श्रीकृष्ण दाइलाई एकदमै मिस गर्छु

|
फोटो : विवेक बस्याल

काठमाडौं : नायिका विपना थापालाई दर्शकले फिल्मको पर्दामा हेर्न नपाएको धेरै भयो। लगभग एक दशक उनी फिल्म क्षेत्रबाट टाढा रहिन्। उनी आफू पारिवारिक कारणले फिल्म क्षेत्रबाट टाढा रहनुपरेको बताउँछिन्। भन्छिन्, 'हाम्रो धर्मअनुसार विवाह गरेर अरूको घरमा जानुपर्ने हुन्छ, त्यही ममा पनि लागू भएको हो। म वैवाहिक जीवनमा बाँधिएकाले फिल्म क्षेत्रबाट टाढा भएँ। मेरो इच्छाले भने होइन।'

विपनाले भारतको उत्तर प्रदेशको मथुरा घर भएका डा. आशुतोष भारद्वाजसँग विवाह गरेकी छन्। विपना एक सन्तानकी आमा पनि बनिसकेकी छन्। उनका छोरा पनि हुर्किसकेका छन्। उनी छोरा सानो भएका कारण पनि फिल्ममा आउन नपाएको बताउँछिन्। भन्छिन्, 'छोरा सानो थियो, उसलाई समय दिनुपर्ने भएकाले पनि फिल्म क्षेत्रसँग नजिक हुन नपाएको हो।'

विपना बेलाबेला नेपाल आइरहन्छिन्। 'मलाई मेरो देश नेपाल एकदमै मनपर्छ', उनी भन्छिन्, 'छोराको हरेक छुट्टी मनाउन नेपाल आउँछु।' उनी अहिले पनि नेपालमा छन्।

'दर्शकको एकदमै याद आउँछ'

विपना आफू फिल्म क्षेत्रबाट टाढा रहँदा दर्शकको एकदमै याद आउने बताँउछिन्। 'मैले फिल्म क्षेत्रमा सबैभन्दा मिस गर्ने भनेको नै मेरा दर्शक हो', उनी भन्छिन्, 'यहाँ मलाई लाखौँले चिन्नुहुन्छ तर त्यहाँ दुई/चार जनाले मात्र चिन्छन्। त्यसैले पनि मलाई माया गर्ने दर्शकको याद आउँछ।'

विपनालाई दर्शकले बिर्सिसकेको जस्तो लाग्थ्यो तर त्यस्तो नभएको अनुभव भयो अहिले उनलाई। 'मलाई अहिले पनि बाटोमा हिँड्दा दर्शकले बोलाउनुहुन्छ। फोटो खिच्नुहुन्छ', उनी भन्छिन्, 'अझैसम्म दर्शकको माया पाएकी छु, खुसी लाग्छ।'

'श्रीकृष्ण दाइ सबैभन्दा प्यारो'

विपनाले एकदमै याद गर्ने कलाकार श्रीकृष्ण श्रेष्ठ हुन्। आफूलाई बहिनीको रूपमा एकदमै माया गर्ने मान्छे भएकाले पनि उनी श्रीकृष्णलाई धेरै याद गर्छिन्। 'मैले सबैभन्दा बढी मिस गर्ने श्री दाइलाई हो। राम्रो मान्छे छिट्टै जानुभयो।' विपना केही भावुक बनिन्। श्रीकृष्णले फिल्म क्षेत्रमा धेरै योगदान दिएको विपना बताँउछिन्। 'फिल्म क्षेत्रको एक धरोहर हुनुहुन्थ्यो उहाँ', विपना थप्छिन्।

विपनालाई श्रीकृष्णले दुई नाम दिएका थिए- 'रानी' र 'आलु हिरोइन।' 'मलाई श्री दाइले माया गरेर जहिल्यै रानी भनेर बोलाउनुहुन्थ्यो', उनी भन्छिन्, 'अनि म जस्तो क्यारेक्टर पनि गर्न सक्ने भएर आलु हिरोइन पनि भन्नुहुन्थ्यो।'

'नयाँ पुस्तामा राम्रा कलाकार' 

विपना फिल्म क्षेत्रमा आफू निकै अपडेट भएको बताउँछिन्। भन्छिन्, 'म इन्डियामा हुँदा पनि नेपाली गीत संगीत सुनिरहेकी/हेरिरहेको हुन्छु। अझ फिल्म क्षेत्रसँग सम्बन्धित हरेक समाचार हेरिरहेकी हुन्छु।'

नयाँ पुस्तामा धेरै राम्राराम्रा कलाकारहरू आएको उनी बताउँछिन्। उनी भन्छिन्, 'नयाँ पुस्तामा पनि एकदमै राम्रा कलाकारहरू आइरहनुभएको छ। राम्रै गरिरहनुभएको छ।'

'नेपाली फिल्म हेरिरहन्छु'

विपना नेपाली फिल्म हेरिरहन्छिन्। नेपाल आएको बेला हलसम्म पुगेर फिल्म हेरेकै हुन्छिन्। उनी भन्छिन्, 'म नेपाली फिल्महरू हेरिरहेकी हुन्छु। युट्युवमा वा नेपाल आउँदा हलमा पुगेर फिल्म हेरिरहेकी हुन्छु।' उनले हालसालै फिल्म 'सुनकेशरी' हेरिन्। उनले अघिल्लो पटक आउँदा फिल्म 'शत्रु गते' हेरेको बताइन्।

कमब्याक सम्भावना

विपनालाई फिल्म क्षेत्रमा पुन: आउने ठूलो इच्छा छ। 'धेरै निर्माता निर्देशकहरूले आउनुपर्‍यो भनिरहनुभएको छ। सोच्दै छु, चाँडै सरप्राइजिङ प्याकसहित आउनेछु।' उनी छोरा सानो भएकाले पनि फिल्म क्षेत्रबाट टाढा रहनुपरेको बताउँछिन्। 'अब त छोरा ठूलो भइसक्यो। अब भने पर्दामा फर्किन सक्छु', आश्वासनसहितको उत्तर दिइन्।

यस्तो छ विपनाको सपना

विपनाको एउटा सपना छ- पुराना समकालीन कलाकारहरू सबै एकै फिल्ममा देखिने वा स्टेज प्रोग्राम गर्ने। उनी भन्छिन्, 'मलाई पुराना कलाकारहरूसँगै काम गर्ने एकदमै ठूलो इच्छा छ। सबै कलाकार एउटै फिल्ममा काम गर्न पाए खुब रमाइलो हुन्थ्यो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.