|

बैतडी : सुर्नया गाउँपालिका–२ स्थित पातालभूमेश्वर धाममा रहेको पातालभूमेश्वर तालको संरक्षण नहुँदा पानी सुक्दै गएको छ। पातालभूमेश्वर परिसरमा रहेको प्राकृतिक तालमा पहिलाको तुलनामा पानी कम हुँदै गएको स्थानीय मोहनबहादुर बिष्टले बताए। तालमा पहिला धेरै पानी हुने गरेको भए पनि पछिल्लो समयमा कम हुँदै गएको संस्कृतिका जानकार स्थानीय धर्मानन्द भट्ट बताउँछन्। उनले भने, ‘धाम परिसरमा रहेको ताल संरक्षणको अभावमा सुक्दै गएको छ।’

पातालभुमेश्वर क्षेत्रमा तालसँगै एसियाकै गहिरो गुफा र महादेव मन्दिर छ। यस तालमा स्नान गरेमा गंगामा स्नान गरे समान पूण्य प्राप्ति हुने जनविश्वास छ। घना जंगलले घेरिएको उक्त क्षेत्रमा करिब ३०० वर्षअघिदेखि पतालभूमेश्वरमा देवीदेवता पूजाअर्चना गरिँदै आइएको स्थानीय बुढापाकाहरूको भनाइ छ।

परापूर्वकालमा स्थानीय विष्ट परिवारको गाई चरनमा जाँदा एउटा गाईले दिनहुँ ठाउँमा दूध चढाउने गरेको र उक्त ठाउँमा हेर्दा शिवलिङ्ग भेटिएकाले त्यहाँ महादेवको मन्दिर बनाइएको भनाइ छ।

हिन्दू धर्मावलम्बीहरूका आराध्यदेव शिव भगवान आफ्नी आर्धाङ्गनी पार्वतीको निधनपछि संसारका विभिन्न ठाउँ घुम्दा पाताल भूमेश्वरमा पनि पाइला टेकेको जनश्रुति रहेको पतालभूमेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र विष्टले बताए।  उनले भने, ‘महादेवले सतीदेवीको शव बोकेर हिँड्दा यस क्षेत्रमा सतीदेवीको पाइताला पतन भएको किम्बदन्ती छ।’

मन्दिर र तालको चारैतर्फ गुफा छन्। ती गुफालाई देवद्वार, धर्मद्वार, मोक्षद्वार र पापद्वार गरी नामकरण गरिएको छ। घुम्दै आएका शिव थाकेपछि यस क्षेत्रमा विश्राम गर्दा त्रिशुल गाडेको ठाउँमा गुफा भएको किंवदन्ती छ। शिवले लामो समय यस क्षेत्रमा विश्राम लिएकाले यहाँ दर्शन गर्न आउने भक्तजनहरुको मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ। यस मन्दिरमा विवाह पनि गरिन्छ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण पतालभूमेश्वर चारैतिर डाँडाकाँडा, मनमोहक दृश्य रहेका छन्। हरेक पर्वहरूमा पूजाअर्चना गरिने पतालभूमेश्वर मन्दिरमा शिवरात्रि र रामनवमीमा मेला लाग्ने गर्दछ। पातालभुमेश्वरको दर्शन गरेका मनोकामना पुर्ण हुने जनविश्वास रहेको छ। 

प्राकृतिक रूपमा सुन्दर र पौराणिक महत्त्व बोकेको यस क्षेत्रको प्रचारप्रसार तथा संरक्षण हुन सकेको छैन। प्रदेश ७ की उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले प्रदेशमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको विकासका लागि प्रदेश सरकार लागिपरेको बताइन्। उनले भनिन्, ‘पर्यटनको क्षेत्रको विकास गरेर नै प्रदेश ७ लाई समृद्धि बनाइनेछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.