|

उदयपुरः सिरहाको मिचैयाँदेखि ओखलढुंगा जोड्ने सिद्धिचरण लोमार्गको कटारी घुर्मी सडक खण्डको ठाटीभीर सडक नै बन्द गरेर मर्मत गर्ने काम भइरहेको छ। ठाँटीमा धमाधम आरसीसी ढलान र कालोपत्रेको काम भएको वेला गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध गरे। 

केही दिनअघि मात्र इलाका प्रशासन प्रमुख प्रशासकीय अधिकृत सुनिल पौडेललगायतको टोलीले अनुगमन पनि गर्‍यो। अनुगमनमा गएका कटारी नगरपालिका इन्जिनियर भूपेन्द्र यादवले स्टिमेटको आधारमा हुनुपर्ने ५.५ मिटर आरसिसी ढलान हुनुपर्नेमा ४.५ मिटर मात्र गरेको टार्न लागेको भेटिएको बताए। ६० सेन्टीमिटरको नाला हुनुपर्नेमा नाला नबनाइ काम भएको फेला पर्‍यो। 

विकास निर्माण सेवा सिरहाले एक वर्षअगाडि नै तीन महिना भित्रमा काम सक्ने गरी सडक नै बन्द गरेको काम गर्ने सम्झौतामा ठेक्का लिएको थियो। तर, अहिले एक महिनाको लागि सडक नै बन्द गरेर आर्थिक वर्षको अन्त्यमा काम गरेको छ। गुणस्तरहीन काममा सुधार गर्न निगरानी गरिएको र सडक डिभिजन कार्याललाई स्टिमेटको आधारमा काम गराउन इलाका प्रशासन कार्यालय कटारीका सुनिल पौडेलले पत्र पठाएको बताए।

कालोपत्रे पिचको काम अम्बे बिल्डर्स प्रालिले ठेक्का लिएको छ। उसको पनि समय एक वर्ष भइसकेको छ। उसले पनि आर्थिक वर्ष अन्त्य भएपछि काम थालेकाले गर्दा कुनै पनि स्टिमेटको आधारमा काम गरेको छैन। फिल्डमा कुनै प्राविधिक पनि राखिएको छैन। कामदार हरुले आफ्नै पारामा काम गरिरहेको भेटिएको पौडेलको भनाई छ।

कटारी नगरपालिका-१४ का वडा सदस्यले पाँच वर्ष अघि निर्माणको ठेक्का लिएको विद्यालयको चार कोठेभवन अझै सम्पन्न भएको छैन। वडासदस्य लीलाबहादुर थापाले चन्द्रवति माध्यमिक विद्यालयको भवन  निर्माण गर्न ०७० मा जिल्ला शिक्षा कार्यालय उदयपुरबाट २४ लाख र साविकको लेखानी गाउँ विकास समितिबाट ९५ हजार रुपैयाँको बजेटमा चार कोठे पक्की भवन बनाउन ठेक्का लिएका थिए। उक्त भवन पाँच वर्षसम्म पनि बनेको छैन।

निमार्ण सम्पन्न नभएपछि स्थानीयले भ्रष्टाचार गरेको आरोपसमेत लगाए। निर्माणाधीन भवन जीर्ण बन्दै गएको छ। विद्यालयको भवन समयमै सम्पन्न नहुँदा पठन पाठनमा समस्या आएको प्रधानध्यापक अर्जुन मगरले बताए। भवनको ठेक्का लिने वडा सदस्य निर्वाचिन भएर स्थानीय तहमा काम गरिरहेका  छन्। तर, विद्यालयको भवन अझै बनाएका छैनन्।

उदयपुरको कटारी नगरपालिका १० सोरुङ छब्बीसेको हर्रा भञ्ज्याङ भालुखोला जोर्तीघाट सडक निर्माण उपभोक्ता समिति र सव इन्जिनियबीच दोहोरी चल्यो। उपभोक्ता समितिले  कटारी नगरपालिकाका सव इन्जिनियर ओम मिश्रले २० घुस लिएको आरोप लगायो।

कटारी कै स्थानीय व्यवसायी कृष्ण थापाको स्काइभेटर तथा जेसिवि उपभोक्ता समितिले प्रयोग गरेको थियो। उपभोक्ता समिति र जेसिवि मालिक थापाले स्टिमेटका आधारमा काम घटाई पैसा बचाउन खोज्दा विवाद भएको नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए। ‘जिसिविले १९ घण्टा काम गरे पनि १० घण्टा देखाएर नगरपालिकाका लिने कर कम गर्न सव इन्जिनियर दवाव दिएका रहेछ,’ उनले भने, ‘पछि सव इन्जिनियर नमानेपछि २० हजार घुस लिएको आरोप लगायो।’

