|

काठमाडौं :  कालीमाटी र बालाजु तरकारी बजारमा व्यापारीले मनोमानी गरेपछि कृषि सहकारी तथा भूमिसुधारमन्त्री चक्रमपाणि खनालले कारवाहीको कदम सुरु गरेका छन्। गत सोमबार कालीमाटी तरकारी बजार अनुगमनमा निस्किएका खनाल त्यसपछि भने व्यापारीको गल्ती हरेर कारवाही प्रकियामा अघि बढेका हुन्।

बजार व्यवस्थापान तथा सुधारका लागि गठन गरेको समितिले व्यापारीको सूची तय गरेको हो। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अध्यक्ष तेजबहादुर सुवेदी, कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेल, किसानका प्रतिनिधि र व्यवसायी गरी ११ सदस्सीय बोर्डले कालीमाटी र बालाजु तरकारी फलफूल, तरकारी र माछा व्यापारीलाई चार भागमा विभाजन गरेको छ। चार भागमा विभाजन गरिएका व्यापारीलाई छुट्टाछुट्टै कार्ड दिइएको छ। सोही कार्डको आधारमा कारवाही गरिने समितिले जनाएको छ। यसअनुसार रातो, नीलो, पहेँलो र सेतो कार्ड दिइएको छ। रातो, नीलो र पहेँलो कार्ड पाउने खतराको सूचीमा रहेका छन् अर्थात् कारबाहीको सिफारिसमा परका छन् भने सेतो कार्ड पाउने भने खतरामुक्त रहेका छन्।

कुन सूचीमा कस्ता व्यापारी, के हुन्छ कारवाही? 

रातो सूची

रातो सूचीमा पर्ने व्यापारी ९९ जना रहेका छन्। यी व्यापारी मुख्यतया: स्टल आफूले लिएर भाडामा लगाई कमिसन खाने व्यापारीहरू हुन्। उनीहरू बजार अनुगमन र नवीकरणको समयमा मात्र उपस्थित हुने गरेको सिमितिले जनाएको छ।

यीमध्येका कति विदेशमा र कति अन्य स्थानमा कारोबारमा संलग्न भएका व्यापारी हुन्। समितिले यी व्यापारीलाई अतिखतराको सूचीमा राखेको छ, जसअनुसार सम्बन्धित व्यक्तिलाई नै पत्र बुझाई इजाजतपत्र खारेज गर्ने। त्यसभन्दा पहिले सम्झौता रद्द किन नगर्ने भनी सात दिनभित्र लिखित जवाफ माग्ने, चित्त नबुझे सम्झौता रद्द गरी गोला प्रथाद्वारा अरूलाई दिइने जनाइएको छ।

नीलो सूची

नीलो सूचीमा पर्ने व्यापारीहरूको संख्या १३१ रहेको छ। यी व्यापारीलाई खतराको सूचीमा राखिएको छ।

कारोबारमा कहिलेकाहीँ संलग्न भए पनि स्वयंले निरन्तर कारोबार नगरी अन्यबाट कारोबार गराउने, आफन्तबाट कारोबार संचालन गराउने र विदेशमा रहेका परिवारका सदस्य, आफन्तको नाममा कारोबार गराएका व्यापारीहरू नीलो सूचीमा परेका हुन्।

यस्ता व्यापारीलाई नियमअनुसार बसेको र व्यवसाय गरेको प्रमाण माग्ने र सात दिनभित्र स्पष्टीकरण माग्ने निर्णय गरिएको छ।

पहेँलो सूची

पहेँलो सूचीमा पर्ने व्यापारीहरू २०९ जना रहेका छन्। उनीहरू फाट्टफुट्ट रूपमा नियम उल्लंघन गर्ने र आफूसँगै अन्य मान्छेलाई पनि काममा राखेको कारण पहेँलो सूचीमा राखिएको हो। यी व्यापारीलाई आगामी दिनमा गल्ती नगर्ने गरी सचेत गराउने निर्णय गरिएको छ।

सेतो सूची

सेतो सूचीमा पर्नेहरूमा १५९ जना व्यापारी रहेका छन्। उनीहरूलाई खतरामुक्त भनिएको छ। यी व्यापारी पूर्ण रूपमा बजार विकास तथा संचालन नियमावली, २०६० र सम्झौताअनुसार कार्य गरेको कारण सेतो सूचीमा परेका हुन्। यस्ता व्यापारीलाई भने थप प्रोत्साहन गर्ने निर्णय गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.