारोबार पनि ओरालो लागेको उनको भनाइ छ। उनले भने, ‘पहिले सदरमुकाममा हुने काम गाउँमै हुन थालेपछि होटलमा आउने ग्राहक ह्वात्तै घटेको छ।’

बजार सुनसान भएसँगै व्यापारी र व्यवसायी चिन्तित बनाएका भन्दै कपाडीले व्यापार घाटा हुने देखेपछि व्यापारीहरू पलायन हुने खतरा बढेर गएको बताए।

स्थानीय तहको निर्वाचन भएको एक वर्ष पूरा हुँदैछ। मानिसहरू गाउँतिर पलायन हुने क्रम जारी रहे सदमुकामका व्यापारी विस्थापित हुने खतरा बढ्न थालेको छ। सदरमुकामका साना व्यापारी गाउँपालिकाको केन्द्रमा बसाइँ सरेको भन्दै उनले आफू भने अन्यौलमा रहेको बताए।  

चार नगरपालिका र छ गाउँपालिका रहेको बैतडीमा स्थानीय सरकार बनेपछि गाउँपालिका र नगरपालिकाका केन्द्रमा चहलपहल सुरु हुन थालेको छ।

सदरमुकाममा चहलपहल घटे पनि स्थानीय तहका केन्द्र आसपासका बजारहरूमा भने चहलपहल बढ्दै गएको छ। स्थानीय तहको केन्द्र भइसकेपछि व्यापार बढ्दै दोगडाकेदार गाउँपालिकाको केन्द्र खोचलेकमा  होटेल सञ्चालन गर्दै आएका केडी रेष्टुरेष्टका सञ्चालक कमल धामीले बताए। विगत नौ वर्षदेखि होटेल व्यवसाय गर्दै आएका धामीले स्थानीय तहको निर्वाचनपश्चात् व्यापार व्यवसायमा पनि वृद्धि हुँदै गएको बताए। 

गाउँपालिकामा चहलपहल बढेका बेला सदरमुकामको व्यापार व्यवसायमात्रै होइन, सरकारी अड्डामा समेत सेवाग्राहीको चाप कम हुन थालेको छ। सदरमुकाम सुनसान बन्दै गएका बेला स्थानीय तहमा भने कामकोे चाप बढ्दै गएको स्थानीय तह आसपासमा दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रसासकीय अधिकृत शेर सिंह विष्टले बताए। सरमुकाममा पाइने सम्पूर्ण सेवासुविधा गाउँमै पाउन थालेपछि स्थानीय तहका केन्द्रमा चहलपहल बढ्दै गएको उनको भनाइछ। 

योसँगै सबैजना सदरमुकाममै झुम्मिने परम्पराको अन्त्य हुने देखिएको छ। साथै सदमुकामबाट व्यापारी पलायन हुने खतरालाई रोक्न सरोकारवाला निकायले चासो दिनु आवश्यक छ। सदरमुकाममा वर्षौदेखि व्यापार व्यवसाय गर्दै आएका व्यवसायीलाई भने समस्या भएको  छ। 

स्थानीय तहका केन्द्रहरूमा होटेल अभावका कारण कर्मचारीहरू आवासका लागि बसाइँसराइँ गरी रित्ता घरहरूमा आश्रय लिन बाध्य छन्।  कार्यालय र संघसंस्थाका लागि भाडामा घरहरू पाउन कठिनाइ भइरहेको छ। होटलहरूको समेत अभाव भएको छ  गाउँपालिका सदरमुकामहरूमा सेवाग्राहीहरूको चापसमेत बढ्दै गएकाले खान तथा सुत्नका लागि होटलहरूको अभाव हुन लागेको छ। 

स्थानीय तहले कुनै विशेष व्यक्तित्वको उपस्थितिमा कार्यक्रम गर्यो भने खान, बस्नसमेत अभाव हुने गरेको छ। नेपालमा संघीयताको पहिलो अनुभव भएकोले सुरुमा केही समस्या देखिए पनि यो समस्या विस्तारै हट्दै जाने जानकारहरुको भनाइ रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.