|

कपिलवस्तु : बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले द्वन्द्वकालमा बेपत्ता भएका व्यक्तिको विस्तृत छानविनका लागि बेपत्ता नागरिकको शवको डिएनए परीक्षण गर्ने भएको छ। आयोगले विस्तृत छानविन र तथ्यांक संकलनका लागि ‘एन्टिमोर्टम’ (बेपत्ता हुँदा बखतको हुलियासहितको अवस्था) तथ्यांक संकलन कार्यसमेत सुरु गरेको छ। 

फारममा व्यक्ति बेपत्तापूर्वका सम्पूर्ण विवरण भराउन आयोगकाे टोली बिहीबार कपिलवस्तु सदरमुकाम तौलिहवा आइपुगेको छ। जिल्लामा रहेका बेपत्ता पारिएका २४ जना उजुरीकर्ताको वैयक्तिक विवरण सामेल १९ पृष्ठको उक्त फारम आयोगले बिहीबारबाट तीन दिन भर्नेछ। बेपत्ता पारिएका २४ उजुरीमध्ये विस्तृत छानविनका लागि १९ वटा उजुरीको प्रक्रिया सुरु गरिएको छ। द्वन्द्वकालीन घटना अनुसन्धानका लागि गठित आयोगले प्रयोग गरेकोमध्ये यो विशिष्ट पद्धति रहेको आयोगको दाबी छ।  

आयोग सदस्य बिजुल विश्वकर्मा दुलालले विस्तृत अध्ययनका लागि तथ्यांक संकलन गर्न एन्टिमोर्टम फारम तयार भर्ने कार्य जारी राखिएको बताए। दुलालले संमणकालीन न्यायको घटना छानविनका लागि विश्वका कुनै पनि आयोगले प्रयोग गरेभन्दा नयाँ र वैज्ञानिक पद्धति विस्तृत अध्ययनमा अपनाइएको जिकिर गरे।  
उनले भने, ‘प्रारम्भिक उजुरीपछि विस्तृत अनुसन्धानका लागि हामीलाई बेपत्ता हुनुपूर्व अन्तिम अवस्थाका तथ्यांक चाहिन्छन्। ती तथ्यांक संकलनको फारम तयार भएर अहिले उजुरीकर्ताको व्यक्तिगत विवरण भरिरहेका छौँ।’

आयोगमा देशभरबाट तीन हजार १८३ वटा उजुरी संकलन भएको आयोगका सदस्य दुलालको भनाइ छ। त्यसमध्ये ४१४ उजुरी विस्तृत छानविनका लागि लैजाने उनले बताए। तौलिहवामा आयोजित बेपत्तापीडित तथा सरोकारवालाहरूसँग अन्तर्क्रिया कार्यक्रममा आयोगका सदस्य दुलालले आयोगको क्षेत्राधिकारभित्र नपरेका २८३ उजुरी तामेलीमा रहेको बताए। उनले दोहोरो उजुरी परेका ११९ गाभिएको बताए। आयोगमा कुल बेपत्ता दुई हजार ३७४ उजुरी परेका र ५९४ उजुरी विस्तृत छानविनका लागि लगिएको उनले बताए। 

वि. सं. २०५२ फागुन १ गतेदेखि २०६३ मंसिर ५ गतेसम्म सशस्त्र द्वन्द्वका क्रममा भएका मानवअधिकारको गम्भीर उल्लंघनका घटनामा संलग्न व्यक्तिका बारेमा सत्यतथ्य अन्वेषण तथा छानविन गरी वास्तविक तथ्य जनतासँग ल्याउन आयोग क्रियाशील रहेको उनले बताए।

के हो एन्टिमोर्टम?

व्यक्तिको निधनपछि तथ्य संकलनका लागि गरिने चिकित्सकीय विधि पोस्टमार्टम भनेजस्तै जीवित व्यक्तिको शारीरिक र वैयक्तिक विवरण संकलन गर्ने विधि एन्टिमोर्टम हो। आयोगले तयार पारेको एन्टिमोर्टम फाराममा व्यक्ति बेपत्ताको अन्तिम क्षणमा उसको शारीरिक बनोटदेखि, पहिरन, पेसासम्मका सबै विवरण सामेल हुनेछन्। 

विस्तृत विवरणका लागि तयार पारिएको व्यक्तिको नाम, उपनाम, उचाइ, पेसा, शिक्षा, बेपत्ता व्यक्तिको एकाघरको परिवारको विवरण आयोगले संकलन गर्नेछ।यस्तै, बेपत्ता व्यक्ति पहिले बेपत्ता भएको भए त्यसको जानकारी, घर फर्काउन गरेका प्रयास, बेपत्ता पारिँदाको अवस्था र परिस्थिति सामेल हुनेछन्। यस्तै, घटनाका सम्बन्धमा पहिलो उजुरी गरिएका भए पनि जानकारी फाराममा समेटिनेछ। व्यक्ति बेपत्ता पारिएको स्थान र बेपत्ता पार्ने सम्भावित पक्षबारे पनि विवरणमा सामेल हुनेछ।  

आयोगले तयार पारेको फारममा व्यक्ति बेपत्ता पारेको अन्तिम समयमा साक्षी भए देख्ने साक्षीको विवरण समेटिनेछ। बेपत्ता पारिएका व्यक्ति घाइते पारिएको अवस्थामा उपचार गरिएको प्रमाण भए त्यसको पनि विवरण फारममा भरिनेछ। बेपत्ता पारिएका व्यक्तिको मृत्यु भइसकेको वा हत्या गरिसकेको भए गाडिएको सम्भावित स्थान पनि फारममा उल्लेख हुनेछ। 

बेपत्ता पार्ने कार्यमा संलग्न आरोपित व्यक्तिको नाम पनि फाराममा सामेल हुनेछ। बेपत्ता हुँदाको अवस्थामा लगाएको लुगाको रङ, जुत्ता, गरगहना, उपयोग गर्ने मोबाइललगायतका सामग्रीको विवरण पनि आयोगले संकलन गर्नेछ। व्यक्तिका विशिष्ठ विशेषता पनि फाराममा संरक्षित हुनेछन्। शरीरका भागमा कुनै प्रकारको चिह्न, ट्याटुलगायतका विवरण भए/नभएको पनि आयोगले संकलन गर्नेछ। हात र खुट्टाका औँलाको विवरण संकलन हुनेछ। औँला कम, बढी भएको, नभएकोबारे पनि आयोगले संकलन गर्नेछ।  

वैयक्तिक विवरण संकलनका क्रममा आयोगले सबैभन्दा बढी दाँतसम्बन्धी विवरण संकलन गर्नेछ। मानव अस्थिपञ्जर लामो समयसम्म नष्ट नहुने भएकाले उक्त विवरणलाई आयोगले प्रमुख प्राथमिकता दिएको सदस्य दुलालले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.