चार वर्षदेखि साइन बोर्ड नै छैनन्

|

दार्चुला : नेपाल, भारत र चीनको सिमानामा पर्ने दार्चुला जिल्लामा विगतका वर्षयता सीमा प्रशासन कार्यालय नै गायब भएका छन्। कागजपत्रमा कोठा भाडामा लिएर कार्यालय सञ्चालनमा रहेको देखिए पनि सीमा प्रशासन कार्यालय दार्चुलाको कुन ठाउँमा छ? कसैले भन्न सक्दैन, तर कर्मचारीहरू अन्य सरकारी कार्यालयमा कार्यरत भेटिन्छन्। कार्यालयहरू नदेखिए पनि सदरमुकाम खलंगा र व्याँसको छाङरुमा भने सीमा प्रशासनको कार्यालयका लागि भनेर घर भाडामा लिएको पाइएको छ।

त्रिदेशीय सीमाक्षेत्र रहेको दार्चुला जिल्लाको व्यासमा ४० वर्षअघि सीमा प्रशासन शाखा स्थापना गरिएको थियो। सीमा क्षेत्रमा राज्यको उपस्थिति र क्रियाशीलता बढाउन जिल्ला प्रशासन कार्यालय मातहत छुट्टै शाखा राखिएको थियो। पञ्‍चायतकालमा स्थापना गरिएको शाखाको नाम पछिल्लो समय सीमा प्रशासन कार्यालय राखिएको हो। 

सीमा प्रशासन कार्यालयको नाममा शाखा अधिकृतसहित पाँचजना कर्मचारी दरबन्दीमा छन्। गृह मन्त्रालयले छुट्टै वार्षिक बजेट पनि उपलब्ध गराउँदै आएको छ। तर, कागजमा देखिने सीमा प्रशासन कार्यालयको अस्तित्व सदरमुकाम खलंगा र व्यास दुवै ठाँउमा भेटिँदैन। सीमा कार्यालय भाडामा देखिने यी दुवै ठाउँमा न कार्यालय सञ्‍चालन भइरहेको छ न त कार्यालयको साइनबोर्ड नै छ । 

पछिल्ला केही वर्षदेखि सीमा प्रशासन कार्यालयको अस्तित्व नै नरहेको कर्मचारी स्वयं बताउँछन्। सीमा प्रशासन कार्यालयमा एक वर्षदेखि शाखा अधिकृतको दरबन्दी रिक्त छ। एकजना नायव सुब्बा, एकजना सहलेखापाल र दुईजना कार्यालय सहयोगी भने कार्यरत रहेको नासु सतिष साहले बताए। 

सीमा प्रशासनका कर्मचारीहरूले विगत चार वर्षदेखि जिल्ला प्रशासन कार्यालयमा हाजिर लगाउने र त्यही काम गर्ने गरेका छन्। नायव सुब्बा सतिष साह आफू दार्चुला आएदेखि जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँटमा काम गरिरहेको बताउँछन्। सहलेखापाल प्रेमबहादुर खड्काले प्रशासनका साथै मालपोत कार्यालयमा समेत लेखाको जिम्मेवारी सम्हालिरहेका छन्। दुईजना करार सेवाका कार्यालय सहयोगीले दैनिक रूपमा जिल्ला प्रशासन कार्यालयको कामकाज गरिरहेका छन्। 

आफूहरू यहाँ आउनु अघिदेखि यस्तै अवस्था रहेको अहिलेका कर्मचारी बताउँछन्। २०७२ देखि व्यासको छाङरुमा रहेको कार्यालयमा कुनै पनि कर्मचारी पुग्न सकेका छैनन्। ‘भएका कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालयमै काम गरिरहेका छन्’ नायव सुब्बा सतिष साहले भने। 

सीमा प्रशासन कार्यालयको रेखदेख, समन्वय र परिचालनको महत्त्वपूर्ण जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको हुने सेवानिवृत शाखा अधिकृत फकिरसिह धामीले बताए। प्रमुख जिल्ला अधिकारीले सीमा क्षेत्रको अवस्थाबारे मासिक रिपोर्टिङ पनि लिने व्यवस्था रहेको उनले बताए। तर संवेदनशील र महत्त्वपूर्ण सीमा प्रशासन कार्यालयको अस्तित्व नै मेटाइएको छ। भएका कर्मचारी अन्तै काममा खटाइएका छन् र नियमित रूपमा सीमा प्रशासन कार्यालयको नाममा आइरहेको बजेट खर्च भइरहेको छ।

