|

जनकपुरधाम : प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेशसभाको बैंठकमा प्रदेश प्रमुख कायस्थलाई सरकारको नीति तथा कार्यक्रम हस्तान्तरण गरेपछि कायस्थले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। 

सरकारले प्रदेश प्रमुखमार्फत प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेपाल सरकारको चौधौं आवधिक योजना (०७३/०७४-२०७५/०७६) मा उल्लेखित लक्ष्य, उद्देश्य, रणनीति र प्राथमिकतामा प्रदेश सरकारको १०० दिने कार्यक्रमका प्राथमिकता एवं तत्काल राहत प्रदान गर्ने क्षेत्रलाई प्राथमिकतामा राखी समष्टिगत तथा विषयगत क्षेत्रका निर्दिष्ट लक्ष्य हासिल गर्न कार्यक्रमहरुलाई प्राथमिकताका साथ अघि बढाउने लक्ष्य लिएको छ। 

कृषि र उद्योग

‘हर खेतमे पानी, हर हातमे काम’ मूल नारासहित खेती गर्न नचाहने जग्गा धनीले खेतीयोग्य जग्गा लिजमा दिन सक्ने र जग्गा नभएका किसानहरूलाई कृषि क्षेत्रमा आकर्षिक गराउँन चक्लाबन्दी गरी खेतीमा योगदान दिइनेछ। साथै आगामी २ वर्षभित्र किसान भूमि बैंक स्थापना गरी प्रदेश र स्थानीय तहको समन्वयमा सहकार्य गर्ने लक्ष्य लिएको छ। 

प्रदेशमा माटो परीक्षण प्रयोगशाला, बाली संरक्षण प्रयोगशाला, खाद्यगुणस्तर जाँच प्रयोगशाला स्थापना गर्न र प्रदेशमा रहेका प्रयोगशालाहरूको आवश्यक स्तरोन्नति गरिने छ। यसैगरी छरिएर रहेका तथा अव्यवस्थित सरकारी पर्ती जग्गाको तथ्यांक संकलन गरी  संरक्षण र उपयोगका लागि आवश्यक नीति अघि बढाइने छ। साथै गुठीका जग्गाको अभिलेख संकलन, व्यवस्थापन, संरक्षण तथा नियमन गर्न गुठी संस्थानसँग समन्वय गरी आवश्यक नीति तथा ऐन तर्जुमा गरिने नीति लिएको छ।
गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र, राजविराज, सिमरा विशेष आर्थिक क्षेत्र तथा जलेश्वर ढल्केवर औद्योगकि करिडोरको रुपमा विकास गर्न पहल गर्दै प्रदेशमा रहेका चिनी उद्योग र उखु कृषक तथा मजदुरहरूको बीचमा रहेका समस्याहरूलाई समन्वयनकारी भूमिका निर्वाह गर्दै समस्या समाधान गर्नेतर्फ आवश्यक पहल गरिने जनाइएको छ। 

बीरगंज चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना जस्ता बन्द उद्योगहरूको स्रोत, साधन, क्षमताको पहिचान गरी प्रदेश सरकारअन्तर्गत ल्याएर पुनः संचालन गर्ने वा वैकल्पिक उद्योगमा रुपान्तरण गर्ने सन्दर्भमा अध्ययन गरी नीति तथा कार्यक्रममा समावेश गरिएकोछ। जनकपुर-जयनगर रेलमार्ग, बीरगंज अमलेखगंज पेट्रोलियम पाइपलाइन, सिमरा विशेष आर्थिक क्षेत्र, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, कोशी जल यातायात,जस्ता राष्ट्रियस्तरका आयोजनाबाट प्रदेशअन्तर्गतका औद्योगिकीकरण, बाणिज्य व्यापारलाई टेवा पुग्ने खालका नीति नियम तर्जुमा गरिने जनाइएको छ। 

वन, वातावरण र पर्यटन

चुरे संरक्षण कार्यक्रमलाई संचालन गर्न जन स्तरमा ‘चुरे जोगाऔं, मधेस बचाऔं’ नारालाई आभियानका रुपमा संचालन गरिनेछ। यस्तै शहरी क्षेत्रको सरसफाई र पर्यावरणीय संरक्षण तथा प्रवर्द्धनका लागि स्थानीय सरकारहरूसँग सहकार्य गर्दै इको पार्क, चिडियाखाना, उद्यानहरूको स्थापनामा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। यसैबीच विश्वका हिन्दूहरूको जानकी मन्दिरको परिसरलाई भव्य एवं आकर्षक बनाउन सिंगमर्मर अाेछ्याइ सौन्दर्यीकरण गरिनेछ। यसैगरी धनुषाको नेमीनाथ-मलीनाथ, धनुषाधाम, सप्तरीको छिन्नमस्ता, ठेलिया दह, सम्भुनाथ, दिनाभद्री र कंकालनी, सिरहाको सलहेश, महादेव मठ, कमला उतराईनी, बाबा ताल, कमलदह, राजदेवी मन्दिर, सर्लाहीको नाढिमन ताल, माहादेव स्थान, मूर्तिया, सती विहुला, नारायणपुर नाजिर मजारलाई विकासमा जोड दिइने छ। यसैबीच महोत्तरीको मटिहानी स्थान, मडैको मरबा, बनौलीस्थित विद्यापतिको प्रवास स्थान, सोनामाई थान, पड़ौलस्थान, गेउरका, जलेश्वरनाथ र रौजा मजार, बाराको गढीमाई, सिमरौनगढ, झरोखर पोखरी, त्रिवेणी धाम, रौतहटको शिव मन्दिर, पर्साको ऐतिहासिक गहवा माई मन्दिर,पारसनाथ मन्दिर, बीरगंजको भिश्वा डाँडा बौद्ध स्थल, भाठा शिवजी मन्दिर जस्ता ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थलहरूको संरक्षण सम्बर्द्रन र प्रबर्द्धमामा जोड दिइनेछ। साथै पर्सा वन्य जन्तु आरक्षलाई पर्यटकीय दृष्टिकोणले आकर्षक बनाउन निजी क्षेत्रसँग सहकार्य गरी विकास गरिने नीति प्रदेश सरकारले लिएको छ।

