|

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा २८ हजार ५१६ जनसंख्या रहेको छ। यो नगरपालिकामा तामाङ, ब्राह्मण, क्षेत्री, नेवार, मगर र दलित समुदायको बाहुल्य छ। 

नेपाल विद्यार्थी संघ ऐँसेलुखर्क मावि इकाइमा रहेर २०३६ सालबाट आफ्नो राजनीतिक यात्रा सुरुवात गरेका थिए, वंशलाल तामाङले। नेपाल विद्यार्थी संघ, सिन्धुपाल्चोक जिल्ला समितिका संस्थापक सदस्य बने उनी। २०४६ मा नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष,कांग्रेस जिल्ला समिति सिन्धुपाल्चोकका जिल्ला सदस्य, २०५४/०५९ मा महाधिवेशन प्रतिनिधि, २०६०/०६५ महासमिति सदस्य, २०७२ मा महाधिवेशन प्रतिनिधि, नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सचिव, नेपाल आदिवासी जनजाति संघ (भ्रातृ संस्था)का संस्थापक केन्द्रीय सदस्यको जिम्मेवारी पूरा गरिसकेका तामाङ गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका अध्यक्षमा विजयी बने। तामाङ इन्द्रावती गाउँपालिकाको अध्यक्ष मात्रै नभएर राष्ट्रिय गाउँपालिका महासंघको महासचिवसम्म बने। पिता ह्वालसिंह तामाङ र माता थासुमायाको कान्छो सन्तानको रूपमा २०२० भदौमा उनको जन्म भएको थियो।

राजनीतिक यात्राका क्रममा कांग्रेसले प्रजातन्त्रको पुनःस्थापनाका लागि आह्वान गरेको सत्याग्रहमा २०४२ जेठ १० मा ३० दिनको हिरासत, २०४६ सालको आन्दोलनमा पटक पटक प्रहरी हिरासतमा परे उनी। २०६२/०६३ को जनआन्दोलनमा २० पटकभन्दा बढी प्रहरी हिरासतमा बसेका र लाठीचार्जबाट घाइते भएका थिए उनी। 

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको वर्तमान अवस्था र आगामी योजनाका बारेमा केन्द्रित रहेर उनै वंशलाल तामाङसँग थाहाखबरकर्मी रमेश पराजुलीले गरेको कुराकानी प्रस्तुत छ। 

स्थानीय तहको निर्वाचन भएको एक वर्ष पूरा भयो, के गर्दै हुनुहुन्छ?

स्थानीय तह निर्वाचन भएको एक वर्ष पूरा भइसकेको छ। आर्थिक वर्ष २०७४/०७५ मा प्रस्तावित योजना र कार्यक्रमहरू उत्साहप्रद कार्यान्वयनमा लागेका छौँ। करिब ६०/६५ प्रतिशत  भौतिक पूर्वाधारका कामहरू सम्पन्न भएका छन्। शून्य अवस्थाबाट सुरु भएको गाउँपालिकामा विषयगत कार्यालयसमेत व्यवस्थापन भएका छन्। भिलेज प्रोफाइल तयार भएको छ। 

गाउँपालिकाको गुरुयोजना तयार भएको छ। शिक्षा क्षेत्रमा व्यापक सुधार भएको छ। विद्युतीय हाजिरी मेसिन १८ वटा विद्यालयमा जडान भएका छन्। कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले १५ दिने कम्प्युटर तालिम कार्यालय सहायक तथा वडा सचिवहरूलाई प्रदान गरिएको छ। सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्न तथ्यांक राख्ने काम भएको छ। एकीकृत गुरुयोजना बन्ने क्रममा छ। यसैगरी धेरै काम भएको छ, जसलाई यहाँ उल्लेख गर्न सम्भव छैन।

तपाईंले चुनावमा गर्नुभएको प्रतिवद्धता कतिको पूरा गर्नुभयो? 

