|

बुटवल : इँटा उद्योगी एवं तत्कालीन युवा संघ नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष दुर्गा तिवारी र काष्ठ व्यवसायी वसन्त पौडेलको हत्यामा संलग्न अभियुक्तहरूलाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। बिहीबार र शुक्रबार दुई दिनसम्म चलेको वादी/प्रतिवादीतर्फको बहसपछि जिल्ला न्यायाधीश भोलानाथ ढकालको इजलासले आठजना अभियुक्तहरूलाई थुनामा राख्न आदेश दिएको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार संजीव पोखरेलले बताए।  

अभियुक्तहरूलाई मुलुकी ऐन अदालती बन्दोबस्त ११८ को २ र संगठित अपराध ऐन २०७० को दफा ४१ ब्मोजिम पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको श्रेष्तेदार पोखरेलले बताए। तिवारी र पौडेलको हत्यामा संलग्न भएको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले बुटवलका हरिप्रसाद श्रेष्ठ, युवा संघका तत्कालीन केन्द्रीय सदस्य सुजु मल्ल, नेता उत्तम आचार्य, रोशन खड्का, देवदहका लेखनाथ न्यौपाने, तुल्सीराम न्यौपाने, सुभाष गुरुङ र राम गुरुङविरुद्ध सोमबार अदालतमा जिल्ला सरकारी वकिल कार्यालयले संगठित रुपमा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको थियो। 

अदालतको आदेशपछि अभियुक्तहरूलाई जिल्ला कारागार भैरहवा चलान गरिएको छ। उनीहरू अब अन्तिम फैसला नहुँदासम्म थुनामा बस्नुपर्ने छ। अदालतमा वादीको तर्फबाट जिल्ला न्यायाधीवक्ता र सहन्यायाधीवक्ताले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट २ दर्जन कानुन व्यवसायीले बहस गरेका थिए। देवदह निवासी तिवारीको २०७३ पुस ३ गते र पौडेलको ०७४ पुस २१ गते देवदहमा गोली हानी हत्या गरिएको थियो।  

हत्याका मुख्य योजनाकार देवदहका मनोज पुन र भैरहवाका सोम आलेको भने यसअघि प्रहरी इन्काउन्टरमा मृत्यु भइसकेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.