विद्युत र साैर्य ऊर्जा

प्रदेशलाई वैकल्पिक उर्जा केन्द्रको रुपमा विकास गर्न यसैवर्ष ५० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ। साथै आगामी वर्षहरूमा उत्पादन बृद्धि गर्दै सिंचाईको लागि सौर्य उर्जाको अधिकतम प्रयोग गरिने नीति अगाडि बढाइएको छ। साथै कोशी पम्प, कमला, वाग्मती, नारायणी, सिंचाइ प्रणालीहरूको संचालन तथा विस्तारको कार्यलाई थप प्रभावकारी बनाउन संघीय सरकारसँग सहकार्य र समन्वय गरिनेछ। सुनकोशी-कमला, सुनकोशी-मरिन डाइभर्सन जस्ता बहुउद्देश्यीय आयोजनाहरुको अध्ययन तथा विकासको कार्य अघि बढाउन संघीय सरकारसँग सहकार्य र समन्वय गरिने भएको उल्लेख छ। 

शिक्षा र स्वास्थ्य 

मुख्यमन्त्रीले ल्याएको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई अवलम्बन गर्दै निम्न आय भएका परिवारमा जन्मिने छोरीहरूको शिक्षाको निरन्तरतालाई कायम राख्न शिक्षा बिमाको योजना अगाडि सारिएको छ। साथै कक्षा ९ र १० मा अध्यनरत छात्रा विद्यार्थीहरूलाई साइकल वितरण गरिने कार्यलाई निरन्तरता दिइने नीति लिएको छ। स्थानीय सरकारसँगको समन्वयनमा प्राथमिक तहदेखि मातृभाषामा शिक्षा नीति लागू गर्दै मातृ भाषामा प्राथमिक तहको शिक्षा संचालन गरेका विद्यालयहरूलाई प्रोत्साहन गरिने भएको छ। यसमा मातृ भाषामा शिक्षा दिदा बहुसंख्यक भाषाभाषीलाई प्राथमिकता दिइने छ।

स्वास्थ्य क्षेत्रमा वीरग‌ंजको नारायणी उप क्षेत्रीय अस्पताललाई हृदयरोग उपचार केन्द्रको रुपमा विकास गर्ने, जनकपुर अंचल अस्पतालमा हृदयरोग उपचारको युनिट खडा गरी हृदयरोग उपचार सेवा जनकपुर मै उपलब्ध गराइने भएको छ। प्रादेशीक स्तरमा अर्बुदरोग अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्दै प्रदेशस्तरीय ट्रमा केन्द्र स्थापना गर्न पहल गर्ने भएको छ। साथै गजेन्द्रनारायण सिंह अंचल अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकसित गर्दै स्वास्थ्य तथा चिकित्सा विश्वविद्यालय स्थापना गरिनेछ। यसैबीच डोम, मुसहर, चमार, दुसाध र हलखोर जातिका बालबालिकाहरूलाई विद्यालयमा ल्याउने, सिकाउने र टिकाउन अभियान संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

सञ्चार 

जनतामा स्तरीय समाचार प्रवाहका लागि प्रादेशिक रेडियो स्थापना गरिने भएकोछ। पत्रकारितासम्बन्धी अध्ययन अध्यापन समेतको लागि प्रादेशिक स्तरमा पत्रकारिता अध्ययन प्रतिष्ठान स्थापना गरिनेछ। संचार क्षेत्रलाई सवलीकरण गर्ने उद्देश्यले प्रदेश छापाखानका समेत स्थापना गरिने छ। यसैगरी मधेस आन्दोलनमा शाहदत प्राप्त शहीदहरूको सम्झनामा मधेस शहीद प्रतिष्ठानको स्थापना गरी शहीद पार्क निर्माण, शहीद परिवारको रेखदेख तथा शहीद परिवारको लागि एक परिवार एक रोजगार कार्यक्रम संचालन गर्ने उल्लेख छ। 

प्रदेशसभाको बैठकमा मुख्यमन्त्री लालबाबु राउतले पेश गरेको नीति तथा कार्यक्रमलाई प्रदेश प्रमुखले कायस्थले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम सदनमा टेबल गरेका थिए। टेवल पश्चात संघीय समाजवादी फोरम नेपालका प्रदेश २ का प्रमुख सचेतक शैलेन्द्रकुमार यादवले धन्यावादको प्रस्ताव पेश गरेका थिए भने प्रस्तावको समर्थन सांसद मञ्जु यादवले गरेकी थिइन्।  

 


 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.