चुनावमा गरिएका बाचाहरूमध्ये सडक सञ्जाल सबै वडामा पुर्‍याउन सफल भइएको छ। स्तरोनति र नयाँ बाटो निर्माणमा धेरै प्रगति भएको छ। विद्युतीकरणको अवस्थाको सर्भेक्षण गरी करिब ८० प्रतिशत काठेपोललाई स्टिल पोलले प्रतिस्थापन गरी सुरक्षित विद्युतीकरणसहित इन्द्रावतीका सबै घरमा बिजुली पुर्‍याइएको छ। जिल्ला खानेपानी आयोजना, नेपाल रेडक्रस सोसाइटी र विभिन्न दातृ निकायको सहयोगमा १७ वटा खानेपानी आयोजना सञ्चालनमा छन् र कतिपय सम्पन्न भइसकेका छन्। 

एक घर एक धाराको अवधारणाअनुसार सिङ्पाल काभ्रेमा अवस्थित भीरखर्कको मुहानबाट वृहत इन्द्रावती खानेपानी योजना (विस्तृत सर्भेक्षण) तयार गरी केन्द्रीय योजनामा समावेश गर्ने काम भएको छ। निजी स्रोतका शिक्षकहरूलाई दिँदै आएको असमान तलबमानलाई समान किसिमले व्यवस्थापन गरिएको छ। विभिन्न सहकारी संस्था एवं महिला समूहमार्फत् सीपमूलक कार्यक्रमहरू सञ्चालन भएका छन्। धार्मिक साँस्कृतिक महत्त्वका मठमन्दिर, स्तुपा निर्माण कार्य भइरहेको छ।

गाउँ विकासका धेरै नारा थिए चुनावताका, के कति पूरा भए?

चुनावमा गरिएका नारा अथवा वाचा भनौँ, त्यो अल्पकालीन, आवधिक, दीर्घकालीन प्रकृतिका थिए। अल्पकालीन कामहरू हाल सञ्चालन भइरहेका छन्। दीर्घकालीन योजनाहरू एकीकृत गुरु योजनामार्फत् गर्नेछौँ। 

तपाईंले सोचेअनुरूप काम पूरा नगरेको भन्ने गुनासो छ, किन?

सोचेअनुसारको शत प्रतिशत काम कहीँ पनि हुँदैन। त्यसका विभिन्न पक्षहरू जिम्मेवार हुन्छन्– प्राविधिक पक्ष, आर्थिक पक्ष, मानवीय पक्ष। सबैभन्दा अगाडि प्रत्येक तह र तप्काका मानिसको सोचमा परिवर्तन आउन आवश्यक छ। आफ्नो आफ्नो अधिकार, कर्तव्य अनि जिम्मेवारी र जवाफदेहिताप्रति इमान्दार हुन जरुरी हुन्छ। सकारात्मक सोचको विकास हुनु जरुरी हुन्छ। 

यस गाउँपालिकामा के कस्ता समस्या छन्?

समस्या त धेरै छन् र थिए। सुरुमा पर्याप्त कर्मचारी थिएनन्। चार जना सचिवले १२ वटा वडा कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता थियो। अझै पनि विषयगत कार्यालयहरू समायोजन भइसकेका छैनन्। तोकिएबमोजिम आवश्यकताअनुसारको दरबन्दीसहितको कर्मचारी व्यवस्थापन हुन सकेको छैन। प्राविधिक कर्मचारीबाहेक अन्य कर्मचारी भर्ना गर्ने अधिकार दिइएको छैन। गाउँपालिकाको कार्यालय निर्माण भएको छैन। वडा कार्यालय निर्माण हुन सकेका छैनन्। 

कसरी समाधान गर्न सकिन्छ ती समस्यालाई? समाधानका योजना केके छन्?

स्थायी कर्मचारीहरूको हकमा संघीय सरकारले गर्लान् भन्ने ठानेको छु। अन्य कर्मचारीको हकमा करारमा कर्मचारी नियुक्ति गरेर भए पनि व्यवस्थापन गरिनेछ। गाउँपालिका भवनको विस्तृत लागत इस्टिमेट तयार गरी संघीय सरकार समक्ष माग गरिने र वडा कार्यालयहरू चालू आर्थिक वर्ष र आगामी वर्षमा निर्माण सम्पन्न हुनेछन्। अन्य समस्याहरू सकारात्मक परिवर्तनको सोचअनुरूप समाधान गर्दै जानेछौँ। 

स्थानीय तह सञ्चालनमा नीतिगत वा व्यावहारिक केही समस्या छन् कि?

