|

बैतडी : बैतडीका किसानहरुको पछिल्लो समयमा आधुनिक कृषि यन्त्रमा आकर्षण बढ्दै गएको छ। खेत जोत्न, धान, गहुँ चुटन्, मकै छर्नेलगायतका काममा किसानहरुले आधुनिक कृषि यन्त्रहरूको प्रयोग गर्न थालेका हुन्। 

गोरुको पाल्नुभन्दा खेत जोत्नका लागि आधुनिक कृषि यन्त्रहरुले सजिलो हुने भएकाले यसमा किसानको आकर्षण बढ्दै गएको हो। 

गोरुले खेत जोट्नुको सट्टा पछिल्लो समयमा व्यवसायिक किसानहरुले हाते ट्याक्टर, ट्याक्टरले खेत जोत्न थालेका छन् यसका साथै धान गहुँ चुट्नका लागि थ्रेसरको प्रयोग गर्न थालेका छन्। खेत जोत्नका लागि गोरुभन्दा कृषि यन्त्रले सजिलो हुने भएकाले ट्याक्टर मार्फत खेत जोत्नेको संख्या बढ्दै गएको दोगडाकेदार गाउँपालिका ६ पञ्ज्यूनयाँका बीरसिंह कार्कीले बताए। उनले भने, ‘समयको बचत तथा सहजताका लागी अहिले गाउँमा धेरैले ट्याक्टरले खेत जोतेकोे छ।’ 

गोरुले एकदिनमा जोत्ने खेत हाते ट्याक्टरले दुईघण्टामा सक्ने भएकाले समय र श्रमको समेत बचत भएको सुर्नया २ का किसान मोहनबहादुर बिष्टले जानकारी दिए। हातेट्याक्टरले खेत जोत्न सजिलो भएकाले आफूले गएको ८ बर्षयता हात्ट्याक्टरको प्रयोग गरिरहेको उनले जानकारी दिए। हाते ट्याक्टरका साथै किसानहरुले थ्रेसर मेसिन समेत खरीद गरेको जिल्ला कृषि विकास कार्यालय बैतडीका जेटीए महेश अवस्थीले बताए। उनले भने, ‘गोरु पाल्नुभन्दा कृषिका आधुनिक उपकरणले खेत जोत्न सजिलो हुने भएकाले यस तर्फ किसानको आकर्षण बढेको छ।’  

जिल्ला कृषि विकास कार्यालयले विगतदेखि नै कृषिका आधुनिक उपकरणमा अनुदान दिँदै आएको छ। बैतडीमा किसानहरूलाई आधुनिक कृषिका उपकरण खरीदका कृषि तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत ८० प्रतिशत अनुदान दिइएको जिल्ला कृषि विकास कार्यालय बैतडीका योजना अधिकृत कर्णबहादुर चन्दले जानकारी दिए। उनले भने, ‘एकसय बढी किसानले अनुदानमा विभिन्न कृषि यन्त्रहरु लगेको छ।’ 

श्रम र समयको बचत हुने भएकाले कृषि यन्त्रमा किसानहरुको आकर्षण बढेको समेत उनले बताए। जिल्लाको बेसी क्षेत्र तर्फका किसानहरुले बढीजसो कृषि यन्त्रको प्रयोग गर्ने गरिरहेको  बताईएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.