|

चीनको तीन साता लामो बसाइमा एक दिन भाइ चेतनाथसित बेइजिङस्थित टेम्पल अफ हेवन हेर्न गएकी थिएँ। टिकट काटेर मूल गेटबाट भित्र पसिसकेपछि सिधै टेम्पल अफ हेवनमै त पुगिएला भन्ने मेरो सोच थियो। तर भित्र त धेरै मन्दिरहरू र पार्कलाई पार गरिसकेपछि मात्र हामी पुग्ने रहेछौँ– टेम्पल अफ हेवन। विश्व सम्पदा सूचीमा सूचीकृत यो पर्यटकीय स्थानका प्रत्येक कुरालाई नियाल्दै म अगाडि बढिरहेकी थिएँ। 

हामी मूल मन्दिरमा पुगेकै थिएनौँ, लामो बरन्डा जस्तो बाटोमा धेरै बूढाबूढीले बसेर तास खेलिरहेका देखेँ। यस्तो सार्वजनिक स्थानमा कुर्सी र बेञ्चमा बसेर तास खेलिरहेको देख्दा अचम्म लाग्यो। म उनीहरूको नजिकै पुगेर हेर्न थालेँ। पैसाकै बाजी राखेर त्यहाँ दुई जोकरसहित राखेर ५४ पत्ती तास खेलिरहेका थिए। खेल्ने सयभन्दा बढी थिए होला। खेल्नेहरूको अनुहार हेर्दा लाग्थ्यो, यिनीहरूले ७० को उमेर टेकिसकेका छन्। मेरो कौतूहल बढेर गयो तर भाषाको समस्याले गर्दा सोध्न सकिनँ। 

चेतनाथ अलिअलि बोल्ने चिनियाँ भाषा। त्यो खेलको नाम तौतिच्यु रहेछ। उनीहरूलाई त्यहाँ तास खेल्न छुट रहेछ। तर मनोरञ्जनका लागि खेल्न छुट दिन सकिए पनि पैसा राखेर नै सार्वजनिक ठाउँमा तास खेल्न कसरी छुट दियो होला त सरकारले पनि? चेतनाथले सोधेको पनि हो तर उनीहरूको जवाफ बुझ्न सकिएन। 

हाम्रो देशलगायत धेरै देशहरूमा जुवाका लागि क्यासिनो चलाइएको छ। तर चीनभरि कतै क्यासिनो छैन भन्ने मलाई थाहा थियो। मकाउमा क्यासिनो छ तर एक चीन दुई व्यवस्थाअन्तर्गत मकाउमा कम्युनिस्ट शासन पनि छैन। क्यासिनो नपाए पनि चिनियाँ वृद्धका लागि सार्वजनिक स्थान नै क्यासिनो भइरहेको मनमनै सोच्दै म अगाडि बढेँ। 

तासको साथसाथै हामी घुमेका धेरै पर्यटकीय स्थानहरूमा डाइस जस्तै खेल पनि पैसामा खेलेको देखियो बूढाबूढीले। परम्परागत विभिन्न चिनियाँ अंक र आकृति भएका गट्टीहरू यो खेलमा खेलेको देखियो। यो खेलको पनि नाम मात्र थाहा पाउन सकियो– माच्याङ। पैसाको बाजी राखेर कुनै पनि खेल खेलिन्छ भने त्यो जुवा हुन्छ भन्ने मान्यताबाट बाहिरिन नै नसकेकी म अचम्ममा परेँ, चिनियाँ बूढाबूढीको ताल देखेर। 

मेरो कौतूहल निर्मूल पार्न म पुगेँ, चाइना रेडियोको नेपाली सेवा विभागभित्र। त्यहाँ कार्यरत सिआरआईका उपप्रमुख सुमेघा, त्यहाँ कार्यरत लालीमा र राजु (नेपाली नाम चिनियाँ नागरिक)बाट मैले धेरै कुरा जान्ने मौका पाएँ। 