स्थानीय तह सञ्चालनमा सुरुमा केही अप्ठ्याराहरू थिए तर स्थानीय सरकार संचालन ऐन, २०७४ जारी भइसकेपछि धेरै नीतिगत समस्याहरूको समाधान भएको छ। प्रादेशिक कानुन नबनेसम्म संविधानमा व्यवस्था भएअनुसार एकल र साझा अधिकारका बारेमा केही अन्योल थियो। प्रदेश कानुनको अभावमा जनप्रतिनिधिहरूले पाउने सेवा सुविधा अहिलेसम्म लिन सकेका छैनन्। 

संघीय सरकारले निर्धारण गरेको जनप्रतिनिधिहरूको मर्यादा क्रममा गम्भीर विभेद भएको छ। नेपालको संविधान, २०७२ मा व्यवस्था भएअनुरूप विभिन्न तहका सरकारहरूले नियम कानुन बनाइसकेपछि पुराना कानुनहरू छ महिनापछि स्वतः निस्क्रिय हुने प्रावधान हुँदाहुँदै विभिन्न ऐन कानुन, गठन आदेश, कार्यविधिलाई तेर्स्याउँदै शिक्षा कार्यालयलगायत विभिन्न कार्यालयहरू समायोजन टार्ने बहानाबाजी गरिरहेका छन्।

ती समस्यालाई समाधान गर्न कसले के गर्नुपर्छ जस्तो लाग्छ?

साना तथा घरेलु उद्योगको प्रवर्द्धन र प्रोत्साहन गरी आय आर्जन कार्यक्रममार्फत् गरिवी न्यूनीकरण गरिनेछ। पर्यटन उद्योगको प्रवर्द्धन गरी गृह होम स्टे संचालन गरिनेछ। क्षेत्रीयस्तरको फुटबल रंगशाला निर्माण गरी फुटबलप्रतिको युवाहरूको आर्कषणलाई प्रोत्साहन र प्रवर्द्धन गरी इन्द्रावती च्याम्पियन टिम तयार गरिनेछ। 

ती समस्या समाधान गर्न संघ र प्रदेशले कानुन बनाउँदा स्थानीय सरकारसँग र स्थानीय सरकारका प्रतिनिधिमूलक संस्थाहरूको प्रतिनिधित्व र समन्वयमा साझा अधिकारसँग सम्बन्धित ऐन कानुन तुरुन्त निर्माण गरिनुपर्छ। एकल अधिकारका विषयमा कानुन बनाएर लागू गर्न स्थानीय सरकारलाई अवरोध गरिनुहुँदैन

विकासका पूर्वाधारहरू कतिको पूरा हुँदै छन्? पुनर्निर्माणको अवस्था के छ?

सिन्धुपाल्चोक जिल्ला र खासगरी इन्द्रावती गाउँपालिकाका अधिकांश घरहरू भूकम्पले क्षतिग्रस्त भएका थिए। त्यसैले हाम्रो पहिलो प्राथमिकता पुनर्निर्माणलाई दिएका थियौँ। लाभग्राही सूचीमा परेका सम्पूर्ण घरहरूले सम्झौता गरी पहिलो किस्ता लिने काम भएको छ। दोस्रो र तेस्रो किस्ताबाट करिब ६०० घर निर्माण भएका छन्। केही अझैसम्म सम्झौता भएका छैनन्। सिङ्पाल काभ्रेका विस्थापित ५९ घरधुरीलाई इन्द्रावती– ४ मा सुरक्षित स्थानान्तरण गरिएको छ। इन्द्रावती– ५ का करिब ४० घरधुरी जोखिमयुक्त माझी घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भइरहेको छ। 

सबै वडाहरूमा सडक सञ्जाल पुर्‍याइएको छ भने धुले बाटाहरूको स्तरोन्नति गर्ने कार्य भएको छ। करिब ८०५   घरधुरीमा काठेपोललाई स्टिल पोलले प्रतिस्थापन गर्ने काम भएको छ। खानेपानीलगायत अन्य भौतिक पूर्वाधारका कामहरू भइरहेका छन्। 

गाउँपालिका विकासका लागि आन्तरिक स्रोत केके हुन सक्छन्? 