दुई वर्षदेखि छाङरु पनि कर्मचारीविहीन

२०७२ सालसम्म एकजना कार्यालय सहयोगी पुगेर व्यासको छांरुमा चैत्रदेखि असोज महिनासम्म कार्यालय खोल्ने गर्दथे। छाङरुको कार्यालयबाट कुनै प्रकारको दैनिक सेवा प्रवाह नभए पनि राज्यको उपस्थिति भने भइरहेको थियो। २०७२ सम्म आफूले छाङरुको कार्यालय सञ्चालन गरेको र त्यसपछि कार्यालय सञ्चालन हुन नसकेको सीमाका तत्कालीन कार्यालय सहयोगी जयानन्द भट्टले बताए। भट्टको सीमाबाट सरुवा भइसकेको छ। 

खलंगा र छाङरु दुई ठाँउमा सीमा प्रशासन कार्यालय सञ्चालन हुने गरेकोमा अधिकांश कर्मचारीको उपस्थिति खलंगामा हुने गर्दथ्यो। आवश्यकताअनुसार विगतमा शाखा अधिकृत, नायव सुब्बास्तरका कर्मचारीले व्यास क्षेत्रको भ्रमण गर्ने गरेको कार्यालय सहयोगी जयानन्द भट्ट बताउछन्। तर सात वर्षदेखि अधिकृत वा सुब्बास्तरका कुनै पनि कर्मचारी व्यास क्षेत्र पुगेका छैनन्। 

विगत चार वर्षदेखि साइन बोर्ड नै छैन 

घरभाडामा मात्रै अस्तित्वमा देखिएको सीमा प्रशासन कार्यालय दार्चुला कहाँ छ? न कसैलाई थाहा छ न यता छ भनेर चिनाउने साइन बोर्ड नै छ।

विगत चार वर्षदेखि खलंगामा प्रशासन कार्यालयको साइनबोर्ड नै नभएको नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामी बताउँछन्। ‘कार्यालयको साइनबोर्ड नै छैन, छ भने कहाँ छ खोजौँ’ उनले भने।

सीमा प्रशासन कार्यालयको प्रमुखको जिम्मेवारीमा २०७४ पुषदेखि नासु साह बताउछन्। यद्यपि उनी १८ महिनादेखि सीमा कार्यालयमै कार्यरत रहेका छन्। २०७४ पुषअघि तत्कालीन प्रमुख जिल्ला अधिकारीहरू वासुप्रसाद कोइराला र जनार्दन गौतम आफैँले सीमा प्रशासन कार्यालय प्रमुखको भूमिका निर्वाह गरेको अभिलेख छ। ‘तत्कालीन सिडियोले नै नेतृत्व गर्दा पनि कार्यालयको साइनबोर्डसम्म कतै नराखिएको’ पत्रकार महासंघ अध्यक्ष शंकरसिह धामीको भनाइ छ। 

कोइराला र गौतमको सरुवा भएपछि भने सीमा प्रशासन कार्यालयकै नासु साहलाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ। कर्मचारीहरूको खटनपटन र परिचालनको जिम्मेवारी सिडियोको हुने गर्दछ। अहिले कार्यालय प्रमुखमा साहलाई जिम्मेवारी दिइए पनि सीमा प्रशासन कार्यालय सञ्चालनमा छैन। साहले जिल्ला प्रशासन कार्यालय अन्तर्गतको नागरिकता फाँटको जिम्मेवारी सम्हालिरहेका छन्। 

करिब एक महिनाअघि मात्रै दार्चुलाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी आएका खुमकान्त आचार्य यसबारे आफूले अध्ययन गरिरहेको बताउछन्। आवश्यकताअनुसार आफूले कर्मचारी व्यवस्थापन गर्ने उनले बताए। सीमा प्रशासन कार्यालय सञ्चालन कहिलेसम्म हुन्छ भन्ने विषयमा भने उनले समयसीमा दिन सकेनन्। 

चार दशकदेखि छुट्टै अस्तित्वमा रहेको सीमा प्रशासन कार्यालय सञ्चालनमा ल्याउनुपर्ने पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिंह धामी बताउँछन्। ‘कार्यालयको नाममा छुट्टै अख्तियारी छ, कर्मचारी छन्, सरकारको नियमित खर्च भइरहेको छ तर कार्यालय सञ्चालन नहुनु गम्भीर कमजोरी हो’ अध्यक्ष धामीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.