|

गोरखा : गत वर्षको पुष महिनादेखि साउदी जेलमा रहेको जिल्लाको भीमसेन गाउँपालिका ७ का कुमार रानालाई नेपाल ल्याउन आवश्यक रहेको ८३ लाख रुपैयाँ जुटाउन नेपाल मगर संघ जिल्ला समिति गोरखा र मगर विद्यार्थी संघ गोरखाले सहयोग गरेका छन्। 

गोरखाकै बुंकोटमा सुटिङ भएको खुर्पेटो नामक मगर फिल्मको च्यारिटो शो देखाएर कुमार रानालाई नेपाल झिकाउन आवश्यक पर्ने रकम संकलन गरिएको हो। 

उक्त रकम बिहीबार कुमारकी श्रीमती अम्बिका र कुमार राना बचाउ अभियानका संयोजक कृष्ण प्रसाद ढकाललाई संयुक्त हस्तान्तरण गरिएको नेपाल आदीबासी जनजाती जिल्ला समन्वय परिषद गोरखाका अध्यक्ष विष्णु रानाले जानकारी दिए। 

‘गोरखाकै एउटा यूवा विदेशको जेलमा छ भन्दा कस्को मन नदुख्ला र?’ उनले भने, ‘हामीले पनि उसको उद्धार गर्नुपर्छ भनेरै रकम संकलन गरेका हौँ।’ 

फिल्म देखाएर उठेको एक लाख ५६ हजार र सहयोग रसिद कटाएर ३८ हजार गरी एक लाख ९४ हजार रुपैयाँ बिहीबार विष्णु राना मगरले कुमारकी श्रीमती अम्बिका र बचाउन अभियानका संयोजक ढकालार्ल हस्तान्तरण गरेका हुन्। 

कुमार रानालाई नेपाल ल्याउन ८३ लाख आवश्यक परे पनि अहिलेसम्म ११ लाख रुपैयाँको हाराहारी मात्र रकम जम्मा भएको अभियानका संयोजक ढकालले बताए। उनका अनुसार बैशाख १ गतेदेखि सुरु भएको अर्थ संकलन अभियान नेपाल लगायत विभिन्न देशहरुमा चलिरहेको छ।  

रोजगारीको लागि साउदी गएका राना कम्पनीको गाडी चलाउँदा दुर्घटनामा परेका थिए। दुर्घटनामा साउदीका नागरिक घाइते ८३ लाख रुपैयाँ मागदाबी गर्दै उनलाई जेल पठाइएको थियो। कुमारलाई नेपाल ल्याउन उनकी श्रीमतीसँगै गाउँका यूवाहरु एक जुट भएर रकम संकलन गर्न लागि परेका छन्। 

ब्लडमनी संकलन अभियानले सार्वजनिक गरेको बैंक खाता, प्रभु बैंक, कलंकी शाखा, काठमाडौं, खाता नं. (०३९०१००१००६५६९०००००१) मा सहयोग रकम जम्मा गर्न सकिने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.