इन्द्रावती गाउँपालिकामा खासै ठूलो आन्तरिक स्रोत छैन। हाल भएका स्रोतहरूमा राजश्व, सेवा शुल्क, विभिन्न प्राकृतिक स्रोत, जस्तै : नदीजन्य खनिज पदार्थ हुन्। तर भविष्यमा विभिन्न उद्योग, जस्तै : क्रसर उद्योगबाट प्राप्त राजश्व, इँटा उद्योग, ढुंगा खानी र वन जंगलबाट प्राप्त राजश्व नै मुख्य आन्तरिक स्रोत हुनेछन्। 

तपाईंका अबका पाँच वर्षे विशेष योजना के छन्? ती योजना पूरा गर्ने आधार के हुन्?

पाँच वर्षे योजनामा भैतिक पूर्वाधारलगायत सीपमूलक आय आर्जन र युवा स्वरोजगार कार्यहरू हुनेछन्, जसमध्ये भूकम्पबाट क्षतिग्रस्त घरहरू सम्पूर्ण पुनर्निर्माण हुनेछ। सबै विद्यालयहरूमा भौतिक पूर्वाधार तयार भई योग्य शिक्षकबाट आधुनिक प्रविधिबाट गुणस्तरीय शिक्षा प्रदान गरी साक्षरता प्रतिशत बढाइनेछ। 

गाउँपालिकाभित्र भएका राष्ट्रिय गौरवका साँखु–मेलम्ची, नवलपुर–चौतारा सडकलाई पूरै कालोपत्रे पक्की सडक बनाइनेछ। जिल्ला सडक संजालले जोड्ने क, ख, ग र घ वर्गका ग्रामीण सडकहरू गरी ३५० किलोमिटर धुले सडकलाई स्थायी र कालोपत्रे गरिनेछ। एक घर एक धारा अवधारणाअनुसार करिब ६०५ घरधुरीमा सुरक्षित खानेपानीको व्यवस्था गरिनेछ। 

सिँचाइ कुलोको व्यवस्था गरी हाल बाँझो रहेका एक हजार पाँच हेक्टर भूमिमा १२ महिना अन्न बाली, तरकारी बाली, तेलहन बाली, दलहन बालीलाई उन्नत कृषि प्रविधिको प्रयोग गरी तरकारी र अन्य उत्पादनमा आत्मनिर्भर बनाइनेछ। टोलटोलमा सहकारी, घरघरमा रोजगारी अवधारणलाई साकार पार्न महिला, युवा केन्द्रित रोजगारमूलक कार्यक्रममार्फत् विद्यमान बेरोजगारी दर घटाइनेछ। 

साना तथा घरेलु उद्योगको प्रवर्धन र प्रोत्साहन गरी आय आर्जन कार्यक्रममार्फत् गरिवी न्यूनीकरण गरिनेछ। पर्यटन उद्योगको प्रवर्द्धन गरी गृह होम स्टे सञ्चालन गरिनेछ। क्षेत्रीयस्तरको फुटबल रंगशाला निर्माण गरी फुटबलप्रतिको युवाहरूको आर्कषणलाई प्रोत्साहन र प्रवर्धन गरी इन्द्रावती च्याम्पियन टिम तयार गरिनेछ। 

विभिन्न खेलकुदहरूको आयोजना गरी मार्सल आर्टलगायतका खेलकुदको विकास गरिनेछ। स्मार्ट सिटीको अवधारणाअनुसार सबै खाले सूचनाहरूलाई डिजिटल प्रविधिबाट तथ्यांक राखिनेछ। स्वस्थ शरीर, स्वच्छ विचार भन्ने अवधारणाअनुरूप जनताको स्वास्थ्य उपचार सहज र सुलभ बनाउन सबै वडामा स्वास्थ्यचौकी स्थापना गरी स्वास्थ्य सेवा प्रदान गरिनेछ। दीर्घरोगीहरूलाई घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरी उपचारलाई सहज र सुलभ बनाइनेछ साथै स्वास्थ्य बिमा प्रभावकारी रूपमा लागू गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.