|

काठमाडौं :  नेपालको लोकदोहोरीमा युवा गायक/गायिकाको नाम झट्ट सम्झिनुपर्‍यो भने विष्णु खत्रीको नाम अघिल्लो पंक्तिमा आउँछ। यो कुनै भोटिङ प्रणालीबाट लिएको तथ्यांक होइन। यो त उनका गीतलाई आमदर्शक/श्रोताले दिएको मायाको नतिजा हो।

'सिसा टल्केको' बोलको लोकदोहोरीबाट नेपाली लोकदोहोरी क्षेत्रमा उदाएका उनले त्यसपछि कहिल्यै पछाडि फर्कनुपरेन। समाजमा रहेको बेरोजगारी, उत्पीडन, गरिवी, अभाव, छुवाछुत प्रथाविरुद्ध उनका एक से एक गीत छन्। उनी भन्छन्, 'गीत संगीत विशुद्ध मनोरजंनको साधन मात्र मान्नु गलत हो। गीतहरू मनोरंजनात्मक साथसाथै चेतनामूलक र सन्देशमूलक हुन नितान्त आवश्यक छ।' 'किसान दाइको हलो र जुवा', 'भरिया दाइले बिसाउने भारी', 'दुना टपरी', 'नयाँ जमाना', 'जम्मु कास्मिरमा', 'सुनको जलप', 'कि लास चाहियो कि सास चाहियो'लगायतका गीतबाट आम नेपाली श्रोता/दर्शकको माया पाएका उनी हाल पनि नयाँ सिर्जना गर्नमा तल्लीन छन्। उनी भन्छन्, 'गीतका शब्द र लय हाम्रो समाजमा कति छन् कति, मात्र हामीले सही तरिकाले उत्खनन् गर्न सकेका छैनौँ।'

'कि लास चाहियो कि सास, खै उनी कहाँ छन्?'

दश वर्षे जनयुद्ध भयो, नेपाली जनताका दु:खका दिनहरू थिए। बिहान सकुशल गाई चराउन गएको छोरो साँझ घर फर्किएन। स्कुल पढ्न गएकी छोरी साँझ घर फर्किइन। जनतालाई सूचना दिने पत्रकार साँझ घर फर्किएन। देशको कर्णधार जन्माउन अँध्यारोलाई उज्यालो बनाउन लागिपरेका शिक्षकसमेत आफ्नो काम सकेर घर फर्किएनन्। यति मात्र होइन, देशको आर्थिक, भौतिक र सामाजिक परिवर्तनका लागि आवाज उठाउने धेरै नेपाली बेपत्ता भए।

युद्धको चपेटामा ती तमाम मान्छे परे, जो नेपाल राज्यमा बसोबास गर्थे। हत्या, हिंसा नेपालीको नियति बन्यो। मारेर होस् वा जिउँदै बेपत्ता पार्ने शृंखला बढ्दै गयो। यतिसम्म कि कतिलाई राती सुतेकै अवस्थामा समेत परिवारको अगाडिबाट बेपत्ता बनाइयो, जो कहिल्यै घर फिर्ता भएनन्। साँझमा केही ढिला घर फर्किने हो भने बाबा-आमा, श्रीमान-श्रीमती, छोरा-छोरीको होस हवास उड्ने गर्छ भने व्यवस्था परिवर्तन गर्छु भनेर हिँडेको मान्छे जनयुद्ध सकिएको आज १२ वर्ष भइसक्दा पनि बेपत्ता छन्। राज्यबाट बेपत्ता पारिएको होस् या त्यसबेला युद्धको नेतृत्व गरेको तत्कालीन नेकपा माओवादीले बेपत्ता पारेको होस्, जसले बेपत्ता पारे पनि आखिर उनीहरू कसैका छोराछोरी थिए। कसैका दाजुभाइ थिए। कसैका छोरीबुहारी थिए। उनीहरूको आवाज कसले उठाउने? यही कुरालाई मध्यनजर गर्दै वि. सं. २०६५ तिर एउटा गीत लेखे खत्रीले- 'कि लास चाहियो कि सास चाहियो' भन्ने भावको। उनी भन्छन्, 'संगीतमार्फत् पनि बेपत्ता परिवारलाई केही राहत पुग्छ कि भन्ने आशामा यो गीत लेखेको र गाएको हुँ।'

उक्त गीतको भिडियो उनले बेपत्ता परिवारको घरमा धादिङ गएर बनाएका हुन्। दबिएर बसेको जनताको आवाज सम्बन्धित निकायसम्म पुगोस् भन्ने नै रहेको बताउँदै उनी सम्झिन्छन्, 'त्यो गीत छायांकन गर्दा बेपत्ता परिवारका सदस्यका आखाँका आँसु आज पनि झल्झली याद आइरहन्छ।' उनको आफ्नै गाउँका उनका आफन्तसमेत बेपत्ता छन्। आफन्तको कुरा आउँदा उनी केही भावुक देखिए। सँगै हुर्किएका साथीसंगीहरू समेत आजसम्म नफर्कंदा उनका आफन्त जसरी बाटो हेरेर बसेका छन्, उसैगरी आफ्नो मोबाइलमा बेपत्ता आफन्तहरूको फोन आउला कि भनेर बसेका छन् उनी पनि।

उनी भन्छन्, 'यो गीत मात्र होइन, ती सारा बेपत्ता परिवारको साझा आवाज हो, जो आफ्ना बेपत्ता सन्तानको मुख हेर्न आज पनि उनीहरू आउलान् कि भनेर बाटोमा नजर बिछ्याएर बसेका छन्।'  

