|

काभ्रेपलाञ्चोक : फोहोर फाल्नको लागि मानिसहरू डम्पिङसाइड खोजेर जाने गर्छ, तर यहाँका स्थानीयले भने बिहीवार नगरपालिकाको कार्यालयभित्र फोहोर फालेका छन्। बनेपा नगरपालिका वडा नं. ७ र ८ का स्थानीयले नगरपालिकाले समयमा नै फोहोर उठाउन नआएको भन्दै विरोध स्वरुप नगरपालिकाको कार्यालयभित्र नै लगेर फोहोर फालेका हुन्।

दुबै वडाका स्थानीयले नगरपालिकालाई कर मात्रै तिरिरहनु परेको तर खानेपानी समयमा उपलब्ध नगराएको र फोहोर समयमा नै उठाउन नआएका कारण आफूले बाध्य भएर नगरपालिकाको कार्यालयमा नै आएर फाल्न बाध्य भएको बताएका छन्। 

‘पटक पटक भन्दा पनि हाम्रो मागलाई सुनाई नै गरेन, तीन हप्ता भइसक्यो फोहोर उठाउन नआएको त्यसैले विरोध स्वरुप यसरी फाल्न आउनुपरेको हो’ वडा ७ का स्थानीय पुन्यदेवी काफ्लेले भनिन्। ‘हामीले कर चाही तिरिरहनु पर्ने फोहोर फाल्न चाही नपाउने?’ काफ्लेले प्रश्न गर्दै थपिन्, ‘अब फोहोर बटुल्ने गाडी कहिले पठाउँदो रहेछ हेरौँ।’

अर्का स्थानीय दिश्वश्वरी श्रेष्ठले फोहोरमा मात्रै नभई खानेपानीमा पनि त्यस्तै समस्या झेल्नुपरेको बताइन्। ‘पानीको पैसा मात्रै तिरिहेका छौँ, कहिल्यै भनेको बेला पानी आउँदैन, आएपनि एकछिन आउँछ, एउटा भाँडो थाप्न नपाउँदै सुकिहाल्छ, कस्तो नगरपालिका हो यो?’ उनले प्रश्न गर्दै भनिन्।

नगरपालिकालाई कर तिरेपछि समयमा नै सेवा सुविधा पाउनुपर्ने माग गर्दै स्थानीयले बनेपा नगरपालिकाको कार्यालयमा केही समय धर्नासमेत दिए। कार्यालयको मुलगेट अगाडि फोहोर थुपर्दै विरोध जनाएकाले समस्या राख्दा सुनुवाई नै नगरी कर्मचारी रमिते बन्ने र जनप्रतिनिधिले अनुहारसमेत नदेखाएको भन्दै नगरपालिकाभित्र जनसम्पर्क अधिृकतको कार्यालय छेउमा नै लगेर फोहोरको डंगुर थुपारेका हुन्।

फोहोरको डंगुर थुपार्दै स्थानीयले एकै स्वरमा भने ‘यो त चेतावनी स्वरुप विरोध मत्रै गरेका हौँ, यदि यसरी गर्दा पनि सुनुवाई हुँदैन भने नगरपालिकाको कार्यालय फोहोर फाल्ने ठाउँ बनाउन बाध्य हुनेछौँ।’

बनेपा नगरपालिाकाका उपप्रमुख रेखा दाहालले पहिलादेखि फाल्दै आएको ठाउँमा पानी परेर हिलो भएको र त्यहाँ ट्याक्टर समेत चल्न नसकेको कारण केही दिनदेखि फोहोर उठाउन नसकेको बताइन्। 

‘हामीले अल्पकालिन र दीर्घकालिन रुपमा फोहोर ब्यवस्थापनको लागि योजना भईरहेका छौं’ दाहालले भनिन्, ‘यो समस्या बनेपा नगरपालिकाको लागि बर्षौदेखिको भएकाले तत्काल ब्यवस्थापन गर्न कठिन छ।’ त्यसको लागि स्थानीयबासिन्दा पनि सचेत भएर आफ्नो घरबाट निस्केको फोहोरको व्यवस्थापन सकेसम्म आफैँले गर्नुपर्ने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.