|

कास्की : प्रदेश ४ को आर्थिक वर्ष २०७५-७६ को वर्षिक नीति तथा कार्यक्रममा पर्यटन पूर्वाधारलाई अर्थतन्त्रको प्रमुख आधारका रूपमा लिइएको छ।

प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेश प्रमुख बाबुराम कुँवरले पर्यटन क्षेत्रको एकीकृत विकास गर्न स्पष्ट कार्ययोजनासहितको पर्यटन विकास गुरुयोजना तयार गरिने बताए। जैविक र साँस्कृतिक विविधता एवं प्राकृतिक सौन्दर्यले भरिपूर्ण सो प्रदेशमा रहेका पर्यटकीय गन्तव्यको पहिचान, विकास र सम्वद्र्धन गर्दै पर्यटन उद्योगको प्रवद्र्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

सरकारले पर्वतारोहण, पदयात्रा, हिमशृङ्खलाको अवलोकन, कृषि पर्यटनजस्ता कार्यक्रमलाई जोड दिने उल्लेख गर्दै पर्यटकीय आकर्षणका लागि विभिन्न साहसिक पर्यटकीय खेलको आयोजना गर्ने जनाएको छ।

अन्तर प्रदेशसँगको सहकार्यमा पोखरा–काठमाडौं–लुम्बिनीलाई बुद्ध स्वर्णिम त्रिकोणका रूपमा विकास गरिने, धार्मिक– सांस्कृतिक– ऐतिहासिक – पुरातात्विक महत्वका स्थलको संरक्षण र पूर्वाधारको विकास गरिने तथा पर्यटकीय पूर्वाधारको विकास निर्माण गर्दा वातावरणीय संरक्षण गर्ने नीति लिइने जनाइएको छ।

ताल संरक्ष्ण विकास प्राधिकरण

सरकारको नीति तथा कार्यक्रममा संघ र स्थानीय तहसँगको सहकार्यमा प्रदेशका महत्वपूर्ण ताल, पोखरी र कुण्डको संरक्षण, विकास र सौन्दर्यीकरणका लागि ताल संरक्षण विकास प्राधिकरण गठन गरिने उल्लेख छ।

पर्यटन सेवा सूचना केन्द्र

प्रदेश सरकारको नीति तथा कार्यक्रममा पर्यटकका लागि आवश्यक पर्ने सेवा र सूचनाको प्रवाह गर्न पर्यटन सेवा सूचना केन्द्र स्थापना गर्दै लगिने उल्लेख छ। पर्यटन व्यवसायको बजारीकरण गर्न आधुनिक सूचना प्रविधिको उपयोग गरिने उल्लेख गर्दै नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रदेशको पर्यटकीय छवि स्थापित गर्न पर्यटकीय सम्पदा र स्थलको ब्रान्डिङ गर्दै लगिने बताइएको छ।

सरकारले पर्यटकको प्रवेशदेखि बहिर्गमनसम्मको एकीकृत कार्यक्रम तयार गर्न प्रोत्साहन गर्ने भनेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु क्षेत्र, ढोरपाटन शिकार आरक्ष, विभिन्न ग्रामीण पर्यटन केन्द्र, घरबास र पदयात्रा मार्गलाई संरक्षण, संम्वद्र्धन, सौन्दर्यीकरण र विकास गर्दै पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिने, मुस्ताङ, मनाङ र गोरखाको चुमनुब्रिलाई अन्तर्राष्ट्रियस्तरको चलचित्र छायाङ्कन केन्द्रका रूपमा विकास गरिने सरकारको योजना छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.