काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालकाे समृद्धि यात्राकाे मार्ग पत्ता लगाएर बजेट अाएकाे दाबी गरेकाछन्। उनले बजेट मार्फत मूख्यतः उत्पादन र राेजगारीकाे बाटाे पच्छ्याइएकाे बताएका हुन्।
´मैले बजेटमा कृषि वा अन्य कुनै क्षेत्र प्राथमिकतामा भन्न सक्थेँ तर भनिनँ´, नेपाल अार्थिक पत्रकार समाज र उद्याेग परिसंघले गरेकाे बजेट पछिकाे छलफलमा डा. खतिवडाले भने, `हामीले संविधानमा नै समृद्वि भनेर उल्लेख गरेका छाैँ, त्याे समृद्धि कसरी अाउँछ मार्ग पत्ता लगाएर बजेट अाएकाे छ।'
खतिवडाले बाह्य उत्पादनमा आधारित अर्थतन्त्रलाई परिर्वतन गरेर राष्ट्रिय पुँजी निर्माण प्रक्रिया बजेट मार्फत थालिएकाे समेत बताए। ‘बजेटबाट कोर्ष करेक्सनको बाटो लिएको हुँ’ खतिवडाले भने।
उनले कृषि र उद्योगका केही उत्पादनमा आत्मनिर्भर बन्नुपर्छ भन्ने मान्यतासहित बजेट आएको दाबी समेत गरेका छन्। उत्पादनलाई सघाउ पुर्याउने व्यवसायलाई प्रोत्साहित गर्न सरकार केन्द्रित रहेकाे खतिवडाले बताए।
राष्ट्रिय पुँजी निर्माणको प्रक्रिया अघि नबढाउँदा सधै विदेशी सहायता, ऋण वा अनुदान र रेमिट्यान्सको भरमा राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन नसकिने उनको धारणा छ।
मन्त्री खतिवडाले लगानीबाट कमाएको नाफा फेरी उद्योगमै लगानी गर्ने उद्याेगीलाई प्रोत्साहन गर्ने सरकारकाे नीति रहेकाे बताए। यसका लागि कर छुट दिने, पुँजी बजारलाई विकास गर्ने नीतिहरू बजेटमार्फत ल्याएको उनले बताए। उनले बजेट कार्यान्वयन गर्नकाे लागि छिट्टै सरकारले काम सुरु गर्ने बताए। राजश्व सचिव शिशिरकुमार ढुंगानाले बजेटले केही वस्तुकाे अायातमा कडाइ गरी उत्पादन वृद्धिलाई ध्यान दिएकाे बताए। नेपाल उद्याेग परिसंघका अध्यक्ष हरिभक्त शर्माले बजेटमा राजश्वकाे लक्ष्य ठूलाे राखिएकाे र खर्च गर्ने प्रणाली कमजाेर देखिएकाे बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।