|
सन्दीप राई र रितेश थापा

सुनसरी : म्याच फिक्सिङ आरोपमा तीन वर्षअघि पक्राउ परेका सुनसरीका दुई फुटबल खेलाडीले यो अवधिमा जिउँदो लाश भएर बाँच्नु परेको बताएका छन्। थाहा खबरसँग कुराकानी गर्दै उनीहरूले कसैको व्यक्तिगत फाइदाको लागि आफूहरूलाई प्रयोग गरिएको बताए। 

विशेष अदालतबाट सफाइ पाएपछि सुनसरीको दुहबी घर भएका सन्दीप राई र इटहरी घर भएका रितेश थापाले अदालतबाट न्याय पाएकोमा खुसी समेत व्यक्त गरे। नेपालको तर्फबाट विभिन्न खेलका दौरान म्याच फिक्सिङ गरेको अभियोगमा आफूहरूमाथि राज्यविरुद्धको अपराधसम्बन्धी मुद्दा चलाइनु कसैको व्यक्तिगत फाइदाको लागि आफूहरूलाई प्रयोग गरिएको उनीहरूको आरोप छ। 

अदालतबाट सफाइ पाएपछि राईले सत्यको जित भएको बताए। राष्ट्रिय खेलाडी राईले आफूहरू कसैको व्यक्तिगत फाइदाको लागि प्रयोग भएको दोहोर्‍याँदै आफ्नो पक्राउ वा सफाइमा एन्फा नबोलेकोमा चित्त दुखेको बताए। आफूहरूले अनाहकमा दुःख भोग्नुपरेको भन्दै उनले आउँदा दिनमा कोही पनि निर्दोष खेलाडीले दुःख नपाउनू भन्दै सचेत हुन पनि आग्रह गरेका छन्।

२० वर्ष अगाडि आफ्नो परिवार पढाइ सबै एक ठाउँमा छोडेर फुटबलमा प्रवेश गरेको बताउँदै राइले तीन वर्ष अगाडि बिना प्रमाण त्यस्तो ठूलो अभियोग लगाउँदा एन्फाले केही नबोलेको भन्दै चित्त दुखेको बताए। विशेष अदालतबाट सफाइ पाउँदा समेत एन्फाले एक शब्द सकरात्मक बोल्न नसक्नु झन् दुःखद भएको उनको भनाइ छ।

अर्का फुटबलर इटहरी ६ निवासी रितेश थापाले साँढेको जुधाईमा बाच्छाको मिचाई भनेजस्तो आफूहरू मारमा परेको बताए। हरेक फुटबल खेल खेल्दासम्म सबैले उत्कृष्ट भनेको सम्झिँदै कतैबाट कहिले पनि एक शब्द नराम्रो नआएको बताउँदै व्यक्तिगत फाइदाको लागि आफूहरूलाई मोहरा बनाइएको दाबी गरे। तीन वर्षको अवधिमा जिउँदो लाश भएर बाँच्नु परेको भन्दै शुक्रबार आएर विशेष अदालतबाट सफाइ पाउँदा केही राहत मिलेको बताए।

आगामी दिनमा फुटबल खेल्न उमेरले साथ नदिए पनि उनले प्रशिक्षकको रुपमा फुटबलमा योगदान दिने बताए। उनले एन्फाको भूमिकाप्रति चित्त दुखाउँदै भने, ‘एन्फाले सफाइप्रति सकारात्मक रुपमा एएफसीले लगाएको प्रतिबन्धको लागि पहल गर्नुपर्छ।’ नेपालको तर्फबाट विभिन्न खेलका दौरानमा म्याच फिक्सिङ गरेको अभियोगमा थापा र राईसहित सागर थापा, विकाससिंह क्षेत्री, प्रशिक्षक अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको थियो। 

विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले राज्यविरुद्धको अपराध मुद्दामा उनीहरूलाई सफाइ दिने फैसला सुनाएको हो। उनीहरूलाई २०७२ असोजमा प्रहरीले पक्राउ गर्दै २२ कातिकमा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। उनीहरूमाथि इराक, फिलिपिन्स,अफगानिस्तान, कुवेत लगायतका राष्ट्रमा भएका प्रतियोगितामा मिलेमतोमा खेलेको आरोप लागेको थियो। उनीहरूले खेल मिलेमतो गर्दा प्रतिखेल ५ हजार अमेरिकी डलरसम्म लिने गरेको प्रहरीको दाबी थियो। 

म्याच फिक्सिङको विषयमा नेपालमा आधिकारिक कानुन नभएपछि उनीहरूलाई राज्यविरुद्धको अपराधअन्तर्गत मुद्दा चलाइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.