|

गुल्मी : बिहान १० बजेदखि नै गुल्मेली जनता हातमा फूलमाला लिएर बसेका। एकातिर पञ्चेबाजासहितको टोली, अर्काेतर्फ विभिन्न विद्यालयका शिक्षक र स्कुले पोसाकसहितका विद्यार्थी। कलश लिएर बसेका कन्याहरू। यो दृष्य हो- गुल्मी रेसुंगाको।

रेसुंगामा शुक्रबार पहिलो पटक विमान उडान परीक्षण गरिँदै छ भन्ने सुनेर स्थानीय विमान अवतरण हेर्न रेसुंगा विमानस्थलमा जम्मा भएका हुन्। 

बिहानैदेखि कतिबेला मौसममा सुधार आउँछ र विमान आउँछ भन्दै प्रतीक्षामा रहेका गुल्मेलीहरू दिउँसो ३ बजेसम्म पनि मौसममा समस्या आएपछि केही निराश देखिए। विमान आउँदैन भन्दै गन्तव्यतर्फ जान लाग्दा एउटा सूचना आयो- ‘चार बजेतिर तारा एयरको विमान आउँदै छ रे!’ गन्तव्यतर्फ जान लागेका गुल्मेलीहरूका पाइला एकाएक रोकिए। हर्षको सीमा रहेन।

नभन्दै सवा ४ बजे तारा एयरको ९ एनएकेएल कल साइन भएको विमान आकाशमा देखियो। विमानस्थलको वरपर घुम्दै गर्दा पहिलो चरणमा अवतरण हुन सकेन तर दोस्रो चरणमा अवतरण गर्न सफल भयो। 

विमान रेसुंगा विमानस्थलमा अवतरण भएपश्चात् विमानका पाइलटलगायतको टोलीलाई विमानस्थल निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्त, रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसँगै गुल्मेली जनाताले फूलमाला, अबीर र पञ्चेबाजासहित भव्य स्वागत गरे।

 

यस विमानस्थलको २०६३ असार २५ गते तत्कालीन  नागरिक उड्डयन तथा संस्कृतिमन्त्री प्रदीपकुमार ज्ञवालीले शिलान्यास गरेका थिए। त्यसपछि कहिले आर्थिक समस्या त कहिले जग्गाको विषयमा समस्या देखियो। विगतमा देखिएका अनेकन बाधालाई समाधान गर्दै विमानस्थल निर्माण गर्न सफल भएको विमानस्थल निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्तले भनिरहँदा उपस्थित सर्वसाधारणको हर्षको सीमा थिएन। साविकका विभिन्न गाउँ विकास समिति, जिल्ला विकास समितिसँग सहयोग माग्दै र सिमीचौरबासीहरूको निरन्तर प्रयासमा शुक्रबार रेसुंगामा विमान आइपुग्न सफल भएको भन्दै उनले स्थानीयलाई हौसाए।

विमान आउने भन्ने निश्चित भएपश्चात् जिल्लाको मदाने गाउँपालिका, मालिका गाउँपालिका, धुर्कोट गाउँपालिका, इस्मा गाउँपालिकालगायतका जनप्रतिनिधि र राजनीतिक दल सर्वसाधरणहरूको विमानस्थलमा घुइँचो लागेको थियो।

 

विभिन्न समयमा दिएका वाचाहरू पूरा

मन्त्री ज्ञवालीले शिलान्यास गरेपश्चात् विभिन्न समयमा र विशेषगरी निर्वाचनको समयमा विमानस्थलको बारेमा चर्चा र परिचर्चा हुँदै आएको थियो। २०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा समेत मन्त्री ज्ञवालीले विमानस्थल छ महिनाभित्रै संचालन गर्ने बताएका थिए। उनले अब आउँदा जहाजमा चढेर आउने भन्दै जनतालाई दिएको वाचा पूरा गरेका छन्।

दशकौँदेखि गुल्मेली जनाताको जहाज चढ्ने सपना अब साकार भएको रेसुंगा विमानस्थल परीक्षण उडानका प्रमुख अतिथि एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन्। ‘गुल्मेली जनताको जहाज चढ्ने सपना अब पूरा भएको छ’, उनले भने, ‘यसलाई निरन्तर रूपमा संचालन र विमानस्थलको स्तरवृद्धिका लागि नेपाल सरकारको तर्फबाट भरपूर सहयोग गर्नेछु।’ 

मन्त्री ज्ञवालीले गुल्मेली जनता र विमानस्थल निर्माणमा खटिने समितिलगायत नागरिक उड्डयन प्राधिकरणलाई समेत धन्यवाद दिए। जहाज चढ्ने गुल्मेली जनाताको चाहना पूरा भएपश्चात् रेसुंगादेखि तम्घाससम्म केवलकार संचालनका लागि संभाव्यता अध्ययन भइरहेको जानकारी दिँदै गुल्मीलाई कृषि र पर्यटनको माध्यमबाट विश्वमा चिनाउनका लागि आफू लागिपरेको मन्त्री ज्ञवालीले दाबी गरे। 

केही दिनपश्चात् निरन्तर उडान

विमानस्थल निर्माण तथा उपभोक्ता समितिका अध्यक्ष पन्तले केही दिनपश्चात् निरन्तर उडान गर्ने तयारी भएको बताएका छन्। ‘शुक्रबार परीक्षण उडान गरेका छौँ’, उनले भने, ‘अबको केही दिनपश्चात् निरन्तर रूपमा उडान गर्ने गरी तयारी गरेका छौँ।’ उनले गुल्मेली जनतालाई निरन्तर रूपमा विमान संचालन हुनेमा ढुक्क हुन आग्रहसमेत गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.