'भरिया दाइले बिसाउने भारी, सुन माया डाँडैको चौतारी'

बुबा भारतीय सैनिकमा थिए। उनको गाउँसम्म बाटो थिएन। बुबा नेपाल आउँदा भरियासहित आउँथे। हरेक वर्ष बुबाको आगमन हुँदा उसैगरी त्यो भरिया पनि बुबाका झोलीतुम्बा बोकेर आउने गर्थ्यो। यो क्रम हरेक वर्ष चलिरह्यो। एक दिन बुबा आँगनमा टुप्लुक्क आइपुगे। उसैगरी भरियाले भारी बिसायो। ज्याला स्वरूप भरियालाई एक सयको नोट दिए बुबाले। खत्री छक्क परे। तीन वर्षअघि पनि सय, अहिले पनि सय नै! यो बढो आश्चर्य लाग्यो उनलाई। उनी त्यो बेला ती भरिया दाइले भनेको सम्झन्छन्, 'यो पैसाले परिवार पाल्नुपर्‍यो। बालबच्चा पढाउनुपर्छ। न कहिल्यै नाम्लो र डोकाको जिन्दगी सकियो, न अभावले साथ छोड्यो। कस्तो खच्चडको जिन्दगी भयो।'

भरियाको यो कुराले खत्रीको दिमागमा करेन्ट लागेजस्तो भयो। छिमेकी देश कहाँकहाँ पुगे। नेपालीको भरिया जिन्दगी। न कुनै समृद्धि, न कुनै सम्पन्नता। मान्छे भएर जन्मिए पनि हरेक नेपालीको नियति खच्चडको भएपछि उनी विरक्तिए। हरेक दिन महँगी बढ्दो छ तर एउटा भरियाको कमाइ एक/डेढ सय रुपैयाँभन्दा माथि हुन नसकेपछि कसरी जिन्दगी सहज चलाउन सक्छ? गाँस, बास, कपास, स्वास्थ्य, शिक्षाको सुनिश्चितता गरिदिने काम त सरकारको हो तर विडम्बना! समृद्धिका ठूला गफ गरेर जनताको वास्तविक धरातल कहाँ छ भन्ने कुराको यथार्थ झल्को दिनका निम्ति खत्रीले 'भरिया दाइले बिसाउने भारी, सुन माया डाँडैको चौतारी' गीत लेखे- वि. सं. २०६२/०६३ मा। उनी भन्छन्, 'राजतन्त्रको विरुद्ध मैले यही गीत गाउँदै पनि धेरै ठाउँमा हिँडेँ।'  

नयाँ जमाना, काटे रगत सबैको रातै हो, सबै समान

नेपाली समाजमा धेरै समस्याहरू रहेका छन्। तीमध्ये जातीय विभेद नेपाली समाजमा जकडिएर बसेको सबैभन्दा ठूलो समस्याको रूपमा लिन्छन् खत्री। मानवीय संवेदना सबैको एउटै हो। यही धर्तीमा जन्मेका तिनै मान्छे कोही उचो र कोही निचो रहेको कुरा कतिसम्मको विडम्बना होला! हाम्रा पुर्खाले जुन किसिमको जातीय भेदभावको सामन्ती चलन ल्याए, त्यही सामन्ती सोच हामीसम्म पनि आइपुग्यो। यो जस्तो परम्परावादी सोचलाई हटाउनुपर्छ भन्ने उनलाई लागिरह्यो। शिक्षित वर्गबाट पनि फलानो जात तल्लो, फलानो माथिल्लो जात भन्ने सुनियो। उनले कतिसम्म देखे भने गाउँमा दलित समुदायलाई तिर्खा लाग्दासमेत धाराको प्रयोग गर्न दिइँदैनथ्यो। यसको उन्मूलन हुनुपर्छ भन्दै उनले २०६१ सालमा 'नयाँ जमाना' गीत लिएर आए। उनी भन्छन्, 'नेताका भाषणभन्दा कलाकारको गीत सुन्ने नेपाली जमात धेरै रहेको हुनाले यस्ता गीतले केही हदसम्म भए पनि आम जनतामा चेतना विकास होला भन्ने लागेरै मैले यो गीत गाएको हुँ।'

२०५७ सालमा गल्कोटको गाउँबाट गल्ला (पहिले पहिले व्रिटिस आर्मीमा भर्ती गराउन युवा जम्मा गरेर भर्ती केन्द्र पुर्‍याउने व्यक्ति)को सहारामा पोखरा झरेका विष्णु खत्री अहिले नेपाली लोकदोहोरीका होनहार गायक तथा शब्द संकलक हुन्। त्यसबेला ८९ जनाका लागि व्रिटिस आर्मीमा भिडेका उनीलगायत ८१ जना थिए भाग लिने। उनी उक्त भर्ती केन्द्रबाट अयोग्य ठहरिए। यदि भर्ती भएका भए हतिहार बोकेर विश्वको कुनै शहरमा हुन्थे उनी। नत्र ब्रुनाईका कुनै गाउँमा हुन्थे। उनी भन्छन्, 'ती देशमा म नेपाली लोकदोहोरी बोकेर माइकको साथमा पुगेको छु।' त्यो दिन अयोग्य ठहरिएर जिन्दगी कलाकारको रूपमा स्थापित बन्यो। नत्र त उनको जिन्दगी हतियारसँग लुकामारी खेलेर बित्ने थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.