जनसंख्या वृद्धि दरलाई नियन्त्रण गर्नका लागि चीनले सन् १९७८ मा एक सन्तान नीति ल्याएको रहेछ। सन्तानमा एउटा छ, त्यसमा पनि उसले चाहेमा बाबुआमासँग बस्ला तर आफ्नो काम, पेसाले गर्दा गाउँबाट शहर, शहरबाट विदेशसम्म युवा पुस्ता दौडिन्छन् नै। चीनको समाज पनि यसबाट अछुतो रहन सकेन। सन्तान टाढा भएपछि बूढाबूढी मात्र घरमा हुने नै भए। चीनमा कुनै पनि कार्यालयमा काम गर्ने श्रमिक महिला छन् भने ५२ वर्ष र पुरुष छन् भने ५८ वर्षमा अवकास हुन्छन्। तर बौद्धिक श्रम गर्ने, जस्तो : शिक्षक, पत्रकार र विभिन्न अफिसमा काम गर्ने कर्मचारीहरू भने महिला वा पुरुष सबै ५८ वर्षमै अवकास हुने । अवकास नहुन्जेल त जीवन गाडीको पांग्रा घुमेजस्तै घुमी नै रह्यो तर जब अवकास हुन्छन्, एउटा भएको सन्तान पनि पर पुगिसकेको हुने अनि काम नभएर उनीहरू कि कुकुर पाल्ने कि जुवातिर जाने गर्दा रहेछन्। सन्तानले बोलाए तापनि भाषाकै समस्याले गर्दा उनीहरू आफ्नो बासस्थानबाट बाहिरिन चाहँदैनन्। 

आजको परिस्थितिमा चिनियाँ जनसंख्याको वृद्धि दर घट्दै गइरहेको भए तापनि वृद्धहरूको वृद्धि दर भने बढ्दै गएको छ। काम गर्ने युवाहरूको वृद्धि दर घटदै गएको छ। यो चिनियाँ सरकारका लागि टाउको दुखाइ भएको छ। तर पनि सरकारको तर्फबाट बूढाबूढीका लागि सुविधा दिनमा कुनै कन्जुस्याइँ भने गरेको देखिँदैन।

सन्तान छोराछोरी जे भए पनि पढ्ने र काम गर्ने भन्दै उनीहरू गाउँबाट शहर पस्छन्। काम गर्दै जाँदा विवाह बन्धनमा बाँधिँदा शहरमा घरबार भएको जोडी खोज्ने धेरै हुने नै भए। घर त्यहीँ, काम त्यहीँ भएपछि स्वतः नै त्यो सन्तान बाबुआमाबाट टाढा त हुने भइहाल्यो। उसले चाहेर पनि बाबुआमालाई भेटिरहन सक्दैन। यता, बूढाबूढीको ५८ वर्षसम्म व्यस्त रहेको दैनिकी एक्कासि शून्यतामा पुग्छ। एक सन्तान नीतिको परिणाम अहिलेको समयका चिनियाँ बूढाबूढीले भोगिरहेका जस्तो देखिन्छ। 

एउटा बच्चाले आफ्ना आमाबाबु, आमापट्टिका हजुरबुबा, हजुरआमा र बुबापट्टिका हजुरबुबा, हजुरआमाको गरेर छ जनाको माया पाएको हुन्छ। तर उसले माया गर्नुपर्ने मानिस उसको साथी भनौँ, भाइबहिनी नहुँदा उसको स्वभावमा सानैदेखि एकलकाँटे स्वभाव देखिन्छ। उसले माया लिन मात्र सिक्छ, दिन जान्दैन। 

सरकारले जनसंख्या वृद्धिदर न्यून गर्न चालेको कदमको परिणाम सन्तोषजनक हुन नसकेपछि सन् २०१३ मा एउटा नीति नै ल्यायो। ‘वृद्ध बाबुआमाको ख्याल गर’ भन्ने नीतिअनुसार विवाहितलाई वार्षिक दिइने बिदा १५ दिन तोक्यो भने अविवाहितलाई १८ दिन। छोराछोरीले आमाबाबुसँग समय बिताउन भनेर नै यो नियम बनाएको थियो सरकारले। सन्तानले बूढाबूढी भएका आमाबाबुलाई हप्तैपिच्छे भेट भन्छ सरकार। तर कामकाजी सन्तानलाई यो सम्भव नै हुँदैन। सरकारले नै लामो बिदा आमाबाबुसँग बसेर बिताऊ भनेर मिडियामार्फत् विज्ञापन नै गरेको सुन्दा अचम्म लाग्यो। एउटा मात्र सन्तान भएकाले त कहिलेकाहीँ भए पनि सन्तानको अनुहार देख्लान् तर अनमेल विवाहका कारणले दैनिक १० हजारबाट पनि बढदै गएको सम्बन्धबिच्छेदको तथ्यांकले पनि एक सन्तान पनि नभई बूढाबूढी हुन पुगेका छन् धेरै चिनियाँहरू। 

