|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा) निर्वाचन आयोगमा दर्ता भएसँगै राष्ट्रिय दलहरूमा प्रतिनिधित्वको क्लस्टर नमिलेको चर्चा सुरु भएको छ। एमाले र माओवादी मिलेर बनेको नेकपा निर्वाचन आयोगमा दर्ता भएसँगै क्लस्टरको विषय बाहिर आएको हो। 

नेकपा निर्वाचन आयोगमा दर्ता हुँदै गर्दा आयोगले प्रतिनिधित्वको क्लस्टर नमिलेको भन्दै ध्यानाकर्षण गराएको थियो। अहिले नेकपाले क्लस्टर मिलाउनका लागि एक महिनाको समय निर्वाचन आयोगबाट पाएको छ। नेकपाले कानुनले तोकेको ३३ प्रतिशत महिलाको प्रतिनिधित्व नहुने गरी दल दर्ता गरी बिहीबार मात्र दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको थियो।

नेकपालाई निर्वाचन आयोगले क्लस्टरको विषय सम्झाउँदै नेकपाले अन्य दलहरूमा पनि यस्तो समस्या रहेको निर्वाचन आयोगसमक्ष व्रिफिङ गरेको थियो। नेकपाको व्रिफिङपछि आयोगले दर्ता भएका सबै राजनीतिक दललाई क्लस्टर मिलाएर ल्याउनका लागि पत्र काट्ने अन्तिम तयारी गरेको छ। ‘केही दिनमै आयोगले सबै दललाई क्लस्टर मिलाएर ल्याउनका लागि पत्र काट्ने तयारी गरेको छ’, एक निर्वाचन आयुक्तले भने, ‘नेकपाको दर्तासँगै क्लस्टर नमिलेको विषय हामीले पनि महसुस गरेका छौँ।’

निर्वाचन आयोगमा दल दर्ता गर्नका लागि अनिवार्य ३३ प्रतिशत महिलाको संख्या पुर्‍याउनुपर्छ। राजनीतिक दल दर्तासम्बन्धी ऐन, २०७३ अनुसार सबै दलको सबै तहको समितिमा कम्तीमा ३३ प्रतिशत (एक तिहाई) महिला हुनुपर्ने व्यवस्था छ।

तर नेकपाको केन्द्रीय समितिमै एक तिहाई महिलाको संख्या नपुगेपछि निर्वाचन आयोगले दल दर्ता गर्दा एक महिनाभित्र उक्त संख्या पुर्‍याउन नेकपालाई निर्देशन दिएको थियो। यस्तै, राष्ट्रिय दलहरूको केन्द्रीय समितिमा पनि निर्वाचन आयोगले तोकेअनुसारको क्लस्टर छैन। सबै दलमा यस्तो क्लस्टर नभएपछि पछिल्लो समय यो विषयले राजनीतिक वृत्त तातेको छ।

स्रोतका अनुसार नेकपाले यो विषय निकालेपछि सबै दललाई आयोगले पत्र काट्न लागेको हो। ‘नेपाले हामीले मात्र क्लस्टर मिलाउनुपर्ने भनेर आयोगलाई प्रश्न गरेपछि आयोगले सबै दललाई पत्र काट्न लागेको हो’, स्रोतले भन्यो, ‘पत्र नकाट्दा नेकपाले प्रश्न उठायो। सबैलाई काट्नै पर्‍यो नि!’
स्रोतका अनुसार आयोगले शुक्रबार नकाटे आइतबारसम्ममा सबै दललाई पत्र काट्नेछ। 

तर पछिल्लो समय यस विषयलाई लिएर निर्वाचन आयोगको पनि आलोचना हुन थालेको छ। दल दर्ता गरेको धेरै समयसम्म पनि क्लस्टर नहेरेको र अहिले नयाँ दल दर्ताको समयमा आएर मात्र क्लस्टर हेर्नुलाई निर्वाचन आयोगको त्रुटिका रूपमा हेरिरहेका छन्। अब अन्य दलले एक महिनाभित्र कसरी क्लस्टर मिलाउँछ भन्नेचाहिँ हेर्न बाँकी नै छ। 

नेकपाको प्रश्नपछि राजपालाई पत्र

दल दर्ताको समयमा नेकपाले राष्ट्रिय जनता पार्टी नेपाललाई देखाउँदै उम्कने बाटो खोजेको थियो। गत वर्ष मात्र छ दल एक भएर बनेको राजपालाई दर्ताको समयमा एक तिहाई महिला नपुगे पनि दर्ता गरेको भन्दै नेकपाले उम्कने बाटो खोजेको थियो। 

तर आयोगले त्यसबेलाको परिस्थिति नै त्यस्तै भएको बताएपछि नेकपाले राजपाका विषयमा आयोगमाथि थप प्रश्न तेर्स्याएको स्रोतको दाबी छ। ‘क्लस्टर नमिली राजपाको दर्ता कसरी भयो भनेर नेकपाले प्रश्न गरेपछि आयोगले आन्दोलनमा रहेका छ दल एक हुँदा दर्ता नगरेको भए निर्वाचन हुने सम्भावना थिएन भन्यो’, स्रोतले भन्यो, ‘त्यसपछि नेकपाले आयोगलाई राजपाले एक वर्षमा महाधिवेशन किन नगरेको भनेर प्रश्न गर्‍यो।’

नेकपाको प्रश्नसँगै राजपालाई आयोगले पत्र काटेको स्रोतको दाबी छ। बिहीबार मात्र आयोगले राजपालाई असार ३० गतेभित्र महाधिवेशन गर्न निर्देशन दिएको छ। तर राजपालाई एक महिनाभित्र महाधिवेशन गर्न निकै मुस्किल छ।

‘आन्दोलनमा पार्टी एक भयो। त्यसपछि तीन तहका निर्वाचन। त्यसले पनि महाधिवेशन गर्न सकिएन’, राजपा अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले भने, ‘आयोगको पत्रले निकै दबाबमा पारेको छ तर यो पत्रलाई सकारात्मक रूपले हेरेका छौँ।’ राजपाले भने महाधिवेशनका लागि आयोगसँग छ महिनाको समय माग्ने तयारी गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.