|

उदयपुरः जो सुनसरीको धार्मिक क्षेत्र दर्शनको लागि पुग्छ, उसलाई जेट बोट अर्थात पानी जहाज नचढिकन फर्कनै मन लाग्दैन। उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहा नगरपालिकाको बीचमा रहेको सप्तकोशी पुलबाट भोजपुरको हलेदे र धनकुटाको सिम्लेसम्मको जेट बोट जल यातायात संचालन छ।

त्यही जल यातयात सप्तकोशीमा लोकप्रिय बनेको छ। बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालिले सुनसरीको बराहक्षेत्र १ मा रहेको चतराघाटबाट भोजपुर, उदयपुर र धनकुटाको सङगम सिम्लेसम्म जेट बोट सञ्चालनमा ल्याएपछि सर्वसाधरणलाई राहात भएको छ। चतराघाटबाट १५ किलोमिटर हाराहारीको धनकुटाको सिम्ले पुग्न अहिले १५ मिनेटमै पुग्न थालिएको छ। सिम्लेबाट भोजपुरको घोडेटार क्षेत्र एक घण्टामा पुगिने भएको छ।

सडक यात्रा गर्दा भने घोडेटारबाट साढे दुई घण्टामा पुगिन्छ। तर, जेट बोटले सडकबाट भन्दा पनि छिटो पुर्‍याउँछ। भोजपुर मात्रै हैन धनकुटाको सिम्ले क्षेत्रका स्थानीयहरू पनि अब दुई घण्टामै धरान तथा साढे दुई घण्टामा इटहरी आउन सक्ने भएका छन्।

कम्पनीका प्रबन्ध निर्देशक विमलमान श्रेष्ठका अनुसार यो परियोजना पर्यटन र पारवाहन दुवै कोणमा सञ्चालन गरिए पनि यातयात क्षेत्रको लािग ठुलो सेवा दिएको बताए। बराहक्षेत्र जल यातायात तथा पर्यटन प्राली अगाडि सुम्निमा जल यातायात प्रालीले पनि सप्तकोशीमा जेट बोट चलाएको थियो । तर, एक दुर्घटनामा एक जना बेपत्ता भएपछि भने त्यो सेवा बन्द भएको थियो।

बराहक्षेत्र जल यातायातले यात्रुलाई लाइफ ज्याकेट र अनिवार्य बिमा गरेको र बोटको पनि बिमा गरेकाले दुर्घटनाको संकट नभएको बातइएको छ। भोजपुर, धनकुटा र उदयपुरकै माथिल्लो भेगका बासिन्दाहरूलाई मधेस र पहाड आवत जावतमा बरदान झै सावित भएको छ। पर्यटकहरूलाई सप्तकोशीको मनमोहक र रमणीय दृष्यहरू अवलोकन गर्दै यात्रा गर्न सहज भएको छ। 

चतरापुलबाट चलेको जेटबोटले बराहा मन्दिरभन्दा केही माथिबाट छुट्टीने सुनकोशी, दूधकोशी, तामाकोशी र भोटेकेशी मिसिएको पानीको वहाव प्रयोग गर्दै भोजपुरको हलेदे पुर्‍याउँछ। अरुण, बरुण र तमोरनदी मिसिएको वहाव प्रयोग गर्दै धनकुटाको सिम्ले लैजान्छ।

जल यातायात व्यवसायी पर्शुराम राईका अनुसार सुनकोशीतर्फको केही अवरोध हटाउन सके दोलालघाटसम्मको जलयात्रा तय गर्न सकिने बताउँछन। अरुण नदीतर्फको अवरोधलाई हटाउन सके तुम्लिङटारसम्मको जलयात्रा तय गर्न सकिने उनको दावी छ। राईका अनुसार सुनकोशीतर्फमा उदयपुरको बेलका बेलका ७ र भोजपुरको हतुवागडी ९ को बीचमा पर्ने लामपाते घागीमा अवरोध रहेको छ। 

त्यसको केही माथि बेलका ७ र भोजपुरको आमचौकबीचमा पनि अवरोध छ। ‘प्राकृतिकरुपकै चट्टानका कारण अवरोध देखिएको उक्त ठाउँहरूमा पानीको वहाव राम्ररी हुने गरी गहिराई बनाउन सकेमा जेट बोट चलाउन सकिन्छ,’ वेलका नगरपालिकाका प्रमुख दुर्गा थापाले भने, ‘जसले खोटाङ र सिन्धुली मात्र नभई दोलालघाटसम्मकै यात्रा करिब डेढ घण्टामा पूरा गर्न सकिने मेरो अनुभव छ।’ 

जलयात्रासँग प्रत्यक्ष जोडिएका उदयपुरको बेलका नगरपालिका, सुनसरीको बराहा गाउँपालिका, भोजपुरको हतुवागडी र धनकुटाको खाल्सा छिन्ताङ सहिद गाउँपालिकाले सेवा लिएका छन्। जेट बोट एक पटकमा ३० जनालाई मात्र यात्रा गराउँदै आएको छ। दुईवटा जेट बोट सेवा दिँदै आएका छन्। एक पटक यात्रा गरेको ८०० रुपैयाँ भाडा छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.