एक सन्तान नीति सफल नभएपछि सन् २०१६ देखि दुई सन्तान नीति लागू गराएको छ। सन्तान नीतिमा कडा चीनमा तेस्रो सन्तान जन्माएवापत एक जना चलचित्रकर्मी चाङ यमिौ र उनकी श्रीमतीलाई सात करोड ५० लाख चिनियाँ युआन जरिवाना तिराएको थियो। सरकारले तिराएका यस्ता जरिवानाले गर्दा चिनियाँ नागरिक सरकारी नीतिविपरीत जानै सक्दैनन्। तर अहिलेका बूढाबूढी एक सन्तान नीतिका पीडित छन् भन्दा अत्युक्ति नहोला।

चिनियाँ परम्पराअनुसार बाबुआमा आफूले रोजेका केटी वा केटा विवाह गरिदेओस् सन्तानले भन्ने चाहन्छन्। परम्पराअनुसार ब्ल्याण्ड डेमा गएर जीवनसाथी रोजोस् भन्ने चाहन्छन् बुढाबुढी तर सन्तानको मोह प्रेम विवाहमा बढ्दै गएको छ। चियाको लागि विश्व प्रख्यात चीनमा विवाह गरेर आएपछि नवबधुले चिया पकाएर केटाका बाबुआमालाई दिँदै ‘आजबाट म तपाईंहरूलाई आमाबाबु भन्छु ल’ भनेर अनुमति माग्नुपर्ने हुन्छ। धेरै बूढाबूढी यो अनुमति दिन नपाएकाले पनि आफ्ना सन्तानबाट टाढा हुन पुगेका छन्। 

चीनमा सन्तान जन्मिएपछि सुत्केरी बिदा छ महिनाभन्दा बढी पाइनेरहेछ। कामकाजी चिनियाँहरूका लागि यो बिदा सकिनासाथ आफिस जानुपर्ने हुनाले प्रायः साना नानीहरू हजुरबुबा हजुरआमाको काखमा हुर्किन्छन्। छोराछोरीसित नजिक भएका बाबुआमाका लागि त यो समय काट्नका लागि सौभाग्य नै होला तर छोराछोरी नभएका र छोराछोरीबाट टाढा भएका बाबुआमाको दैनिकी बिहान बेलुका पार्कमा गएर बिताएको पनि देखियो। पार्कमा आफू जस्तै उमेरका बूढाबूढी भेट्ने, गफ गर्ने र समूहमा नाच्ने पनि हुँदोरहेछ। नाच्नु स्वास्थ्यका लागि राम्रो हो तर ती वृद्धवृद्धाहरूको नाच शारीरिक व्यायामका लागि कम र मनोरंजनका लागि बढी देखिन्थ्यो। 

गर्मीमा पार्कमा आएर नाच्छौ, समय कटाउन जाडोमा के गर्छौ? भन्ने प्रश्नमा एक जना वृद्धले हाँस्दै भने, ‘यहाँ नाचिरहेका हामी सबैको घरमा एउटा कुकुर छ सन्तानको रूपमा। त्यसैसित समय काट्छौँ।’ तिनै वृद्धका अनुसार बेइजिङ शहरमा मात्र सरकारमा दर्ता गरिएका कुकुर १२ लाख बढी छन् रे! पैसा छ तर खर्च गर्ने बाटो नभएका चिनियाँ बूढाबूढीले एउटा कुकुरको मूल्य करोडौँ पनि तिरेका छन्। 

आजको परिस्थितिमा चिनियाँ जनसंख्याको वृद्धि दर घट्दै गइरहेको भए तापनि वृद्धहरूको वृद्धि दर भने बढ्दै गएको छ। काम गर्ने युवाहरूको वृद्धि दर घटदै गएको छ। यो चिनियाँ सरकारका लागि टाउको दुखाइ भएको छ। तर पनि सरकारको तर्फबाट बूढाबूढीका लागि सुविधा दिनमा कुनै कन्जुस्याइँ भने गरेको देखिँदैन। सार्वजनिक यातायातमा, कुनै पनि पार्क प्रवेशमा र बिरामी उपचारमा निःशुल्क व्यवस्था गरिदिएको रहेछ। चीनमा वृद्धको औसत आयु ७५.४३ रहेछ, जसमा पुरुषको आयु ७३.९७ र महिलाको ७७.०२। अहिले चीनमा टहलिँदा जताततै यो उमेरका मानिससित ठोकिन पुग्नु नौलो कुरा होइन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.