|

न्युजिल्याण्डका जोन वाट्सन यस्ता रेडियो प्रसारक हुन्, जसले श्रोतालाई सुत्न मद्दत गर्छन्। उनको रेडियोको उद्देश्य नै श्रोतालाई सुत्न सघाउनु हो।

न्युजिल्याण्डको सानो शहर टे अरोहामा बस्दै आएका वाट्सनले विगत चार वर्षदेखि स्लिप रेडियो प्रसारण गर्दै आएका छन्। तर उनी श्रोता आफ्नो सामग्रीमा मग्न बनुन् भन्ने चाहँदैनन्। उनी चाहन्छन् श्रोता सुतून् र ती सुत्छन् पनि।

उनलाई नियमित सुन्न मनपराउनेहरू न्युजिल्याण्डमा सीमित छैनन्, अफगानिस्तान, इजरायल, रसिया, हंगेरी, ताइवान र पोर्टोरिकमासम्म उनका प्रशंसकहरू छन्। प्रागमा बसोबास गर्ने एक जनाले त लगातार तीन दिनसम्म रेडियो सुने अरे!

वाट्सनलाई यो रेडियो संचालन गर्ने आइडिया १० वर्षअघि फुरेको हो, जतिखेर उनलाई हार्ट अट्याक भएको थियो। पाँचवटा कोरोनरी आर्टरी वाइपासबाट गुज्रिएका वाट्सन त्यतिखेर क्रोनिक डिप्रेसन र इन्सोम्नियाको सिकार बनेका थिए।

'मलाई पहिले पहिले सुत्नलाई कुनै समस्या थिएन तर डिप्रेसनमा गएताका म रातरातभर सुत्न सक्दिनथेँ', उनले सम्झिए, 'म जागै रहेर घाम उदाएको हेर्थें। म त मान्छे नभएर भुतप्रेत पो हुँ कि झैँ लाग्थ्यो।'

औषधि उपचार त चलिरहेकै थियो, मनोपरामर्शदाताले उनलाई रिल्याक्सेसन म्युजिक सुनाएर सुताउन मद्दत गर्थे। खासगरी उनीहरूले वातावरणीय संगीतको प्रयोग गर्थे, जसमा गायकको स्वर वा कुनै वाद्यवादनको प्रयोग भएको हुँदैनथ्यो।  त्यसपछि बल्ल ६२ वर्षीय वाट्सनले वातावरणीय संगीतको महत्त्व बुझे र त्यसको प्रशंसक बने।

'त्यसो त रेडियोहरूमा पनि रिल्याक्सिङ म्युजिक प्रसारण नहुने होइन, हुन्थ्यो। तर रेडियो सुनेर झकाउँदै गर्दा एक्कासि विज्ञापन आइदिन्थ्यो। विज्ञापनमा त्यही त हो, घरि यो किन्, घरि त्यो किन् भन्दै चिच्याउँछन्। निद्रा त कता पुग्थ्यो कता!',  वाट्सनले भने।

उनलाई योभन्दा राम्रो त बरु मै गर्छु भन्ने लाग्यो।

त्यसपछि उनले रोयल्टी नलाग्ने किसिमका प्राकृतिक संगीत खोज्न थाले। ससानो संग्रह नै तयार पारे। त्यसपछि रेडियो संचालनबारे अध्ययन गर्न थाले। इन्टरनेटमार्फत् डिजिटल रेडियो संचालनबारे सिक्न उनलाई कुनै आइतबार कुर्नुपरेन। यसरी स्लिप रेडियोको जन्म भयो।

'यो मेरो रुचि पनि हो, सोख पनि हो', वाट्सनले भने। उनलाई प्रशंसकहरूका कैयौँ ईमेल आउँछन्, यहाँसम्म कि भर्खरका सुत्केरीहरू समेत आफ्नो बच्चा वाट्सनको फ्यान बनेको सुनाउँछन्।

प्राकृतिक संगीतले सबैलाई उत्तिकै असर गर्छ भन्ने छैन। उदाहरणका लागि उनकै श्रीमती, जसलाई प्राकृतिक संगीत ताल न सुरको लाग्छ तैपनि वाट्सनको उत्साह घटेको छैन। उनले भर्खरै रेडियोको मोबाइल एप्ससमेत तयार पारेका छन्, जसमार्फत् टाइमर लगाएर रेडियो सुन्न सकिन्छ।

प्राकृतिक संगीतको उत्पादन घट्दै गएकामा भने उनी खिन्न देखिए। उत्पादकहरू नभएका होइनन् तर वातावरणीय संगीतको नियम नै अलिक अप्ठ्यारो छ। यसमा स्वर हाल्न पाइँदैन, पियानो वा गितार बजाउन पनि पाइँदैन, न समुद्रको, न त चराको आवाज नै मिसाउन पाइन्छ।

'मलाई अचम्म लाग्छ, खै कति कलाकारले पो यस्तो संगीतको उत्पादनमा रुचि देखाउलान्!', वाट्सनले भने, 'यसमा न प्रसिद्ध छ, न त पैसा नै बरु अरू गीतसंगीतमा लाग्दा उनीहरूलाई फाइदा होला।'

एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.