जेसिवि तथा स्काइभेटर व्यवसायीले २० घण्टाको पैसा उपभोक्ता समिति तथा ठेकेदाहरूबाट लिएर पनि नगरपालिकाकालाई बुझाउनु पर्ने शुल्क कम गरेर पैसा बचाउन समय घटाउने कुरामा विवाद भएको भेटिएको इलाका प्रशासन कार्यालय कटारी सुनिल पौडेलले बताए। यी तीन फरक फरक घटना उदाहरणका  मात्र हुन्। उदयपुरमा उपभोक्ता समितिका लापरवाही, ठेकेदारको काम छली संस्कार परम्परा नै भइसकेको छ।

सिँचाइ, सडक, भवन, पुल अलपत्र पारेको देख्न सकिन्छ। त्यस्ता ठेकेदारको खोजी कार्य समेत भएको छैन। त्यसमा पनि सडकमा जेसिवि तथा स्काभेटरले व्यवसायी र उपभोक्ता समितिका पदाधिकारी मिलेर थोरै घण्टा काम गरेर पनि धेरै घण्टा देखाएर झ्वाम पार्ने गरेका छन्। कतै धेरै काम गर्दा पनि नगरपालिका तथा गाउँपालिकालाई थोरै देखाउने स‌ंस्कार पुरानो भइसकेको छ। 

जुन उपभोक्ता समिति र ठेकेदारको पैसा बचाउने माध्यम हो। ‘उपभोक्ता समितिका पदाधिकारी भन्छन्, 'हामीले पनि स्काभेटर प्रयोग गरेकै समय देखाएर पैसा बचाउने हो,’ म स्काभेटर व्यवसायी हुँ।' मेरो नाम भन्न मिल्दैन भन्दै उनले भने, ‘हामीले कसरी काम पाउँछाैँ। बचतका लागि त्यसै गरी काम गर्छाै‌ं। त्यसैको आधारमा उपभोक्ता समिति तथा ठेकेदारसँग मिलेर काम गर्नेछौँ।’ यसरी काम गर्दा कतै पनि गुणस्तरीय चाहिँ हुँदैन। सरकारी पक्ष पनि यसमा नमिलिकन सुख्खै हुँदैन। नमिल्दा विवाद हुन्छ।’

पछिल्लो समय गृह मन्त्रालयले काम चोर ठेकेदारबिरुद्ध चालेको कदम पनि उदयपुरमा ठप्प जस्तै छ। देशव्यापी रूपमा काम अलपत्र पारेका ठेकेदार पक्राउ पर्ने लहर चले पनि उदयपुरमा ठेकेदारको सूची समेत तयार नभएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जानकारी दिएको छ। प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले ठेकेदारको सूची गृह मन्त्रालय पठाएको बताए। 

कुन कुन ठेकेदारले कहाँ कहाँ काम गरिरहेका छन् भन्ने सूचना गृहमा

‘हामीले सबै ठेकेदारको सूची तयारी बनाएर काठमाडौं पठाएका छौँ,’ प्रजिअ कार्कीले भने, ‘त्यसको जानकारी प्रशसकीय अधिकृत कुमार खड्कासँग छ।’ यता, प्रशासकीय अधिकृत कुमार खड्काले जिल्लामा सञ्चालन भएका आयोजनाबाट ठेकेदारको नामावली संकलन गरिरहेको बताए। ‘प्रयाजसो सवैले काम गरिरहेका छन् भन्ने आएको छ,’ उनले भने, ‘कुन-कुन ठेकेदारले कहाँ काम गरिरहेका छन् भनेर हामी सूची तयारी गरिरहेका छौँ।’

प्रजिअ कार्कीले पनि सूची तयार गरेको जानकारी दिए पनि प्रशासकीय अधिकृत खड्काको भनाइमा उदयपुरमा कुनै पनि ठेकेदारको नाम गृह मन्त्रालय पनि पुगेको छैन। अनि ठेकेदारप्रति कुनै कदम नचालिएको प्रष्ट देखिन्छ। ‘एक लाखदेखि करोडसम्मका भवन पुल, सडकको ठेक्का स्थानीय ठेकेदारले लिएका छन्,’ स्थानीय पत्रकार तुलसी कोइराला भन्छन्, ‘अहिलेसम्म कोही कारबाही पनि परेनन्, अनि जिल्ला प्रशासनबाट ठेकेदारको सूची माग्दा समेत पाएको छैन। यो रहस्यमय छ।’ 

स्रोतका अनुसार प्रमुख जिल्ला अधिकारसमक्ष ठेकेदारहरू बाक्लै उठबसमा हुन थालेको छ। प्रजिअले बोलाउँदा समेत नजाने ठेकेदारहरू अहिले क्वाटरमै भेट्ने पुग्ने गरेको जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले बताए। ‘मलाई अचम्म लागेर आएको छ, गृहमन्त्रालयले ठेकेदारको सूची माग्न र कारबाही गर्न थालेपछि ठेकेदारहरू प्रमुख जिल्ला अधिकारीलाई भेट्न आउन थालेका छन्,’ नाम गोप्य राख्ने सर्तमा उनले भने, ‘प्रमुख जिल्ला अधिकारीले कार्य कक्षमा आएका ठेकेदारलाई क्व‍ाटरमै लाने गरेका छन्, किन लान्छन्, थाहा छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.