आयोगको पत्रले पार्टीभित्र खैलाबैला

|
फाइल फाेटाे

काठमाडौं : छ पार्टी एक भएर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई संगठ बनाउन नसकिरहेको अवस्थामा अर्को चटारो थपिएको छ। राजपाले पार्टी दर्ताको समयमा गत वर्ष एक वर्षभित्र महाधिवेशन गर्ने निर्वाचन आयोगलाई जानकारी दिएको थियो। तर पार्टीको आन्तरिक कलहका कारण राजपाले भद्रगोल संगठनलाई मिलाउनसम्म सकेको छैन। संघीय संसदले शपथ लिएको तीन महिनामा पनि संसदीय दलको नेता चयन गर्न नसकेको राजपाले कसरी महाधिवेशन गरला भनेर पार्टीका नेताहरूले नै शंका गर्न थालेका छन्।

गत बैशाखमा तराई-मधेसमा केन्द्रित छ पार्टी मिलेर बनेको थियो, राजपा नेपाल। बैशाखमा एकता घोषणा गरे पनि गत असारमा उक्त दल निर्वाचन आयोगमा दर्ता भएको थियो। पार्टी दर्ता गर्दा उनीहरूले आफ्नो विधानमा एक वर्षभित्र महाधिवेशन गर्ने उल्लेख गरेका थिए। राजपाले विधानको धारा २२ को उपधारा (१०) मा पार्टीको महाधिवेशन एक वर्षभित्र गर्ने उल्लेख गरेको छ।

तर दर्ता भएको एक वर्ष पुग्नै लाग्दासमेत राजपाको महाधिवेशनको अत्तोपत्तो छैन। महधिवेशनलगायत विषयमा छलफल गर्न भोलि शुक्रबारका लागि बोलाइएको राजनीतिक समितिको बैठक पनि अन्योलमा परेको स्रोतको दाबी छ। पार्टी दर्ताको एक वर्ष पुग्नै लाग्दासमेत महाधिवेशनको बारेमा कुनै जानकारी नआएपछि आफूहरूले राजपाको ध्यानाकर्षण गराएको निर्वाचन आयोगका घनश्याम ओझाले जानकारी दिए।

उनका अनुसार आयोगले असार ३० गतेभित्र महाधिवेशन गरिसक्न राजपालाई निर्देशन दिएको छ। उनका अनुसार तोकिएको समयमा महाधिवेशन नगरे राजपाले दुई मौका पाउनेछ। असार ३० भित्र महाधिवेशन नगरे पुन: राजपाले एक पटक सचेतको पत्र पाउनेछ। त्यो समयको पनि अटेर गरे पाँच हजार रुपैयाँ जरिवाना गराउने कानुनमा उल्लेख छ। त्यसपछि पनि अटेर गरे दल नै खारेज हुने प्रावधान छ।

गुटगत राजनीतिमा अल्झिएको राजपामा यतिबेला निर्वाचन आयोगको पत्रसँगै खैलाबैला मच्चिएको छ। 'यसअघिसम्म बाझाबाझ गर्दै समय बित्यो। अब कसरी एक महिनामा होला र?', राजपाका एक नेताले भने, 'आयोगको पत्रसँगै हाम्रो पार्टीभित्र खैलाबैला मच्चिएको छ।'

राजपाभित्र दुईवटा गुट प्रष्ट देखिन्छन्। पार्टीभित्र रहेको अध्यक्ष मण्डलको गुटगत विवादका कारणा पार्टीको संगठन निर्माणमा ढिलाइ भएको छ। तल्लो तहमा एकताअघिको छ पार्टीको संगठन एकीकरण भएको छैन। पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतोको गुटका कारण अहिलेसम्म संसदीय दलसमेत चयन हुन सकेको छैन।

महतोको गुटमा अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीको समूह पनि छ। ठाकुरको गुट नजिक महेन्द्र राय यादव छन् तर अनिल झा र राजकिशोर यादव भने पर्ख र हेरको नीतिमा छन्। स्रोतका अनुसार ठाकुर संसदीय दलको नेतामा हार्ने डरले बैठक बोलाउन चाहँदैनन्। यस्तै, फरि पनि पार्टीको अध्यक्ष आफैँ उठ्ने मनस्थितिमा रहेका ठाकुरको गुट कमजोर रहेका कारण उनी अहिले महाधिवेशन गर्ने पक्षमा नरहेको स्रोतको दाबी छ तर महतो र भण्डारीले भने यस अघिदेखि नै महाधिवेशन गर्न पार्टीभित्र दबाब दिँदै आएका छन्।

तर पार्टीका नेताहरूले भने गुटगत विवादभन्दा आन्दोलनका कारण महाधिवेशन गर्न ढिलाइ भएको बताउँदै आएका छन्। उनीहरूले आन्दोनलन सँगसँगै एकता र त्यसपछि भएका निर्वाचनले गर्दा संगठन निर्माण र महाधिवेशन गर्न समस्या भएको बताउँदै आएका छन्।

यता, राजपाले भने आफूहरू महाधिवेशनका लागि छलफलमै रहेकाले सकेसम्म छिट्टै महाधिवेशन गर्ने बताएको छ। 'छवटा पार्टी मिलेर बनेको हो, समय त लागि ल्छ नि', राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव भन्छन्, 'हामी छलफल गरिरहेका छौँ।' उनले आफूहरू लोकतान्त्रिक विधिबाटै महाधिवेशन गर्ने उनी बताउँछन्। भन्छन्, 'कानुन भनेको सबैलाई लाग्नुपर्छ, तत्कालीन माओवादीले महाधिवेशन कहिले गर्‍यो? निर्वाचन आयोगको त ताकेता गर्ने काम नै हो नि! तर पनि हामी लोकतान्त्रिक पद्धतिअनुसार महाधिवेशन गर्छौं।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.